साउन १ गतेको ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा छापिएको गुरु पूर्णिमाका अवसरमा धरानको युरेका बोर्डिङ स्कुलले कविता प्रतियोगिता आयोजना गरेको खबर पढ्न पाइयो । यो खबरले एकदमै खुसी लाग्यो ।
त्यसैबेला मैले अन्य कतिपय बोर्डिङ स्कुलहरूले केक काटेर गुरु पूर्णिमा मनाएको खबर पनि पढेँ । यो खबर चाहिँ हाँस उठ्दो र नरमाइलो लाग्यो । त्यसैले केही लेख्न मन लाग्यो ।
पहिला पहिला त जन्मदिनमा एउटा केक काटिन्थ्यो । स्कुलका साथीहरूसँग, क्याम्पसका साथीहरूसँग केक काटेर जन्मदिन मनाउने त चलन बढ्दै गयो । अहिले फेसबुकका साथीहरूलाई समेत जन्मदिनमा होमडेलिभरी गरेर पनि केक पठाउने चलन आएको छ । अझ कसैलाई जन्मदिनमा भेटघाटका लागि बोलाउँदा पनि केक नै उपहार लिएर आउने चलन बढ्दो छ । हुँदाहुँदा गुरु पूर्णिमासमेत केक काटेर मनाउन थालिएको देख्दा त छक्क, वाक्क, दिक्क लाग्छ ।
यस्तो आयातित संस्कृतिले हाम्रा नानीबाबुलाई के सिकाइरहेका छन् ? भन्ने बारे कसैले मतलव गरेजस्तो लाग्दैन । यस्तो चलनले हाम्रा संस्कृतिहरू विकृतिमा परिणत भइरहेका छन् । यस बारेमा हामी अभिभावकहरू सचेत हुन जरुरी छ ।
केक काटेर कुनै उत्सव मनाउने चलन, हामी नेपालीको मौलिक चलन होइन । यो त सिधै विदेशी संस्कृति हो । विदेशी संस्कृतिका नचाहिने बानी सिक्ने तथा विदेशीहरूको जस्तो पढ्न लेख्न, मेहनत गर्न भने नसिक्ने चलन बढ्दो छ । विदेशमा आफ्ना नानीबाबुलाई सानैदेखि सरसफाइ गर्ने, लुगाधुने, भाँडा माझ्ने अर्थात् आफ्नो काम आफै गर्नुपर्छ भन्ने सिकाइन्छ । तर, हामी त्यस्ता काम लाग्ने कुरालाई बेवास्ता गरेर खर्चालु र हाम्रो संस्कृति विपरीतका कुरा भने हतारमा सिकाउँछौं । यसले पक्कै पनि हामीलाई राम्रो गर्दैन ।
हामीले विदेशीबाट सिक्नु पर्ने कुरा त उनीहरूबाट राम्रा ज्ञान लिनु, फाइदाजनक कुरा सिक्नु आवश्यक छ । यस्तो कुरा अभिभावकले पहिला बुझ्न जरुरी छ ।
तर, जन्मदिनमा मात्र होइन, हामी बिहेको वर्षगाँठमा होस् वा दही चिउरा खुवाउने बेला होस् अथवा कसैको पसल शुभारम्भ आदि इत्यादि गर्दा होस् । जेसुकैमा पनि केक नकाटी नहुनेजस्तो भएको छ । हामी अभिभावक आफै त्यतातिर आकर्षित भएपछि हाम्रा छोराछोरी पनि हुने नै भए ।
म चाहिँ मेरा छोराछोरीलाई सुरुमै भन्छु, ‘अरू जे सुकै गर, तिमीहरूको खुसी तर, केक ल्यायौ भने म काट्नेवाला छैन । मेरो जन्मदिनमा केक चैं नल्याउनू है ।’ किनभने मलाई केक काटेको पटक्कै मन पर्दैन । मैनबत्ती बालेर फु गरेर निभाउन लगाइन्छ, त्यो झनै मन पर्दैन । बत्ती भनेको बलिरहेको पो राम्रो त, बत्ती बाल्यो अनि निभायो के चलन हो यो ? हुन त खुसी मनाउने आ–आफ्नो चलन होला तर, हाम्रो चलन यस्तो होइन । हामीले जे गर्छौं, आफ्ना सन्तानलाई पनि त्यही सिकाइरहेका हुन्छौं ।
साना नानीबाबुलाई घरमा जस्तै स्कुलहरूमा पनि आफ्ना संस्कृति सिकाउनु आवश्यक छ । त्यसैले पनि गुरु पूर्णिमामा केक काट्ने स्कुलहरूभन्दा कविता प्रतियोगिता गर्ने युरेका स्कुलको कार्य मन परेको छ मलाई । यस्तै सिर्जनशील कार्यक्रमहरूमार्फत् विद्यार्थीलाई आफ्ना संस्कार र संस्कृति सिकाउन सकिन्छ ।
कविता प्रतियोगिताजस्ता कार्यक्रमले विद्यार्थीहरूमा लेख्ने जोस, जाँगर बढ्छ । पढ्ने, लेख्ने बानी बस्छ । यसरी नै उनीहरूले सिक्दै जाने हो । यसले गर्दा उनीहरूको मनोबल बढ्छ, इच्छाशक्ति बढ्छ । यो उनीहरूको लागि राम्रो हो । त्यसदिन युरेका स्कुलमा नाटक पनि प्रदर्शन भएको रहेछ ।
आजका केटाकेटीहरूलाई चाहिने कुरा हो यो । विद्यालयमा नाटकमा काम गर्न पाए भने ती बालबालिकाहरूमा बाहिर समाजमा पनि निर्धक्क बोल्ने क्षमता बढ्छ । उनीहरूमा साहस बढ्छ । यस्ता काममा विद्यालयहरूले केटाकेटीहरूको लागि प्रोत्साहन गर्नु, हौसला दिनु जरुरी छ ।
अन्य निजी तथा सामुदायिक विद्यालयहरूले पनि यसरी नै बालबालिकालाई सिर्जनशील सीप र मौलिकपन बुझाउन आवश्यक छ ।
–विराटनगर