विराटनगर । प्रदेश नं. १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोसीमा कार्यरत करारका ३१ जना स्वास्थ्यकर्मीहरूको सरकारले करार म्याद थप नगरेपछि अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ ।
१९ जना मेडिकल अधिकृत चिकित्सक र १२ जना स्टाफ नर्सहरूको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करारको म्याद थप नगर्ने निर्णय गरेसँगै साउनदेखि कोसी अस्पतालको एचडीयू वार्डको सेवा बन्द भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको असार ३१ गतेको सचिवस्तरीय निर्णयबाट कोभिड–१९ उपचार तथा व्यवस्थापनका लागि विगत वर्षहरूमा सञ्चालनमा आएको ६ सय ४९ स्थानीय तहका कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिको लागि चालु आर्थिक वर्षको साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराइने निर्णय गरेको थियो ।
मन्त्रालयले गरेको उक्त निर्णय कोसी अस्पतालले कार्यान्वयन गरेर लैजाँदा ३१ जना स्वास्थ्यकर्मी, ४ जना हेल्थ असिष्टेन्ट, २ जना स्विपर, ४ जना कार्यालय सहयोगी र १ जना इलेक्ट्रिसियन गरी ४१ जनाको करारको म्याद थप नगरेको कोसी अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए । मेडिकल अधिकृत डाक्टर र स्टाफ नर्सको करार म्याद थप नगरेपछि कोसी अस्पतालको आईसीयूसँगै रहेको १२ शøयाको एचडीसीयू वार्ड अहिले बन्द भएको हो । एचडीसीयू वार्डमा आईसीयूमा राखेका बिरामीको स्वास्थ्य सुधार हुँदै गएपछि राख्ने वार्ड हो । यहाँ स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष निगरानीमा उपचार अक्सिजन र भेन्टिलेटर रहने जनरलभन्दा माथिल्लो तहको वार्ड हो ।
तर, कोसी अस्पतालको एचडीयू वार्ड बन्द भएपछि आर्थिक अवस्था न्यून भएका बिरामीहरू चर्को शुल्क बुझाएर निजी अस्पतालमा उपचार गर्न बाध्य भएका छन् । कोसी अस्पतालमा दैनिक १ हजार रुपैयाँ शुल्क तिरेपछि एचडीसीयू वार्डमा राखेर बिरामीको उपचार हुन्छ । त्यही एचडीसीयूमा राखेर उपचार गरेको निजी अस्पतालमा ३ देखि ६ हजार रुपैयाँसम्म दैनिक बुझाउनुपर्ने अवस्था रहेको छ ।
‘सरकारको निर्णयले बिरामीले सास्ती पाएका छन् । अहिले अस्पतालको एचडीसीयू वार्ड बन्द भएको छ । जसले गर्दा विपन्न बिरामीलाई आर्थिक भार बढेको छ । ‘आईसीयूमा राखेको बिरामीको स्वास्थ्य सुधार हुँदै गएपछि एचडीसीयूमा राखेर उपचार गर्ने गरेका थियौं । अहिले एचडीसीयू वार्ड बन्द भएकोले आईसीयूमै राखेर उपचार गरिनुपर्ने बाध्यता रहेको छ । जसले गर्दा यसको प्रत्यक्ष असर बिरामीलाई हुनजान्छ’ कोसी अस्पतालको आईसीयू वार्डमा रहेर उपचार गर्ने एक चिकित्सकले भने, ‘एचडीसीयू वार्डमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई सोझै जेनेरल वार्डमा सार्नु पनि मिल्दैन, त्यहाँ बिरामीलाई आवश्यक पर्ने उपकरण हुँदैन । त्यसैले बिरामीको बसाइ आईसीयूमा लम्बिने गरेको छ । जसले गर्दा बिरामीलाई आर्थिक भार बढन जान्छ भने आईसीयूमा राखेर उपचार गर्ने नयाँ बिरामीले पालो नपाउँदा निजीमा चर्को शुल्क बुझाएर उपचार गर्न बाध्य भएका छन् ।’
करारका स्वास्थ्यकर्मी रहँदा कोसीको आईसीयू २४ शय्यामा विस्तार गरेको थियो । साउन १ गतेदेखि स्वास्थ्यकर्मीको करार म्याद थप नभएर उनीहरू आउन छोडेपछि अहिले घटेर १० शय्यामा आएको छ । अस्पतालको आईसीयूको शøयामा बिरामीले दैनिकजसो भरिएपछि निजी अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ ।
‘एचडीसीयूमा राखेर उपचार गर्ने बिरामीलाई पनि अहिले आईसीयूमा राखिएको छ । यहाँको एचडीसीयू वार्ड बन्द छ । आईसीयू सेवाका बिरामीले भरिँदा नयाँ बिरामी राख्न ठाउँ नहुँदा अन्यत्र अस्पताल रेफर गरिनुपर्ने अवस्था रहेको छ’–आईसीयू वार्डको उपचारमा खटिएका चिकित्सकले भने ।
कोसी अस्पतालका मेसु डा. यज्ञराज खरेलले करारका स्वास्थ्यकर्मी र कर्मचारीहरूको करार म्याद थप नभएपछि जनशक्ति अभाव भएको बताए । को पदपूर्ति हुने मन्त्रालयबाट जानकारी आएकोले केही दिनभित्रमा सेवा प्रभावहमा सहजता आउने मेसु खरेलले बताए ।