विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य आपत्काल घोषणा गरेको मङ्कीपक्सबारे नेपाल सरकार चनाखो नदेखिएकोप्रति संसद्मा कुरा उठ्न थालेको छ । भारतको दिल्लीको एक सिटी अस्पतालका ३१ वर्षीय युवकमा यो सङ्क्रमण देखिएपछि नेपालमा चिन्ता व्यक्त गर्न थालिएको छ । त्यसो त भारतमा ४ जनामा मङ्कीपक्स सङ्क्रमण देखिइसकेको छ । विश्वका ७५ वटा देशका १६ हजारभन्दा बढी मानिसमा यो रोग देखिनु पक्कै पनि चिन्ताको विषय हो । नेपालजस्तो विकासशील मुलुकमा रोगहरू नियन्त्रण गर्नका लागि साधन, स्रोतको अभाव सदैव रहन्छ । त्यसकारण सुरुमै सचेतता अपनाउनु चाहिँ श्रेयष्कर हो । अहिले जुन रफ्तारमा मङ्कीपक्स फैलिँदै गएको छ, यसप्रति सचेत हुनुैपर्छ । सन् १९५० को दशकमा पहिलो पटक देखिएको मङ्कीपक्स सन् १९७० मा पहिलोपटक कङ्गोमा देखिएको थियो । ९ महिने बालकमा देखिएको मङ्कीपक्स आज विश्वको ७५ देशमा देखिनु पक्कै पनि चिन्ताको विषय हो । यो चिन्ता अहिले प्रतिनिधिसभामा उठ्न थालेको छ । नेकपा (एमाले) का नेता योगेशकुमार भट्टराईले मङ्कीपक्सका विषयमा सरकारप्रति आलोचना गरे । उनको आलोचना सकारात्मक रूपमा लिनुपर्छ । किनकि यो बेला सरकारले मङ्कीपक्स सङ्क्रमणबारे तयारी र सचेतता नअपनाएको पनि सत्य हो । नाकाहरूमा स्वास्थ्य केन्द्रहरू राखेर ‘स्क्रिनिङ’ गर्ने वातावरण तयार गरिनुपर्छ ।
अहिले संसार विश्वग्राम बनिसकेको छ । एउटा देशको मान्छे सहजै अर्को देशमा पुग्ने वातावरण छ । मान्छेहरू एक देशबाट अर्को देश रोजगार, शिक्षा र भ्रमणका लागि पुग्ने गरेका छन् । एक देशको मान्छे अर्को देशमा आउजाउ बढ्दा पक्कै पनि रोगहरूको सङ्क्रमण पनि उच्च हुन्छ । कोरोना महामारी यसैको परिणाम हो । अहिले पनि कोरोना मत्थर हुन सकेको छैन । भारतमा कोरोना वृद्धिदर भएसँगै नेपालमा पनि अहिले बढ्न थालेको छ । अझ नेपाल र भारतको सीमा नाकाहरू खुला भएका कारण सहजै रूपमा आउजाउ हुने गरेको छ । यसले गर्दा सरुवा रोगहरू पनि एक देशबाट अर्को देश जाने सम्भावना प्रबल रहन्छ । भारतमा देखिएको मङ्कीपक्स नेपालमा नआउला भन्न सकिन्न । त्यसकारण पनि नेपाल सरकार चिन्तित बन्न आवश्यक छ ।
नेपाल साधन, स्रोत सम्पन्न देश होइन । त्यसकारण नेपालले थप सतर्कता अपनाउनु आवश्यक छ । सतर्कता यसकारण पनि आवश्यक छ कि नेपाल कोरोनाले त्यसै पनि आक्रान्त भइसकेको छ । यहाँको व्यापार–व्यवसाय डामाडोल बनेको छ । अर्कातिर रुस–युक्रेन युद्धको प्रत्यक्ष प्रभाव परेको छ । पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । यस्तो जटिल अवस्थाबाट गुज्रिरहेका बेला यस्ता सङ्क्रामक रोगबाट बच्न सामान्य सावधानी, सचेतता अपनाउनु चाहिँ बुद्धिमानी ठहर्छ । यो विषय संसद्मा उठ्नु पर्ने विषय हुँदै होइन, स्वतः सरकारले लागू गरेर अगाडि बढ्नुपर्ने हो । किनकि चिकित्सकहरूले बारम्बार सचेतता अपनाउन सरकारलाई झक्झकाइरहेको अवस्था छ । नागरिकहरूलाई पनि सचेत हुन आग्रह गरिरहेको अवस्था छ । यस्तो परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनले संसारभर स्वास्थ आपत्काल घोषणा गर्नु गम्भीर सङ्कटको सूचक हो । यस्ता सूचकलाई बेवास्ता गर्नु सरकारको नालायकीपन हो । त्यसतर्फ सरकार सचेत बनोस् र नागरिकलाई सचेत गर्ने उपाय अवलम्बन गरोस् ।