आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा दुई साताअघि आम नागरिक राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेपछि राष्ट्रपति गोटाबय राजपाक्षे भाग्न बाध्य भए । चरम् रूपमा परिवारवाद हाबी भएको श्रीलङ्काको राजनीतिक नेतृत्वप्रति आम नागरिक निराश थिए । पटक–पटक आन्दोलनमा उत्रिँदासमेत नेताहरूले आफ्नो भ्रष्ट बानी सुधार गर्न सकेनन्, बरु उनीहरू झन्–झन् सम्पन्न र शक्तिशाली बन्दै गए तर, देशवासी र देश भने सङ्कटमा पर्दै गयो । दुई दशकदेखि सत्ता कब्जा गरेको राजपाक्षे परिवार यतिबेला देशका नागरिक जागेपछि भागाभाग छ । देशको तालाचाबी हातमा लिएका राजनीतिक दल र तिनका नेताहरूको असक्षमता र व्यक्तिगत फाइदाका लागि लाग्ने प्रवृत्तिले देश कुन अवस्थामा पुग्छ र अति भएपछि नागरिकहरू कसरी जाग्छन् भन्ने उदाहरण हो, श्रीलङ्का । यसबाट अन्य देशले पनि पाठ सिक्नु पर्ने हो । श्रीलङ्कामा प्रदर्शनकारीले राष्ट्रपति भवन प्रवेश गरेको दुई सातापछि इराकको राजधानी बग्दादमा पनि प्रदर्शनकारीहरू उच्च सुरक्षा घेरा तोडेर संसद्मा प्रवेश गरेका छन् । शिया धर्मगुरु मुक्दता अल सदरको पार्टीले गत अक्टोबरका सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका उनै धर्मगुरु सदरका समर्थकहरू संसद्मा प्रवेश गरेका हुन् । यसअघि सन् २०१९ मा पनि इराकमा भ्रष्टाचार, बेरोजगारी र सार्वजनिक सेवाको बेथितिबारे ठूलो प्रदर्शन भएको थियो। त्यसबेला सुरक्षाकर्मीले धेरै जनाको हत्या गरेको थियो । यसपटक भने उच्च सुरक्षाका बीच ठूलो समूह संसद्मा प्रवेश गरेको थियो । इराकको प्रदर्शन श्रीलङ्काभन्दा फरक विषयमा भइरहे पनि यसले राजनीतिक दल र नेताहरूले आमनागरिकको चाहना विपरीत कार्य गरे उनीहरू जाग्छन्, किनभने अहिले नागरिकमा राजनीतिक सचेतना बढ्दो क्रममा छ भन्ने देखिन्छ ।

पछिल्लो समय नेपालमा पनि स्थापित राजनीतिक दलहरूका गतिविधि र तिनका नेताहरूका देशभन्दा आफू र आफन्तलाई प्राथमिकता दिएर भए गरेका कामदेखि आम नागरिक दिक्क भएका छन् । गत स्थानीय तह निर्वाचनमा काठमाडौं, धरानलगायतका ठाउँमा स्थापित राजनीतिक दलहरूका उम्मेदवारहरूलाई हराएर स्वतन्त्र उम्मेदवारलाई जिताउनुले आमनागरिक राजनीतिक दलहरूका अराजनीतिक गतिविधिबाट सचेत भइसकेको सङ्केत हो । प्रदेश र सङ्घीय संसद्को निर्वाचन नजिकिँंदै गर्दा देशमा विभिन्न अभियानहरू चलिरहेका छन् । त्यसमध्येको एउटा हो, पूर्वप्रधानमन्त्री हराउने अभियान । केही व्यक्तिले यसलाई अभियानकै रूपमा सञ्चालन गरिरहेका छन् । देशमा पटक–पटक प्रधानमन्त्री भएका व्यक्तिले देशका लागि केही गर्न नसकेको तर, आफ्नो र परिवारका लागि धेरै गरेको आरोप लाग्दै आएको छ । उनीहरूलाई फेरि पनि सत्ता सुम्पँदा देश झनै धरासायी भई श्रीलङ्काको हालतमा पुग्ने भन्दै अब देश हाँक्न नयाँ पुस्ता आउनु पर्ने चर्चा परिचर्चा भइरहेको छ । यो अभियानको कतिपयले स्वागत गरिरहेका छन् भने कतिपयले पूर्वप्रधानमन्त्री हराउँदैमा देशको विकास हुन्छ भन्ने के ग्यारेन्टी छ ? भनेर प्रश्न उठाइरहेका छन् । यो अभियान सही वा गलत जे भए पनि आम नागरिकको राजनीतिक दल र तिनका नेताहरूप्रतिको अविश्वास र निराशा भने पक्कै हो । नेपालमा पनि वडातहदेखि प्रधानमन्त्री तहसम्मका काम कारबाहीप्रति आमनागरिक सन्तुष्ट बन्न सकेका छैनन् । सत्तामा पुगेपछि शासकको शैलीमा प्रस्तुत हुने, सुविधा जति आफै लिन खोज्ने, आमनागरिकको दुःख र पीडामा बेवास्ता गर्नेजस्ता आम प्रवृत्ति मौलाउँदै जाँदा नेतृत्वप्रति निराशा बढ्नु स्वभाविक पनि हो ।

पटक–पटकको जनआन्दोलन, एक दशक लामो सशस्त्र द्वन्द्वबाट अघि बढेको नेपालमा तिनै आन्दोलन र क्रान्तिबाट सत्तामा पुगेका नेताहरूसमेत पुरानै राजा महाराजाको रूपमा प्रकट हुँदा आमनागरिकमा निराशा बढ्दो छ । पछिल्लो समय राजनीतिक दल र नेताहरूप्रतिको बढ्दो असन्तुष्टि र देशको कमजोर आर्थिक अवस्थाका कारण बेला–बेला नेताहरू आफै देश श्रीलङ्काको बाटोमा जान सक्ने भन्न थालेका छन् । चरम् व्यक्तिवाद, नातावाद, कृपावाद र भ्रष्टाचार मौलाउँदै गएको अवस्थामा राजनीतिक दल र नेताहरूले आफैबाट सुधार नथाल्ने हो भने नेपालमा श्रीलङ्का वा इराकजस्तै आमनागरिक संसद् भवन, प्रधानमन्त्री कार्यालयजस्ता ठाउँमा प्रवेश नगर्लान् भन्न सकिन्न । त्यस्तो अवस्था आउन नदिन राजनीतिक दल र तिनका नेताहरूले देश र जनताको चाहना, आवश्यकतालाई मध्यनजर गरेर काम गर्नुको विकल्प छैन । अन्य देशमा आइरहेको नागरिक जागरण हेरेर आफै नसुध्रिए नेता र दलहरू पत्तासाफ हुने निश्चित छ ।