नेकपा (एमाले) देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति हो । त्यही शक्तिका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृहजिल्लामा पछिल्लो पटक चार दिनसम्म बसेका छन् । यति लामो बसाइलाई लिएर अनेकन प्रश्नहरू खडा भएका छन् । सङ्घीय तथा प्रादेशिक चुनाव नजिकिँदो अवस्थामा ओलीको बसाइले केही महŒव अवश्य नै राख्छ । ओली यो चार दिनमा आफ्ना कार्यकर्ता, नेता, शुभेच्छुक तथा खेलसम्म खेल्न भ्याए । उनी आफू तन्दुरुस्त रहेको सन्देश पनि दिए । बेलाबेला ओलीमाथि स्वास्थ्यलाई लिएर अनेकन प्रश्नहरू उठ्ने गरेका छन् । उमेरलाई लिएर पनि उस्तै प्रश्न उठ्ने गरेको छ । नेकपा (एमाले) को विधानमा ७० वर्ष पुगेपछि अध्यक्ष पदमा बस्न नपाउने प्रावधान छ । त्यही प्रावधानकै कारण पनि ओलीले चितवनमा हतारोमा १० औं महाधिवेशन गराए र आफू अध्यक्षमा निर्वाचित भए । यदि तीन महिना ढिला गरी महाधिवेशन हुँदो हो त अध्यक्षमाथि विधानले न्याक्ने अवस्था थियो । त्यही कारण चितवनमा महाधिवेशन भयो । यी त भए, पार्टीभित्रका भित्री कुरा । उनी अझै पनि एकपटक प्रधानमन्त्री हुने लालसा राखेका छन् । त्यो लालसा उनको विभिन्न भनाइ, वक्तव्य र टिप्पणीबाट प्रष्टिन्छ ।
अहिले नेपालको राजनीति उपभोक्तावादमा अडिएको छ । जनता उपभोक्ता भएका छन् । राजनीतिमा आफ्नो स्वार्थ तथा आफूअनुकूल हुने भएमा जस्तोसुकै गठबन्धन पनि जायज हुन्छ । एजेन्डा मिल्ने होस् या नहोस् सत्ता र शक्तिमा पुग्न ‘सिद्धान्त, वाद र स्कुलिङ’ तपशिलका विषय बन्छन् । अहिले भएको पाँच दलीय गठबन्धन पनि त्यसैको उपज हो । फरक फरक विचारधाराहरू त्यसमा पनि वितरीत धु्रवका विचारधाराहरूबीचको सम्मिलन नपत्याउँदो किसिमको छ । अझ विश्व परिवेशलाई नियाल्ने हो भने चुनावपूर्व कुनै पनि देशमा गठबन्धन हुँदैन । चुनावपश्चात् मात्रै एजेन्डा मिल्नेहरूबीच सहमति गरिन्छ । तर, यहाँ आफ्नो भाग पाउनका लागि जस्तोसुकै गठबन्धन गर्न पनि तयार देखिन्छन् राजनीतिक दलहरू । उपभोक्तामुखी राजनीतिबाट गुज्रिँदै गएको अवस्थामा स्वतन्त्रको लहर पनि उस्तै गरी बाक्लिएको छ । यही चौघेरोमा देशको सबैभन्दा ठूलो दल नेकपा (एमाले) पनि परेको छ । एमाले आफू शक्तिमा बस्न चाहन्छ । त्यो शक्ति आर्जन गर्नका लागि पनि अहिले ओली आफ्नो गृहजिल्लामा छन् । किनकि ओलीको क्षेत्रमै एमालेले स्थानीय तहको निर्वाचनमा नराम्रोसँग हार बेहोरेको नजिर छ । ऊ दिन प्रतिदिन खस्कँदै गएको छ । यसलाई ‘चेक एन्ड ब्यालेन्स’ अर्थात् शक्ति सन्तुलन गर्नका लागि ओली गृहजिल्लामा छन् । यदि उनी सङ्घीय निर्वाचनमा हारेमा प्रधानमन्त्री बन्ने सम्भावना पनि क्षीण हुन्छ । हारेका व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरेमा अनेकन प्रश्न उठ्छन् । यदि प्रधानमन्त्री भइहाले पनि अदालत बाधक बन्ने सम्भावना बलियो हुनेछ । त्यो डर ओलीलाई छ । किनकि ओली धूर्त नेता मानिन्छन् । भोलि हुन सक्ने सम्भावित घटनालाई नियाल्न सक्छन् ।
ओलीका लागि अबको राजनीति त्यति धेरै सरल छैन । बक्ररेखामा कुद्नुपर्ने अवस्था छ । हिजोका समकक्षीहरू आज विपरीत धु्रवमा छन् । जसरी हुन्छ, ओली हराऊ अभियानमा छन्, उनीहरू । त्यसैका लागि सत्तासाझेदारी र गठबन्धन गरेका छन् । त्यसैको परिणाम स्थानीय तहको निर्वाचन हो । अब सङ्घीय र प्रादेशिक तहमा त्यही परिमाण नआउला भन्न सकिन्न । त्यसकारण पनि एमालेलाई पहाड छिचोल्नुपर्ने अवस्था छ । शक्तिमा टिकिरहन चाहने ओली तथा ओलीजनका लागि त्यति सजिलो पनि छैन । ओली शक्तिका पुजारी हुन्, त्यो यहाँ भनिरहनु पर्दैन । त्यसकारण आफ्नो गृहजिल्लालाई दर्बिलो बनाउने अभियानमा शुषुप्त ढङ्गले उनी लागिपरेका छन् । चार दिनको बसाइ हुनुका पछाडि यी प्राथमिक कारण हुन् । अन्य सहायक कारणहरू पनि हुन सक्छन् । तर, चुनावी रणमैदानमा उभिँदै गरेको अवस्थामा स्वतन्त्र भनिएका दलहरू, व्यक्तिहरूबाट पनि चुनौती छँदै छ । अर्कोतर्फ गठबन्धनको चुनौती त झनै छिचोल्नु नै छ । त्यसका लागि पनि उनी अहिले आफ्नो गृहजिल्लालाई बढीभन्दा बढी समय दिएर आफ्नो जिल्ला, त्यसमा पनि आफ्नो क्षेत्रलाई सबल बनाउने पक्षमा उभिएका छन् । यो बसाइ उनका लागि कति फलदायी होला, त्यो त भविष्यले नै बताउला ?