धरानमा एकपछि अर्को सहकारी संस्थाले बचतकर्ताको रकम अपचलन गरेर अर्बौं डुबाएका छन् । पछिल्लो समय वराह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको अर्बौं रकम फिर्ता नगरेपछि पीडितहरू लामो समयदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरू समस्या समाधानका लागि धरान उपमहानगरपालिका पनि धाउँदै आएका थिए । यही क्रममा आइतबार उपमहानगरपालिका पुगेका उनीहरूलाई नगर प्रमुख हर्कराज राईले ‘मलाई सोधेर पैसा राखेको हो र ?’ भन्ने गैरजिम्मेवार जवाफ दिएपछि आक्रोसित आन्दोलनकारीले नगर प्रमुख राई विरुद्ध नै नाराबाजी गरे । उनको कार्यकक्षको झ्यालका सिसासमेत तोडफोड गरिदिए । आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति तोडफोड गरिनु गलत कार्य हो भने पीडितहरू न्याय माग्न आउँदा नगर प्रमुखले गैरजिम्मेवार जवाफ दिनु पनि सही होइन । किनभने संविधानले नै सहकारीको नियमनदेखि कारबाहीसम्मको अधिकार स्थानीय तहलाई दिएको छ । त्यही आधारमा धरान उपमहानगरपालिकाले सहकारी ऐन पनि जारी गरिसकेको छ । यस्तो अवस्थामा कुनै पनि सहकारीका पीडितहरूले उजुरी गर्न जाने ठाउँ भनेकै स्थानीय तह हो । निर्वाचित हुने बित्तिकै नगर प्रमुखमा आफैले पनि वराहका पीडितहरूसँग छलफल गरेर समस्या समाधानका लागि पहल गरेका थिए । वराहका सञ्चालकहरूलाई बोलाएर छलफल गरेका थिए । त्यही आशाले पीडितहरू उनलाई गुहार माग्न गएका हुन् । नगर प्रमुखका हिसाबले उनले पीडितलाई सान्त्वना दिनु पर्नेमा उल्टो गाली गरेपछि भीड आक्रोसित भयो । त्यसको चर्चा अहिले देशव्यापी रूपमा भइरहेको छ ।

भीड र आन्दोलनकारीको स्वभाव जहिले पनि आक्रामक हुन्छ । हिजो हर्क सम्पाङ आन्दोलनकारीका रूपमा रहँदा उनले पनि यसरी नै उपमहानगरपालिकाको प्रवेशद्वारमा चढेर नाराबाजी गर्ने, खानेपानीको पाइप तोडफोड गर्ने काम गरेकै हुन् । यद्यपि यस्तो काम जसले गरे पनि गलत हो । जिम्मेवार निकायमा बसेका पदाधिकारीहरूले पीडितहरूका कुरा नसुन्दा यस्तो अवस्था आउँछ, जसरी अहिले वराहका पीडितले गरे वा जसरी हिजो हर्क साम्पाङले गरे । हिजोका दिनमा जसरी अन्य नगर प्रमुखहरू हर्क साम्पाङको आन्दोलन हुन थालेपछि उपमहानगरपालिका कार्यालयमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गर्थे, अहिले उनै साम्पाङ नगर प्रमुख बनेपछि सहकारी पीडितको आन्दोलनबाट बच्न प्रहरी परिचालन गरेर बसेका छन् । यस्तो अवस्था किन आयो ? हिजोका नगर प्रमुखहरूले जुन गल्ती गरे, आजका नगर प्रमुखले पनि उही दोहो¥याइरहेका छन् । त्यसैले समस्या समाधान हुनेभन्दा झन् गाँठो पर्दै गयो ।

यसअघि बचतकर्ताको रकम अपचलन गर्ने श्रेया सहकारी, सल्लेरी सहकारी, सयपत्री सहकारी, भविष्य सहकारीलगायतले अर्बौं डुबाउँदा पनि नगर प्रमुख र नगर सहकारी समितिले उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सकेनन् । तत्कालीन सहकारी समितिका संयोजक नरेश इवारम आफै सञ्चालक रहेको सयपत्री सहकारीले करोडौं अपचलन गरेको छ । त्यसलाई कारबाही गर्नबाट उनी आफै बाधक बनेका छन् । श्रेया र सल्लेरीका पीडितलाई पनि न्याय दिलाउनुको साटो सञ्चालकलाई बचाउन उनैले भूमिका खेलका छन् । यसरी सुरुदेखि नै स्थानीय तह पीडितहरूको पक्षमा देखिएन । बरु सञ्चालकहरूलाई बचाउन लागिपरे । वर्तमान नगर प्रमुख साम्पाङले पनि धरानमा सहकारीको यत्रो समस्या आउँदा सहकारी समिति गठन गर्न सकेका छैनन् । स्थानीय तहले दह्रोसँग कारबाही प्रक्रिया अगाडि बढाउन नसक्दा धरानका सहकारीका बचतकर्ताको रकम डुबिरहेको छ । त्यसकारण स्थानीय तह जिम्मेवार बन्नु आवश्यक छ ।