धरान । शारा (शान्तिलता र राजेन्द्र) थापा स्मृति प्रतिष्ठान धरानले धरानका अग्रज शिक्षक र चिकित्सकहरूलाई सम्मान प्रदान गरेको छ ।
प्रतिष्ठानको पाँचौं वार्षिकोत्सवका अवसरमा आइतबार पब्लिक हाईस्कुलमा आयोजित कार्यक्रममा सामुदायिक विद्यालयका ७५ वर्षमाथिका २८ जना शिक्षकलाई सम्मान गरिएको हो । त्यस्तै धरानको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको भन्दै चार जना चिकित्सकलाई सम्मान गरिएको छ ।
डा.खालिद हुसैन हक, डा.हरि शर्मा दाहाल र डा.तपन तरफदारलाई सम्मान प्रदान गरिएको छ भने स्व.डा.ज्ञानबहादुर श्रेष्ठलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।
सम्मानित शिक्षक तथा चिकित्सकहरूलाई कार्यक्रमका प्रमुख अतिथि भाषा वैज्ञानिक प्रा.डा.माधवप्रसाद पोखरेल, विशिष्ट अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा र प्रतिष्ठानका अध्यक्ष वीरेन्द्रसिंह थापाले दोसल्ला, सम्मान–पत्र र माला प्रदान गरे ।
कार्यक्रममा सम्मानित शिक्षकको तर्फबाट चन्द्र श्रेष्ठ र चिकित्सकको तर्फबाट डा.खालिद हुसैन हकले बोलेका थिए भने बुद्धिजीवि डा.राजेन्द्र शर्मा र हरिप्रसाद दाहालले स्वर्गीय राजेन्द्रबहादुर थापा तथा शान्तिलता थापाको योगदानबारे चर्चा गरेका थिए । प्रमुख अतिथि भाषा वैज्ञानिक पोखरेलले गुरुहरूको सम्मान गरिनु महत्वपूर्ण भएको बताए ।