अघिल्ला केहीवर्ष कोरोना सङ्क्रमणको महामारीले संसारै अस्त–व्यस्त बन्यो । यसपटक पनि कोरोना सङ्क्रमण बढ्दो क्रममा छ । प्रदेश १ मा भने यसपटक कोरोना सङ्क्रमणको प्रभाव पहिलेभन्दा फरक किसिमले देखिन थालेको छ । अघिल्ला वर्षहरूमा बाक्लो जनसङ्ख्या भएका, भारतीय सीमानजिक रहेका तराईका जिल्लाहरूमा बढी प्रभाव देखिएको थियो । तराईका जिल्लाहरूबाट नै अन्यत्र फैलिने क्रम पनि देखिएको थियो । तर, यसपटक पूर्वी तराईको तुलनामा पहाडी जिल्लाहरूमा सङ्क्रमणको प्रभाव बढी देखिन थालेको छ । पहाडी जिल्लाहरूमा कोरोना सङ्क्रमण बढेको भन्दै धमाधम विद्यालयहरू बन्द हुन थालेका छन् । नेपालमा पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरियन्टको उपप्रकार बीएफाईभ भेटिएको पुष्टि भएसँगै सङ्क्रमण दर निरन्तर बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेको सङ्क्रमणदर १७ प्रतिशत छ । मन्त्रालयले आगामी दुई साता सङ्क्रमणदर तीव्र रूपमा बढ्ने र त्यसपछि घट्दै जाने अनुमान गरेको छ ।

सरकारले यसपटक पहिला जसरी लकडाउन नगर्ने बताइरहँदा पूर्वका पहाडी क्षेत्रका जिल्लाहरूमा विद्यार्थी र अभिभावकहरूमा सङ्क्रमण बढेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आइरहेको छ । त्यसो त आमनागरिकमा पहिलाजस्तो कोरोनाबाट डर देखिँंदैन । उनीहरू भीडभाडमा पनि मास्कविनै हिँडडुल गरिरहेका देखिन्छन् । यसले भने सङ्क्रमणदर बढ्ने अनुमान गर्न सकिन्छ । नेपालमा करिब ७० प्रतिशतले पूर्ण मात्रामा कोरोनाविरुद्धको खोप लगाइसकेको सरकारी तथ्याङ्क छ । अझै कतिले भने एक पटकसमेत खोप लगाएका छैनन् । विज्ञहरूका भनाइमा खोप लगाएकाहरूभन्दा नलगाएकाहरूमा बढी जोखिम छ । सरकारकै तथ्याङ्कअनुसार यो साउन महिनामा कोरोनाका कारण ज्यान गुमाउनेमध्ये ७० प्रतिशत खोप नलगाएका र दीर्घरोगी छन् । यो तथ्याङ्कबाट पनि बेलैमा सचेत रहनु पर्ने देखिन्छ । कोरोना महामारीका कारण हालसम्म नेपालमा करिब १२ हजार जनाले ज्यान गुमाएका छन् । त्यसो त कोरोनाका कारण भएको बन्दाबन्दीका कारण व्यापार–व्यवसाय ठप्प हुँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । त्यही कारणले कतिपय व्यवसायी पलायन भएका छन्, कतिपय व्यापार–व्यवसाय गुमाएर सडकमा आइपुगेका पनि छन् । आमनागरिकको यस्तो पीडामा सरकारले पर्याप्त मात्रामा राहत दिन सकेको छैन । बरु उल्टै राहतमा समेत अनियमितता भएका खबरहरू बारम्बार सार्वजनिक भएका छन् । फेरि पनि त्यस्तो अवस्था आउन नदिनका लागि आमनागरिक सचेत हुनुको विकल्प छैन । नागरिकहरू नै सचेत हुने र भीडभाडमा सतर्कता अपनाउने, सरकारले तोकेको सुरक्षा मापदण्डको पालना गर्ने, सङ्क्रमण भएमा घरमै बसेर अन्यत्र फैलिन नदिने जस्ता कुरामा ध्यान पु¥याउने हो भने यसले पहिलाजस्तो महामारीको रूप लिन सक्दैन । तर, खोप लगाइएकै छ भनेर लापरबाही गर्ने र सङ्क्रमण हुँदासमेत जथाभावी भीडभाडमा हिँडडुल गर्ने गरेमा यसले फेरि महामारीको रूप लिंँदैन भन्न सकिँंदैन ।

यदि पहिलाजस्तै महामारीको रूप लियो भने सरकारले पनि बन्दाबन्दी गर्न बाध्य हुनुपर्छ । त्यसको नकारात्मक असर आमनागरिकलाई पनि पर्ने नै छ । त्यसपछि फेरि पहिला जसरी नै व्यापार–व्यवसाय धरासायी हुन्छ र त्यसको मार आमनागरिकले नै खेप्नु पर्छ । फेरि पनि त्यस्तो अवस्था नभोग्ने हो भने अहिलेबाटै सतर्कता अपनाउनुको विकल्प छैन । सरकारले पनि बढ्दो सङ्क्रमणलाई ध्यान दिँंदै भीडभाड कम गर्न र सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क प्रयोग गर्न सचेत गराइसकेको छ । यस्तो अवस्थामा लापरबाही गरेमा समस्या हामीले नै भोग्नु पर्ने हुँदा बेलैमा सचेत बन्नु आवश्यक छ । विज्ञहरूकै भनाइमा व्यक्ति–व्यक्तिबाटै सचेतना अपनाउने हो भने यसलाई फैलिनबाट रोक्न सकिन्छ । त्यसैले सबै सचेत बनौं ।