विजयपुर । आभास शर्मा मेकानिकल इन्जिनियरिङका विद्यार्थी हुन् । उनी इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पूर्वाञ्चल क्याम्पस धरानमा चौथो वर्षमा अध्ययनरत् छन् । मेकानिकल इन्जिनियरिङमा ४ वर्षको ८ सेमेष्टरमा ४८ वटा विषय पढाइ हुन्छ । ४८ मध्ये कम्तिमा ४० वटा विषयको ल्यावमा प्राक्टिकल गर्नु पर्दछ । तर, ल्यावमा प्रयोग गरिने सामग्रीको अभावमा एउटा पनि प्राक्टिकल गर्न पाएका छैनन् । प्राक्टिकलको समस्या उनको मात्रै नभई क्याम्पसमा अध्ययनरत २ हजार विद्यार्थीको हो ।
शर्मा भन्छन्, ‘चौथो वर्षमा पुगेँ । १० वटामा सामान्य प्राक्टिकल गराएर झारो टार्ने काम भयो । ३० वटा विषयको पूर्णरूपमा प्राक्टिकल भएन ।’ उनका अनुसार ल्यावमा प्राक्टिकल गर्नका लागि आवश्यक सामग्रीहरू नहुँदा बञ्चित हुनु परेको हो । ‘प्राक्टिकलका लागि आवश्यक सामग्री विभागले माग गर्नु पर्दछ’ उनी भन्छन्, ‘इन्जिनियरिङका विद्यार्थीलाई प्राक्टिकल नगरी उत्तीर्ण गराइदिन्छौँ भनेपछि विद्यार्थी पनि बोल्दैनन् ।’
शर्माका अनुसार मेकानिकल इन्जिनियरिङमा प्राक्टिकलका लागि युनिभर्सल टेस्टिङ मेसिन (युटिम), मेटिरियल साइन्स, मेट्रोलोजी र मेसिन डिजाइन, आइटी इन्जिनजस्ता उपकरण आवश्यक पर्दछ । तर, चौथो वर्षमा पुग्दासमेत विद्यार्थीले ती उपकरण देख्न पाएका छैनन् । ‘चौथो वर्षसम्म एकपटक पनि प्राक्टिकल भएको छैन । इन्जिनियरिङका विद्यार्थीहरूले फिल्डमा जानुभन्दा पहिले प्राक्टिकल गर्नु पर्दछ’ उनी भन्छन्, ‘प्राक्टिकल नगरी उपकरणबारे नै जानकारी हुँदैन, फिल्डमा जाँदा के काम गर्ने ?’ शर्मा थप्छन्, ‘सरलाई भन्दा युट्युब हेर न भनेर झारो टार्छन् ।’
४ वर्षसम्म उपकरण आउँछ भन्दाभन्दै बितेको शर्माको भनाइ छ । विभागले उपकरण नभएको जवाफ दिने गरेको उनी बताउँछन् । यस्तै, सतिस शर्मा एग्रिकल्चर इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । उनको चौथो सेमेष्टरमा ३ वटा विषयको प्राक्टिकल भएको छैन । उनी भन्छन्, ‘सेमेष्टर सकिन लाग्यो । हालसम्म प्राक्टिकल भएको छैन ।’ उनका अनुसार एग्रिकल्चर इन्जिनियरिङको चौथो वर्षमा ग्राउण्ड वाटरको प्राक्टिकल गर्नु पर्दछ ।
तर, उनीहरूले प्राक्टिकल गर्न पाएका छैनन् । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा प्रत्येक वर्ष सिभिल इन्जिनियरिङमा १ सय ४४ जना, कम्प्युटर इन्जिनियरिङमा ९६ जना, मेकानिलक इन्जिनियरिङमा ९६ जना, इलेक्टोनिक्स इन्जिनियरिङमा ४८, इलेक्ट्रिकल इन्जिनियरिङमा ४८, एग्रिकल्चर इन्जिनियरिङमा ४८ जना र आर्किटेक्चर इन्जिनियरिङमा ४८ गरी कुल २ हजार विद्यार्थी अध्ययनरत छन् । इन्जिनियरिङका सबै विषयमा प्राक्टिकल गर्नुपर्दछ ।
तर, उपकरणको अभावमा कुनै पनि विषयमा पूर्णरूपमा प्राक्टिकल भएको छैन । प्राक्टिकल नगराउँदा फिल्डमा जाँदा काम गर्न गाह्रो पर्ने विद्यार्थीहरू बताउँछन् । क्याम्पस प्रमुख ओमप्रकाश ढकाल विद्यार्थीले भनेजस्तो विकराल अवस्था भने नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘क्याम्पसको आर्थिक अवस्थाले महँगो पर्ने ल्यावका उपकरण ल्याउन सकेका छैनौँ ।’ लकडाउनमा अनलाइनबाट नै प्राक्टिकल गराएको उनी बताउँछन् । चालु वर्षमा भने मेकानिकल इन्जिनियरिङका विद्यार्र्थीको प्राक्टिकल गराउन नसकेको उनी स्वीकार्छन् । उनी भन्छन्, ‘एउटा–दुईटा विषयको प्राक्टिकल नभएको हो ।’
उनी युटिम मेसिन खरिद गर्न २५ देखि ५० लाख पर्ने र क्याम्पसले खरिद गर्न सक्ने अवस्था नभएको बताउँछन् । विगतमा सेमेष्टरको अन्त्यमा काठमाडौँ लगेर प्राक्टिकल गराउने गरेको उनको भनाइ छ । अहिलेका प्राक्टिकल नभएका विद्यार्थीलाई अर्को सेमेष्टरका विद्यार्थीसँग लगेर प्राक्टिकल गराउने उनी बताउँछन् ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई प्राक्टिकलको मात्रै समस्या छैन । कक्षाकोठामा अध्ययन गर्न पनि उस्तै समस्या छ । भवनहरू जीर्ण हुँदा अध्ययन गर्ने कक्षाकोठामा पानी चुहिने गरेको छ । अखिल क्रान्तिकारी इकाई समिति अध्यक्ष समिर तिवारी पानी परेपछि कक्षाकोठामा पानी चुहिएर अध्ययन गर्न नसकिने बताउँछन् । उनी कक्षाकोठामा पङ्खासमेत नभएको बताउँछन् । होस्टलदेखि शौचालयसम्म जीर्ण भएको बताउँदै उनी भन्छन्, ‘शौचालय वरपर झाडी छ । सर्पले डस्ला भन्ने त्रास हुन्छ । लेडिज विद्यार्थीलाई दिसा गर्नु परेमा घर÷कोठा पुग्नुपर्छ ।’ उनी क्याम्पस प्रशासनलाई पटक–पटक समस्या अवगत गराए पनि सुनुवाइ नभएको बताउँछन् । उनी भन्छन्, ‘टालेजस्तो मात्रै गर्छ । समस्या उस्तै ।’
उनी प्रशासन राजनीतिक रूपमा सञ्चालित भएको आरोप लगाउँछन् । उनी भन्छन्, ‘विद्यार्थीका समस्या समाधानभन्दा पनि यहाँ मिलिजुली खाने प्रचलन छ ।’ उनी समस्या उठाउने विद्यार्थीलाई परीक्षामा समेत समस्यामा पार्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘प्रश्न गाह्रो सोध्ने, प्रयोगात्मक परीक्षामा समस्या बनाउने गर्छन् ।’ क्याम्पस प्रमुख ढकाल क्याम्पस भवन ४० वर्ष पुरानो भएकाले समस्या भएको स्वीकार गर्छन् । उनी केमिकल लगाएर भवन टाल्ने कार्य गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘प्राथमिकताका आधारमा टालेका छौँ ।’
आर्थिक अभावका कारणले भवन निर्माण गर्न नसक्दा समस्या भएको उनी बताउँछन् । क्याम्पसमा स्थायी दरबन्दी भए पनि त्रिविले शिक्षक, कर्मचारी नपठाउँदा आर्थिक समस्या जटिल भएको बताउँछन् । उनी रजिष्ट्रारको कार्यालयलाई बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ नभएको बताउँछन् । शिक्षक, कर्मचारीलाई आन्तरिक स्रोतबाट वार्षिक २ करोड ५० लाख भुक्तानी गर्नु पर्ने भएकाले अन्य व्यवस्थापन गर्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘सामान्य अध्यापनबाहेक अन्य क्रियाकलाप गर्ने अवस्था छैन ।’
१ सय १६ शिक्षकको दरबन्दीमा ६५ जना मात्रै स्थायी छन् । ८० जना कर्मचारीमा ५५ जना मात्र स्थायी छन् । अन्यलाई क्याम्पसले आन्तरिक स्रोतबाट तलब खुवाउनु पर्दछ । २५ जना कर्मचारी, ५१ शिक्षकको दरबन्दी भए पनि दरबन्दीको पैसा नदिँदा समस्या भएको उनको भनाइ छ । उनी भन्छन्, ‘त्रिवि डिनको कार्यालयले चासो नदिँदा क्याम्पस बन्द हुने अवस्थामा छ ।’ उनी छात्रामैत्री शौचालय निर्माण गरी ४ दिनभित्र सञ्चालन गर्ने बताउँछन् ।
कर्मचारीको कान सफा गर्ने अभियान
यसैबीच विद्यार्थीहरूले आफ्नो आवाज नसुनेको भन्दै क्याम्पस प्रमुखसहित शिक्षक, कर्मचारीको कान सफा गर्ने अभियान चलाएका छन् ।
मङ्गलबार अखिल क्रन्तिकारी पूर्वाञ्चल इकाई समितिले विद्यार्थीका समस्या नसुनेको भन्दै कान सफा गर्ने कार्यक्रम गरेको हो । कार्यक्रममा क्याम्पस प्रमुखसहित शिक्षक, कर्मचारीको कान सफा गर्न भन्दै रुवा हस्तान्तरण गरिएको थियो । लामो समयदेखि क्याम्पसले विद्यार्थीका समस्या नसुनेकाले कान सफा गर्ने कार्यक्रम राखेको क्रान्तिकारीका इकाई अध्यक्ष समिर तिवारीले बताए । उनले भने, ‘कान नसुनेर समाधान नभएको हो कि भनेर कान सफा गर्न रुवा हस्तान्तरण गरेका हौँ ।’
अब पनि सुनुवाइ भएन भने फायल सफा गर्ने उनले बताए । उनीहरूले पानी चुहिने समस्या समाधान गर्न, फस्ट एड बक्स उपलब्ध गराई एक जनालाई तालिम दिन, समयमा शिक्षक कर्मचारी प्रशासनमा आउन, ल्यावको व्यवस्थापन गर्न र एसेस्मेण्ट मार्क समयमा विद्यार्थीलाई दिनु पर्ने माग राखेका थिए ।
उनीहरूको ‘ब्यानरमा विज्ञप्तिमा मात्रै थुपार्ने कि काम पनि गर्ने ?’, ‘तन्काएको रबरजस्तै भयो प्रशासन, कि चुँडिने कि आफ्नो पारामा फर्कने ?’, ‘सम्पत्ति मागेको होइन, अधिकार मागेको हो’ लगायतका नारा लेखिएको थियो ।