ठूला उद्योग, कलकारखाना र विकासका अन्य पूर्वाधारहरू पर्याप्त नभए पनि शिक्षामा धरान अग्रस्थानमै छ । परम्परागत धार्मिक, सांस्कृतिक कर्मकाण्ड सिकाउने संस्कृत विद्यापीठदेखि आधुनिक चिकित्सा विज्ञान र इञ्जिनियरिङसम्म पढाइ हुने धरान पूर्वकै शैक्षिक गन्तव्यसमेत हो । विविध विषयको पढाइका लागि प्रदेश १ र मधेस प्रदेशका विभिन्न जिल्लाहरूबाट यहाँ विद्यार्थीहरू आउँछन् । चिकित्सा विज्ञान अध्ययनका लागि त प्रदेश मात्र होइन, देशका विभिन्न जिल्ला हुँदै विदेशबाट समेत विद्यार्थी आउँछन् । यसअर्थमा धरानलाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । यसलाई पर्यटनसँग जोडेर पनि विकास गर्न सकिन्छ । धरान शैक्षिक क्षेत्रमा अहिले होइन, धेरै पहिलेदेखि विकास भएको ठाउँ हो । तर, पछिल्लो समय भने धरानलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्नेतर्पm ध्यान पुगेको पाइँंदैन, बरु भएका शैक्षिक पूर्वाधारहरूको समेत संरक्षण हुन नसक्दा जीर्ण बनिरहेका छन् । पर्याप्त पूर्वाधार नहुँदा धरानलाई शैक्षिक केन्द्र बनाउन कठिन छ ।
धरानमा रहेको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा विभिन्न जिल्ला र प्रदेशबाट अध्ययन गर्न विद्यार्थीहरू आउने गर्छन् । धरानको शानका रूपमा रहेको यो क्याम्पसले देशका लागि दक्ष जनशक्ति उत्पादनमा योगदान गरिरहेको छ तर, यसका भौतिक पूर्वाधारहरू अस्तव्यस्त बन्दा कसैले चासो देखाएको पाइँंदैन । इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूका लागि ल्याव आवश्यक पर्छ । उनीहरू ल्यावमा अभ्यास गरेर नै सक्षम र दक्ष बन्ने हुन् तर, ल्यावको अभावमा सुनेकै भरमा अध्ययन गरेर इन्जिनियर बनिरहेका छन् । त्यसरी उत्पादित जनशक्तिले देशमा कस्तो विकास होला ? सहजै कल्पना गर्न सकिन्छ । विद्यार्थीहरू पर्याप्त सुविधा नपाएको भन्दै पटक पटक आन्दोलनमा उत्रिन्छन् । राजनीतिक दलका भातृसङ्गठनमा आबद्ध विद्यार्थीहरूका कतिपय माग विद्यार्थीका हितकै खातिर हुन्छन् भने कतिपय चाहिँ राजनीतिक प्रतिशोधका । क्याम्पसमा राजनीति बढी हाबी हुँदा आन्दोलन र तालाबन्दी हुने घटना नयाँ होइन । क्याम्पसमा देखिएका समस्या समाधान गर्ने विद्यार्थी र क्याम्पस प्रशासन मिलेर उपायहरूको खोजी गर्नु पर्नेमा विद्यार्थी आन्दोलन गर्ने, क्याम्पस प्रशासन त्रिभुवन विश्वविद्यालयलाई देखाएर पन्छिने प्रवृत्ति पटक–पटक देखिँंदै आएको छ । यसरी समस्याको समाधान हुन सम्भव छैन ।
यो क्याम्पस धरानको गहना पनि हो । त्यसअर्थमा यसको दुर्गति हुनु भनेको समग्र धरानको पनि दुर्गति हो । यसलाई सुधार गर्न विद्यार्थी र क्याम्पस प्रशासनको जुहारीले मात्र सम्भव छैन । विभिन्न ठाउँबाट पढ्न आएका विद्यार्थीहरू आन्दोलन गर्दागर्दै पढाइ सकिएर अन्यत्र पुगिसक्छन् । क्याम्पस प्रशासनका कर्मचारीहरू पनि जागिरमा बढी केन्द्रित हुन्छन् । यो क्याम्पसको सुधार चाहने हो भने धरानवासी र धरान उपमहानगरपालिकाले पनि चासो देखाउनु आवश्यक छ । किनभने धरानलाई शैक्षिक केन्द्रका रूपमा चिनाउनेमध्ये एउटा महŒवपूर्ण शैक्षिक संस्था यो पनि हो । हुन त धरान उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने कक्षा १२ सम्मको शिक्षालाई त व्यवस्थित बनाउन सकेको छैन । सङ्घीयता कार्यान्वयन भएको पाँच वर्ष बितिसक्दासम्म एउटा स्थानीय पाठ्यक्रमसमेत लागू गर्न सकेको छैन भने यहाँका निजी र सामुदायिक विद्यालयका समस्याहरू ज्यूँका त्यूँ छन् तर, इन्जिनियरिङ क्याम्पस धरान उपमहानगरपालिकाको नियमन गर्ने कार्यक्षेत्रभित्र नपरे पनि यसको दुरावस्था कम गर्न, समस्याहरू हटाउनका लागि भूमिका खेल्न सक्छ । धरानलाई शैक्षिक गन्तव्य बनाउनका लागि यहाँका सामाजिक सङ्घ–संस्था र सचेत नागरिकहरूले पनि चासो देखाउनु आवश्यक छ । इन्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस, पिण्डेश्वर क्याम्पस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता शैक्षिक संस्थाहरूको आधुनिक विकासका लागि धरानवासी बुद्धिजीवी र आम नागरिकले चासो लिनु, पहल गर्नु जरुरी छ । धरानका शैक्षिक संस्थाहरूमा अध्ययन गरेका विद्यार्थीहरू देशका विभिन्न क्षेत्रमा स्थापित छन् । तर, धरानको शैक्षिक क्षेत्र अस्तव्यस्त बन्दै जानु दुःखद् हो । यसलाई व्यवस्थित बनाउन यहाँका नागरिक जाग्नु आवश्यक छ ।