पौवादुङमा गाउँपालिकाको प्रमुख सौन्दर्यको रूपमा रहेको च्याङ्ग्रे पोखरी संरक्षण गर्न थालिएको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर आर्थिक स्रोतका रुपमा जोड्न रु दुई करोडभन्दा बढी लागतमा संरक्षण गर्न लागिएको होे ।
सिङ्गो गाउँपालिकाको आकर्षण केन्द्रको रूपमा रहेको यो पोखरीलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य मान्न सकिन्छ । पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर थप विकास गरिरहेको छ ।
पोखरीको मौलिकतालाई यथावत राख्दै आधुनिक प्राविधि प्रयोग गरेर विकासको काम गरिरहेको गाउँपालिकाले जनाएको छ । क्रमागत योनजाअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा पोखरी थप विस्तार तथा संरक्षणको काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । सम्झौताअनुसार विसं २०८० को चैत महिनासम्म पूर्णपमा सम्पन्न गर्ने गरी रु दुई करोड १९ लाख ९९ हजार दुई सय २४ मा काम भइरहेको उनको भनाइ थियो । यो काम थालनी भएको दोस्रो वर्ष हो । हालसम्म ४० प्रतिशत काम सकिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, “मन्त्रालयसँगको लागत साझेदारीमा पोखरी संरक्षणको काम भइरहेको छ । हालसम्म ४० प्रतिशत काम सकिएको छ । पोखरीे संरक्षणको काम तीव्रगतिमा गरिरहेका छौँ । विसं २०८० सम्ममा सक्ने सम्झौता छ ।”धरै मिहेनतपछि केन्द्रीय सरकारबाट बजेट विनियोजन भएपछि काम गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए ।
अहिले पोखरीलाई पर्खालले घेर्ने, वरिपरि पाँच मिटरको बगैँचा निर्माण गर्ने, बालबालिकाका लागि पार्क बनाउने, बीचमा पानीको फोहोरा ९माउटेण्ड फल्स० राख्ने र बोटिङ गर्न सक्ने गरी संरचना बनाइने उनले जानकारी गराए ।
“गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्धरूपमा लागेका छौँ”, अध्यक्ष राईले भने, “यहाँका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको डिपिआर बनाइसकेका छौँ तर स्थानीय सरकारलाई आएको बजेटबाट काम गर्न निकै समस्या छ । त्यसैले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर काम गरिरहेका छौँ । यस्ता क्षेत्रको विकासले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने हामीले आशा लिएका छौँ ।”
गाउँपालिकाको अर्को पर्यटकीयस्थल अरुणडाँडाको विकासका लागि पनि काम भइरहेको गाउँपालिकाले जनाएको छ । यस्ता क्षेत्रको विकास तथा प्रचार–प्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई बढाउने लक्ष्य लिइएको छ ।
यो पोखरी पर्यटकीय सम्भावना बोकेको गन्तव्य भए पनि ओझेलमा परेको छ । पोखरीको प्राकृतिक सुन्दरता अवलोकन गर्न आन्तरिक पर्यटकहरु पुग्न गरे पनि बाह्य पर्यटक भने कमै मात्र आउने गरेका छन् ।
परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने, दिनभर त्यतै आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामाकरण गरिएको स्थानीयवासीको कथन छ । पोखरी बनेदेखि नै पानी जुनसुकै खडेरीमा पनि सुकेको छैन । स्थानीय चन्द्रबहादुर खत्रीले भने, “एउटा धार्मिक महत्वको प्रसिद्ध पोखरी हो तर प्रचार नहुँदा छायाँमा परेको छ । गाउँपालिकाले यसको विकासका लागि काम थालनी गरेकामा हामी खुसी छौँ ।”
यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रेबजारसमेत लाग्ने गरेको छ । अहिले यो बजार पौवादुङमा गाउँपालिकाको मुख्य बजारका रूपमा विस्तार भएको छ । च्याङ्ग्रे घुम्न आउने जोकोहीको गन्तव्य नै यो पोखरी हो । विश्राम गर्ने, घुम्ने, डुल्ने, तस्वीर लिने, दृश्यावलोकनको भरपुर आनन्द उठाउन आन्तरिक पर्यटक त्यहाँ पुग्छन् ।
विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तालुको ठूलो जमघट हुन्छ । ऐतिहासिक र धार्मिक महत्वको पोखरीमा पर्यटन प्रवद्र्धन गर्नसके पर्यटन व्यवसायबाटै आर्थिक टेवा पुग्ने स्थानीयवासीको भनाइ थियो । स्थानीय लीला सुनारले भने, “यो महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र हो । यहाँ विभिन्न समयमा मेला लाग्छ । मानिसहरूको आवतजावत वृद्धि हुँदा व्यापार व्यवसायमासमेत टेवा पुग्छ ।” पोखरीमा बिहान, दिउँसो र साँझ फरक–फरक रङ देख्न सकिने स्थानीयवासीले बताए ।
पोखरीलाई विशेष आकर्षण दिएर पर्यटकको आवागमन बढाउनका लागि संरक्षणको काम थालिएको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिए । “यसको विकास तथा प्रचारमा गाउँपालिका लागिपरेको छ । उनले भने, “बृहत्तर विकासका लागि डिपिआरअनुसारको काम गर्छौँ । यसलाई जिल्लाको एक आर्कषण केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य छ ।”