वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ चतरास्थित सुनसरी–मोरङ सिंचाइ योजनाको नहरमा स्थानीय एक व्यक्तिको शव भेटिएको छ ।

शव वडा नं. २ पुनर्वास घर भएका ५४ वर्षीय विनोदकुमार काफ्लेको रहेको इलाका प्रहरी कार्यालय चतराका सइ विनोद आचार्यले बताए ।

शनिबार दिउँसो करिब साढे १ बजे नहरमा शव रहेको सूचना पाएपछि इप्रका चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्त तथा चतरा प्रहरीका सइ विनोद आचार्यको टोली घटनास्थल पुग्दा नहरको हिलोमा टाउको गाडिएको र शरीर बाहिर रहेको अवस्थामा शव भेटिएको सइ आचार्यले जानकारी दिए ।

घटनास्थलको मुचुल्का गरी शव छोरा दिनेश काफ्लेको साथमा पोष्टमार्टमका लागि धरानस्थित घोपा क्याम्प पठाइएको प्रहरीले जनाएको छ ।