सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा बसपार्क निर्माण गरिएको लामो समय बितिसक्दासमेत अझैसम्म सञ्चालनमा आएको छैन ।

उद्घाटन गरेको साढे तीन वर्ष बितिसक्दा  पनि बसपार्क सञ्चालनमा आउन नसकेको हो । कालिका कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको नवनिर्मित बसपार्कको २०७५ साल पुस २५ गते तत्कालीन उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए ।

कालिका कन्स्ट्रक्सनले २ वर्षमा निर्माण गर्ने लक्ष्य राखेकोमा निर्धारित समयभन्दा पहिले १० करोडको हाराहारी लागतमा इनरुवा बसपार्कको निर्माण सम्पन्न गरेको बताइएको थियो  ।

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगरद्वारा निर्मित उक्त बसपार्क सञ्चालनमा ल्याउन इनरुवा नगरपालिकाका निवर्तमान मेयर तथा हाल जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले पटक–पटक प्रयास गरे पनि सफल भएनन् । एकान्त स्थानमा निर्मित बसपार्क सञ्चालनमा आउन अझै कति समय लाग्ने भन्ने टुङ्गो छैन । सहरी विकास मन्त्रालयमार्फत् निर्मित इनरुवा बसपार्क पूर्वका जिल्लाहरूका बसपार्कमध्ये उत्कृष्ट भएको दाबी गरिँदै आएको छ ।

इनरुवा नगरपालिका वडा नं. ४ मा निर्माण गरिएको सुविधासम्पन्न बसपार्क सञ्चालनमा आउन नसकेपछि बसपार्कको प्रतीक्षालय, टिकट काउन्टरसहितका भित्तामा अनावश्यक कुरा लेखिने क्रम बढ्दो छ । खासगरी साँझको समयमा जाने युवायुवती तथा किशोरावस्थाका जोडीले बसपार्कको भित्तामा नाम, मोबाइल नम्बरसहित विभिन्न प्रकारका साङ्केतिक शब्द लेखेको देख्न सकिन्छ ।

बसपार्कमा केही दिनअघि भेटिएका एकजना युवाले नाम उल्लेख नगर्ने शर्तमा भने ‘दैनिक दर्जनौंको सङ्ख्यामा युवायुवती आउँछन्, केहीबेर रमाइलो गर्छन् अनि जान्छन् । मायाप्रेम गर्ने जोडी मात्रै नभई घुम्ने र फोटो खिच्ने उद्देश्यले समेत व्यक्तिहरू आउने गरेको उनले बताए । बसपार्कमा अनावश्यक कुरा लेख्नु गलत भएको उनले बताए । उनले भने, ‘के गर्नु, हामीले नलेख भन्दा मान्दैनन्,  साथीभाइमा झगडा गर्नु पनि भएन ।’

यता इनरुवा नगरपालिकाका नवनिर्वाचित मेयर केदार भण्डारीले भने आउँदो दसैंसम्ममा इनरुवा बसपार्क सञ्चालनमा ल्याउने दाबी गरे । दक्षिणवर्ती भेगलाई बबियाको बाटो हुँदै नवनिर्मित इनरुवा बसपार्कसँग जोडेर दसैंसम्म सञ्चालनमा ल्याउने उनको दाबी छ ।