राजनीति किन विकृत हुँदै गयो ? किन जवाफदेही हुन छाड्यो ? यस्ता प्रश्नहरू हाम्रा समाजमा धेरथोर रूपमा उठ्ने गरेका छन् । कुनै जमाना यस्तो पनि थियो, त्यसबेला राजनीतिलाई आदर्श मान्नेहरूको जमात थियो । त्यो बेला राजनीति कलुषित थिएन । त्यसकारण मान्छेले राजनीतिप्रति अगाध प्रेम गर्थे । हरेक नेतालाई विश्वास गर्थे । तर, आज अवस्था फरक छ । हरेक मान्छेहरू राजनीतिलाई घृणा गर्छन् भलै खुलेर भन्न सक्दैनन् । पछिल्लो स्थानीय तहको चुनावमा स्वतन्त्रबाट उठेका नागरिकलाई विश्वास गर्नु पनि यसैको उपज हो । राजनीतिक दलका नेताहरूले जे भने, त्यो गरेनन्, त्यसको ठीक उल्टो गरे । यसको ज्वलन्त उदाहरण प्रदेश १ को राजधानी रहेको विराटनगर महानगरपालिकालाई हेरे पुग्छ । चुनावी अभियानमा होमिरहँदा नागरिकका सामु सरकारी सवारी नचढ्ने वचनबद्धता गरेका नगर प्रमुख नागेश कोइरालाले त्यो वाचालाई तीन महिना नबित्दै भुलेका छन् । उपप्रमुख शिल्पा निराला कार्कीको त कुरै छाडौँ । उनले पद सम्हालेयता नै सवारी साधन प्रयोग गर्दै आइरहेकी छन् । चुनावी प्रतिबद्धतालाई चटक्कै भुलेर मनमौजी गर्ने शैली नेताहरूको पुरानै हो । अब यसमा कसले औंलो ठड्याउने ?
राजनीति आदर्श समाज निर्माणका लागि गरिन्छ । आदर्श समाजले त्यहाँका नागरिकलाई पनि आदर्श बन्नका लागि प्रेरित गर्छ । एउटा श्रेष्ठतम् समाज निर्माण हुनका लागि त्यहाँ बस्ने नागरिकको जति भूमिका हुन्छ, त्योभन्दा बढी भूमिका शासकको हुन्छ । शासकले आफू कस्तो हुने, कस्तो जीवनशैली अपनाउने ? भन्ने निर्धारण आफै गर्नुपर्छ । समाजलाई अग्रगमनतर्फ अगाडि बढाउनका लागि आफ्ना व्यक्तिगत इच्छा, आकाङ्क्षा र अभिलाषाहरू त्यागेर अगाडि बढ्नुपर्छ । समाजका लागि देन दिन सक्ने मान्छे नै राजनीतिमा योग्य व्यक्ति ठहरिन्छ । उसले मात्रै देश र नागरिकका लागि सोच्न सक्छ । तर, यहाँ त पाइला पाइलामा फाइदा देख्ने र फाइदा लुट्नेको साम्राज्य छ । यो साम्राज्य यसरी मौलाएको छ कि सावर्जनिक सम्पत्तिमाथिको दोहन जति गर्न सक्यो उति नै ऊ समाजमा आदर्श ठहरिन्छ । यस्तो अवस्थाबाट गुज्रिनुपर्ने नेपाली राजनीतिको कोर्ष अब कसरी अगाडि बढ्छ भन्ने आमचासो बढेको छ । नेपाली राजनीति यति दूषित भइसक्यो कि अब यसलाई सुधार गर्नु आवश्यक छ । त्यो सुधार जनताबाट मात्रै सम्भव छ । राजनीतिक ध्रुवीकरणमा जनता नलागी सत्यको पक्षमा लाग्न जरुरी छ । प्रजातन्त्र प्राप्तिको ७० औं वर्ष पूरा भइसक्दा पनि राजनीतिक दलहरूले आश्वासनका पोका बाँड्न छाडेका छैनन् । पुरानै खालको उनीहरूको शैलीप्रति अब जवाफ दिने बेला आउँदै छ ।
यहाँ उदाहरण विराटनगरका प्रमुख–उपप्रमुखको मात्रै हैन, सबैका सबै नेताहरू जनतालाई यसरी नै कुनै न कुनै रूपमा ढाँटेका छन्, छलेका छन् । कसैले गाडीका नाममा छलेका छन् । कसैले धनीपुर्जा दिने नाममा छलेका छन् । कसैले मल दिने नाममा छलेका छन् । अब धेरै भइसक्यो यस्ता कार्यबाट पाठ सिक्न जरुरी छ । हरेक नेता तथा कार्यकर्ताहरूको आश्वासनका पछाडि नलागी अबका चुनावमा ऐजेन्डा र मुद्दाका पछाडि लाग्न जरुरी छ । नेताहरूले जनतालाई कुनै न कुनै रूपमा ढाँटिरहेका हुन्छन् भन्ने कुरा नागेश कोइराला र शिल्पा निराला कार्कीको उदाहरणबाटै प्रष्ट हुन्छ । त्यसकारण अब हरेक नेपाली जनताले जो भोटिङ अधिकार प्राप्त हुँदै छन्, भएका छन् । उनीहरूले यस्ता ढाँट र छल गर्ने नेताहरूलाई पाठ सिकाउन जरुरी छ । अन्यथा फेरि पनि पानी धमिलो बनाएर माछा मार्ने चलनको अन्त्य हुन सक्दैन । त्यसतर्फ नेपाली जनता सचेत हुन आवश्यक छ ।