आलेखको शीर्षकमै ‘गाईजात्रे’ पदावली राख्नु पर्दा दुःख लागेको छ । यो मेरो ख्यालठट्टे बालहठ र रहर नभएर धरातलीय यथार्थताको उपज हो । यता चुनावी तालमेलको स्वार्थ के हो भन्ने सन्दर्भमा जानुभन्दा अगाडि सहयोग र स्वार्थबारे केही टिप्स लेख्दैछु । अन्यथा अपव्याख्या र अनर्थ नलगाइदिनु होला । सार्वभौमतः सहयोगको मूल्यभन्दा ठूलो वा गलत नियत वा स्वार्थ राखेर गरिएको सहयोग असली सहयोग हुँदैन । उदाहरणको लागि एउटा एकल अपाङ्ग महिलाको इज्जत लुट्ने नियत राखेर पसलबाट एक बोरा चामल काँधमा हालेर किचनसम्म पु¥याइदिने जवानको सहयोग साँचो सहयोग हुन सक्दैन । किनभने चामल ढुवानीको मूल्य र जवानको जवानी स्वार्थको मूल्य तुलना नै गर्न सकिन्न । यद्यपि साधारण अर्थमा चामलको बोरा घरमा पु¥याइदिनुलाई सहयोग नै भनिन्छ ।

त्यस्तै आप्mनो भावी रणनैतिक ठूला–ठूला स्वार्थसिद्धिको नियत राखेर आपद्–विपद्मा परेर बेहाल भएका पीडितहरूलाई उद्धार र राहत सहयोग गरिन्छ भने त्यो पनि रूपमा मानवीय सहयोग नै भए पनि वास्तविक राहत हुन सक्दैन । यो केवल पीडितहरूको दुःख, आवश्यकता र बाध्यताको कमलो भावनामा आफ्नो स्वार्थ सौदाबाजी गर्ने रणनीति मात्र बन्न पुग्दछ । दुई केजी दाल,चामलको निरीह पोकामाथि बीस–बाईस जोडी हातहरू क्यामेरामा अटाउँदै सार्वजनिक गरेर स्वार्थको जग हाल्नुपर्ने हाम्रो सामाजिक संस्कृतिले कहाँ पु¥याउने हो, यसै भन्न सकिन्न । वस्तुतः सहयोग र सेवाको पछाडि कुनै स्वार्थ हुनु हुँदैन भन्ने हो । तर, हाम्रो समाजमा अरू त छाडिदिनुस् मरेको लाशमा पनि स्वार्थ सिद्धिको कडी खोज्ने गरिन्छ, जुन लाजमर्दो र घिनलाग्दो विषय हो ।

अर्थात् मैले यो प्रसङ्ग किन जोडेँ भने हाम्रो समाज स्वार्थै स्वार्थको जालोले जेलिएको छ । यहाँ निःस्वार्थ भन्ने कुनै वस्तु नै छैन । सहयोग, सद्भाव, शुभकामना र बधाईहरू पनि त्योभन्दा ठूलो स्वार्थको आधार भए अझ बढी पाउने गर्दछ । मुद्दामा भन्दा स्वार्थमा सेवा र सहयोग गर्ने गरिन्छ । स्वार्थगत योजनामा गरिने सेवा र प्रशंसा ढोङ्गी हुन्छ । यो भावनात्मक ब्ल्याकमेलिङ गर्ने अश्त्र मात्र बन्न पुग्दछ । यहाँसम्म कि सामाजिक सञ्जालहरूमा आउने लाइक र कमेन्टहरू पनि ठूलो रणनैतिक स्वार्थलाई बन्धकी राखेर मात्र आउने गर्दछ । यो हाम्रो स्वार्थगत सामाजिक मनोविज्ञानको विकृत र विडम्बनापूर्ण चरित्र हो । रूपमा सेवा र सहयोग भनिए पनि सारमा त्यो सबै स्वार्थगत नियतद्वारा निर्देशित हुन्छ । यस्तो वस्तुगत अर्थराजनीतिक धरातलमा राजनैतिक पार्टी र नेताहरूबीच हुने सबैखाले उठबस, सहमति, सम्झौता र तालमेलहरू पनि निहीत स्वार्थको कक्षभन्दा बाहिर जान सक्दैन । आज हरेक पार्टी र यसका नेताहरूले जोसँग पनि चुनावी तालमेल गर्न तयार हुनुको अन्तर्यमा रूपमा मिलेर जाने सकारात्मक स्वार्थ देखिए पनि सारमा चुनाव जित्ने स्वार्थ लुकेको हुन्छ । 

चुुनावको मिति घोषणा भएसँगै चुनावी चहल–पहल बढेको छ । सिंहदरबारदेखि चिया पसलसम्म चुनावी चर्चा छाएको छ । यो कोणबाट र त्यो कोणबाट चुनावलाई नापतौल गर्ने काम भइरहेको छ । पार्टी, यसका नेता र स्वतन्त्रहरूप्रति अन्दाज र नजरअन्दाज दुवै गरिँदैछ । यही पृष्ठभूमिमा विभिन्न राजनैतिक पार्टी र यसका नेताहरू आ–आप्mनो स्वार्थमा दौडधुप गरिरहेका छन् । चुनावी गठबन्धन र तालमेलको लागि तीव्ररूपमा चोचो–मोचो मिलान गर्ने टिपन–टापन कसरतमा छन् । मुलुक, समुदाय र पार्टीभन्दा पनि कसरी आप्mनो व्यक्तिगत निर्वाचन क्षेत्र सुरक्षित गर्ने अनि चुनाव जित्ने भन्नेमा सबै लागिपरेका छन् । जसरी पनि आफूले चुनाव जित्नै पर्ने निरपेक्ष स्वार्थमा प्राकृतिक र अप्राकृतिक, मिल्ने र नमिल्ने सबैसँग तालमेलको कुरा गरिरहेका छन् । प्रायः सबै पार्टीका शीर्षनेताहरूदेखि अन्य सबै तहका नेताहरू आप्mनो जित सुनिश्चितताको खोजीमा भौंतारिरहेका छन् । उनीहरू स्थायित्वको लागि तालमेल भन्दै बर्बराइरहेका छन् । यसको लागि उनीहरूले सबैखाले षड्यन्त्र, जालझेल र तिकडमबाजीजन्य अस्त्रहरू उपयोग गर्न पनि पछि परेका छैनन् । यो हाम्रो अर्थराजनीतिक एवम् सामाजिक विशेषता बनिसकेको छ, जुन नितान्त गलत हो ।

वास्तवमा चुनावी गठबन्धन र तालमेल सैद्धान्तिक, राजनैतिक, वैचारिक, कार्यक्रमिक, उद्देश्यगत र गन्तव्यगत एजेण्डाहरूमा हुनुपर्ने हो । यो राष्ट्रको हित, जनताका हित, राष्ट्रनिर्माण, विकास, समृद्धि र एकताको लागि हुनुपर्दछ । चुनावी तालमेल न्यूनतम्रूपमा राजनैतिक एजेण्डाहरूमा खोज्नु पर्ने हो । राजनैतिक मुद्दा र कार्यक्रम मिल्नेहरूबीच हुनुपर्ने हो । एउटै लक्ष्य उद्देश्य लिएर अघि बढेको पार्टी र नेताहरूबीच गर्नुपर्ने हो । अर्थात् राजनैतिक बाटो र गन्तव्य मिल्नेहरूसँग हुनुपर्ने हो । तर, पछिल्लो राष्ट्रिय राजनीतिक परिदृश्यमा यस्तो हर्कत र बहस भएको देखिँदैन । राजनैतिक मुद्दाहरूमा छलफल भएको छैन । यो केवल जसरी पनि चुनाव जित्ने नाममा जोसँग पनि गठबन्धन गर्ने दाउमा देखिन्छ । नेताहरू न्यूनतम्रूपमा दलीय स्वार्थगत हैसियत पनि नराखी नितान्त आत्मकेन्द्रित व्यक्तिवादी स्वार्थमा दौडिरहेका छन् । निरपेक्ष स्वार्थमा सिङ्गो समाज, समुदाय, पार्टी र व्यक्ति फसिरहेको छ । राजनैतिक वृत्त यस्तै निहीत स्वार्थको चङ्गुल वा चौघेरामा जकडिएको छ । सिङ्गो सामाजिक भाष्य नै स्वार्थको सेरोफेरोमा घुमिरहेको छ । हरेक गतिविधि र उठबसहरू स्वार्थी हर्कतहरूद्वारा निर्देशित रहेको छ, जसले उन्नत समाज पनि निर्माण गर्न सक्दैन भने सही गन्तव्यमा पनि पु¥याउँदैन ।

खास गरेर भन्ने हो भने आज हाम्रो समाजमा स्वार्थगत रणनैतिक आपराधिक  प्रवृत्ति उकालो लाग्दो छ । स्वार्थले भ¥याङ उक्लिरहेको छ, पहाड चढिरहेको छ । अनि डाँडा छिचोलिरहेको छ । यसले स्वार्थगत पारोको भारीलाई कुन चुचुरामा पुगेर बिसाउने हो, यसै भन्न सकिने वस्तुगत आधार छैन । यता सेवा, समर्पण, त्याग र सहयोगी मनहरू ओरालो लाग्दो छन् । सरल, इमान्दार र विवेकशील आत्महरू कम्जोर हुँदै गएका छन् । अर्थात् सेवा र सहयोगी भावनाको कलिलो पालुवामाथि स्वार्थको धारिलो धारले प्रहार गरिरहेको छ । सेवालाई स्वार्थको जालोले बेरिरहेको छ । यसरी स्वार्थले राज गर्नु भनेको समाज आदर्श, मूल्य र विधिमा नचल्नु हो । सिद्धान्त, विचारद्वारा निर्देशित नहुनु हो । त्यो भनेको मुलुक गोलचक्करमा फस्नु हो अनि समाज झनै डरलाग्दो स्वार्थहरूको जालोमा जेलिनु हो ।

मूलतः स्वार्थले नेतृत्व गरिरहेको समाजमा गर्भाधानदेखि नै स्वार्थको खेल वा प्रक्रिया सुरु हुने गर्दछ । स्वार्थकै सेरोफेरोमा जन्मन्छ, स्वार्थमै हुर्कन्छ, स्वार्थमै अध्ययन गर्दछ, स्वार्थमै जागिर खान्छ, राजनीति गर्छ, व्यापार गर्छ, व्यवसाय गर्छ अनि सबैखाले स्वार्थजन्य क्रियाकलापहरू गर्दछ । आज यस्तै अनगिन्ती स्वार्थहरूमध्ये राजनीतिक स्वार्थ सबैको गुरुत्वकेन्द्रमा रहेको छ । यसैको परिणामस्वरूप अधिकांश मान्छेहरू राजनीतिप्रति आकर्षित भइरहेको देखिन्छ । सतहीरूपबाट विश्लेषण गर्दा यो सुखद् पक्ष हो । म पनि तिमीजस्तै राजनीति गरेर देश वा समाजको नेतृत्व गर्न सक्छु भन्ने साहस सबैमा जाग्नु सराहनीय कुरा हो । तर, गहिराइमा जाँदा त्यसभित्र अन्तरनिहीत उसको स्वार्थको पारो हेर्ने हो भने हाम्रो शालीन, सरल, सुलभ र बनिबनाउ सोचाइमा आघात पुग्ने देखिन्छ ।

यो आलेख स्वार्थको सिधा र घुमाउरो अनि सतही र भित्री रूपहरूको सन्दर्भमा केन्द्रित हुनाले सोही विषयमा बढी चर्चा गरिएको छ । आखिर स्वार्थको पारो तन्काउँदा र तन्किँदा उत्तर र दक्षिण अनि पूर्व र पश्चिम एकै ठाउँ हुँदो रहेछ । स्वार्थ पेचिलो नहुँदो हो त यो सम्भव हुन्थेन । आज राजनैतिक पार्टी र यसका नेताहरू यही पेचिलो स्वार्थकै कारण विचार, राजनीति र एजेण्डाहरूमा छेउटुप्पै नमिल्ने भए पनि चुनावी तालमेल गर्न खोजिरहेका छन् । तालमेलभित्र अन्तरनिहीत स्वार्थ र उद्देश्यसम्बन्धी प्रश्न सोध्ने हो भने नेताहरूले वस्तुवादी र चित्तबुभ्mदो जवाफ दिन सक्दैनन् । उनीहरूले देश र जनताको लागि हाम्रो तालमेल हो भन्छन् भने त्यो ‘गाईजात्रे’ उत्तर मात्र हुन्छ । यसकारण आगामी आम निर्वाचनमा गरिने मोर्चाबन्दीहरू ‘गाईजात्रे’ हैसियतमा मात्र सीमित नहोउन् । यो हामी सबैको सदिच्छा र सद्भावपूर्ण भावना हो । कार्यान्वयन गर्ने पार्टी र नेताहरूले हो ।

त्यसैले सिद्धान्त, विचार र राजनीतिक मेलमा तालमेल खोज्ने गरौं । एजेण्डाको मेलमा तालमेल खोजौं । देश र जनताका हित र स्वार्थको मेलमा तालमेल खोजौं । देश निर्माणको योजनागत अभियानको मेलमा तालमेल खोजौं । एउटै बाटो, गन्तव्य र दृष्टिकोणको मेलमा तालमेल खोजौं । समग्र दीर्घकालीन राजनीतिक निकासको मेलमा तालमेल खोजौं । विकास र समृद्धिको मेलमा तालमेल खोजौं । समाजवाद निर्माणको मेलमा तालमेल खोजौं । यही उद्देश्यहरू प्राप्तिको लागि हामी बीचको तालमेल भनेर प्रष्टै भाषामा जनतालाई जाहेर गरौं । तब जनताको साथ, सहयोग र विश्वासका साथ हामी अघि बढ्न सक्नेछौं ।

तसर्थ, समस्या समाधन र निकासको उद्देश्य र सेवाभावसहितको राजनैतिक पहलकदमी लिनको लागि गरिने तालमेल हो भने सबैले सकारात्मक सोचसँगै सकेको सहयोग गरौं । होइन, व्यक्तिगत स्वार्थको भारीले भरिएको ‘गाईजात्रे’ तालमेलमा मात्रै निर्भर हुने हो भने उपभोगवादी सांस्कृतिक स्कुलिङमा हुर्कंदै गरेका ती तमाम युवा मतहरू गलत ठाउँमा अभिव्यक्त हुने खतरा देखिन्छ । यद्यपि विचलित भएका मतबाट आउने परिणामहरूले पनि समस्याको सही व्यवस्थापन गर्ने हैसियत राख्दैन । तब हामी सबै अराजकता र अस्तव्यस्तताको दुष्चक्रमा फस्नेछौं । यसमा हामी सबै गम्भीर बन्नुपर्ने देखिन्छ ।