धरान । धरानका यातायात व्यवसायी सरोज श्रेष्ठले पाँच दिनअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे, ‘चारकोसे जङ्गलको ६ लेन सडकको निर्माण कार्य ८ महिनादेखि बन्द गरेर ठेकेदार सुतेर बसेको छ । सरोकारवाला, मिडियाकर्मी सबै किन मौन ?’
उनले स्टाटस लेखेपश्चात् त्यही दिन धरानका पर्यटन व्यवसायी कृष्ण साहले पनि लेखे, ‘आज सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठज्यूले तरहरादेखि धरानको निर्माणाधीन सडकबारेमा आफ्नो आक्रोस लेख्नुभएछ । म दैनिक (शनिबार बाहेक) यो सडकमा यात्रा गर्छु । यात्रा गर्दैपिच्छे स्थानीयदेखि सङ्घका नेतालाई दैनिक मनमनै आक्रोस पोख्छु ।’
धरानका दुई फरक व्यवसायीहरूले निर्माणाधीन सडकको अवस्थाप्रति आक्रोस पोखेको यी प्रतिनिधि उदाहरण मात्रै हुन् । यो सडक भएर दैनिक गुज्रिनेहरूले उस्तै गरी सत्तोसराप गर्ने गरेका छन् । तर, नियामक निकाय अर्थात् ६ लेन सडक आयोजना र ठेक्का पाएका कम्पनीहरूले भने चासो दिएको पाइँदैन । सुनसरीको इटहरी–१९ तरहरादेखि माथि धरानको नाकासम्म करिब ११ किलोमिटर सडक निर्माण हुन थालेको करिब दुई वर्ष पुग्न लागेको छ । आयोजनासँग तीन वर्षको सम्झौता भएको हो । त्यसअनुसार अझै एक वर्ष समय छ । वैकल्पिक सडक नहुँदा जनताले अचाक्ली सास्ती पाएका छन् ।
११ किलोमिटर सडकका लागि रौता कन्स्ट्रक्सन र हेमदोङ ठोक्कर एन्ड प्यासिफिक जेभीले ठेक्का पाएको हो । तरहरादेखि सेउती खोलाको पुलसम्मको करिब ७ किलोमिटर हेमदोङले ठेक्का पाएको हो भने सेउती पुलदेखि ४ दशमलव २ किलोमिटर रौताले ठेक्का पाएको छ । दुवै ठेकेदार कम्पनीले २०७७ असार मसान्तमा ठेक्का सम्झौता गरेका हुन् ।
तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको हो । रौता कन्स्ट्रक्सनका सञ्चालक धीरेन्द्र दाहालले बिटुमिन, डिजेलको मूल्य आकासिएका कारणले मूल्य घटबढ होला कि भन्ने आशामा आफूहरूले केही दिन पर्खिएको बताए । उनले भने, ‘ठेक्का गर्दा प्रतिकेजी ७० रुपैयाँ केजी बिटुमिन पथ्र्यो । अहिले बढेर १ सय १० पुगेको छ । ८० रुपैयाँको डिजेल दोब्बरभन्दा बढेको छ । मूल्यमा केही घटबढ हुन्छ कि भनेर पर्खिएका हौँ ।’
सबैभन्दा बढी चिन्ता यो सडक भएर दैनिक गुज्रिनेहरूलाई छ । धुलोले सास्ती र दुर्घटना हुने सम्भावना प्रबल छ । यसकारण पनि अहिले सबैका लागि टाउको दुखाइको विषय बनेको छ । चलचित्रकर्मी अरुण प्रधानले एक दिनअघि फेसबुकमा स्टाटस लेखे, ‘धरान–तरहरा सडक–खण्डमा जनताले धेरै दुःख पाइरहेका छन्, ठेकेदारले कुनै जनप्रतिनिधिलाई टेरेन, अब श्रमदान त्यतै सुरु गरेर सडक निर्माण सम्पन्न गर्नु पर्लाजस्तो छ ।
नत्र त कहिले निर्माण सम्पन्न नहुने भयो यो सडक । यतातिर ध्यानाकर्षण होस् सम्बन्धित निकायको ।’ यता रौता कन्स्ट्रक्सनका सञ्चालक दाहाल भने आगामी मङ्सिरसम्ममा कालोपत्रे पूरा गर्ने दाबी गर्छन् । उनी भन्छन्, ‘बेस हालिसकेको छ । बिटुमिन झार्दै छौँ, दशैँअगाडि नै काम सुरु हुन्छ । जनताले सास्ती पाए । निर्माण कार्य केही समयलाई मात्रै स्थगित गरिएको हो । मङ्सिरसम्ममा कालोपत्रे सक्ने भन्ने छ ।’
यता यस विषयमा बुझ्नका लागि हेमदोङ ठोक्कर एन्ड प्यासिफिक जेभीका सम्पर्कव्यक्तिलाई बारम्बार फोन सक्पर्क गरे पनि सम्पर्क हुन सकेन ।