धरान । धरान उपमहानगरपालिका वडा नंं. ३ स्थित चिनियाँ चोकमा कृष्ण जन्माष्टमी भव्य रूपमा मनाइने भएको छ ।

स्थानीयले श्रीकृष्ण जन्माष्टमी समारोह मूल आयोजक समिति २०७९ गठन गरेर आज (बिहीबार)बाट लाखे नाचसहित कृष्ण जन्माष्टमी मनाउने भएका हुन् । युवा साथी धरान–३ को सहकार्यमा लाखे नाच तथा कृष्ण जन्माष्टमी मनाउन लागिएको हो ।

आयोजक समितिका अनुसार आज साँझ दफा भजन तथा लाखे नाच प्रदर्शन गरिनेछ । त्यस्तै शुक्रबार लाखे नाचसँगै आरती र साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिनेछ भने शनिबार भाद्र ४ गते शनिबार दिउँसो २ बजेदेखि श्रीकृष्ण रथयात्रा गरिने आयोजकले जनाएको छ ।

रथयात्रा श्रीकृष्ण मन्दिर, गल्लीटोल, जल्पारोड, सदनरोड, श्रीपथ, चिनियाँचोक, सिंहदेवी, छाताचोक, भानुचोक, माछाभौडी, कैलाशपथ हुँदै पुनः मन्दिर फर्किने र साँझ ६ बजेदेखि राति ९ बजेसम्म लाखे विसर्जन कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

स्थानीयका अनुसार नेपाली संस्कृतिमा प्रख्यात मुकुन्डो नृत्य धरानमा सर्वप्रथम पुरानोबजार धरान–३ बाट सुरुवात भएको थियो । लाखेलाई विधिवत् पूजनकार्य गरी सुरुवात गरेपछि कृष्ण जन्माष्टमीको भोलिपल्ट बजार परिक्रमापश्चात् श्रीकृष्ण मन्दिर धरान–३ मा विसर्जन गर्ने परम्परा धेरै पहिलेदेखि आजसम्म  चलिआएको स्थानीयको भनाइ छ ।