सङ्खुवासभा । अपर अरुण जलविद्युत् आयोजनाको अति प्रभावित क्षेत्रको मुआब्जा दर तोकिएको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावट क्षमताको जलविद्युत्आयोजना क्षेत्रमा फरक–फरक दर कायम गरिएको छ । गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसको जग्गाको मुआब्जा दर निर्धारण गरेको हो ।
उत्तर–दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिनको प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा निर्धारण गरेको छ । कोसी राजमार्गले छोएको तर, बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख रुपैयाँ निर्धारण गरेको हो ।
त्यस्तै हटिया–८, ९ र चेपुवा–१ को अलँैंची बालीसहितको जग्गा प्रतिरोपनी नौ लाख ५० हजार र चेपुवा–१, हटिया–८ र ९, पावाखोला–३ का अलैँची बाली नभएको पाखा बारीको प्रतिरोपनी सात लाख रुपैयाँ कायम गरिएको मुआब्जा निर्धारण समितिको संयोजक प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।
जग्गाको अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको छ । नेपाल सरकारले नै निर्माण गर्ने गरी अघि सारिएको यो आयोजनाको लागि भोटखोलाका दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिने भएको हो ।
सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले निर्माण गर्ने आयोजनाको दुई खर्बभन्दा बढी लागत रहेको छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ भने ६ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैङ्क तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले करिब ६८ प्रतिशत लगानी गर्ने भएको छ । आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नं. २ र ४ मा हुनेछ ।