मोरङ । विराटनगर महानगरपालिकाले अनुगनमलाई तीव्रता दिएको छ ।

कार्यालयमा कर्मचारी नभेटिने, भेटिए पनि छिटोछरितो रूपमा काम नगर्ने जनगुनासो आएपछि महानगरका मातहतका कार्यालयको अनुगमन गरिएको हो ।

महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बिहीबार वडा कार्यालय र शिक्षा महाशाखाको अनुगमन गरेकी छन् । उपप्रमुख कार्कीले ७ र ८ नम्बर वडा कार्यालयको अनुगमन गर्ने क्रममा कर्मचारी एकै स्थानमा बसेर गफिएको अवस्थामा भेटेकी थिइन् । यस्तै कर्मचारी नभएको कोठामा पङ्खा र बत्तीसमेत खुल्ला गरेको अवस्थामा भेटिएको उपप्रमुख कार्कीले जानकारी दिइन् ।

त्यस्ता कर्मचारीहरूलाई सचेत गराएर छाडिएको छ । उनले जनताको कामलाई चुस्तदुरुस्त बनाउन कर्मचारीहरूलाई निर्देशनसमेत दिएको बताइन् ।

बिहीबार नै सरस्वती टोलमा रहेको शिक्षा महाशाखाको समेत अनुगमन गरिएको छ । उपप्रमुख कार्कीले तीनवटै कार्यालयको हाजिरी पुस्तिकासमेत जाँच गरेकी थिइन् । केही दिनअघि महानगर प्रमुख नागेश कोइरालाले वडानम्बर १५ र रानी स्वास्थ्य चौकीको अनुगमन गरेका थिए ।