धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रत्येक वर्ष आर्थिक दबाव बढ्दो रहेको जारी श्वेतपत्रले देखाएको छ । एकातिर महालेखा परीक्षकमा हरेक वर्ष बीपी प्रतिष्ठानको बेरुजु बढ्दो छ । अर्कातिर हालै नियुक्त भएका रजिष्ट्रार सूर्य सङ्ग्रौलाले सार्वजनिक गरेको स्वेतपत्रमा बर्सेनि घाटा व्यहोर्नुपरेको तथ्य सार्वजनिक गरेका छन् ।
उनले सार्वजनिक गरेको श्वेतपत्रमा आर्थिक वर्ष २०७८/०७९ मा ४१ करोड रुपैयाँ ऋणात्मक अर्थात् घाटा भएको जनाएका छन् । यता महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ मा ४४ करोड ३३ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको छ । त्यस्तै ५८ औं प्रतिवेदनमा एक अर्ब ५५ करोड ५२ लाख ९६ हजार रुपैयाँ बेरुजु देखिएको छ । एकातिर बेरुजु, अर्कोतिर घाटाले बीपी प्रतिष्ठान बर्सेनि आर्थिक दबावमा परिरहेको हो ।
आर्थिक दबावलाई विश्वव्यापी कोभिडका कारण बिरामी भर्ना दर कम हुनु र विद्यार्थी भर्ना नहुनुलाई कारण मानिएको छ । स्वेतपत्रमा लेखिएको छ, ‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को प्रभावले बिरामीको चाप घट्न गएको र एक शैक्षिक सत्रको विद्यार्थी भर्ना नै हुन नसकेको कारण विगत २ वर्षदेखि प्रतिष्ठानको आम्दानी १ अर्ब रुपैयाँभन्दा बढीले घट्न गएको व्यहोरासमेत उजागर गर्न चाहन्छु ।’
बीपीबारे जानकारहरू भने प्रतिष्ठानमा बर्सेनि घाटा हुनु र डुब्ने अवस्थामा पुग्नुको पछाडिको कारण भ्रष्टाचार र अनियमिमतालाई नै मान्छन् । भ्रष्टाचार तथा अनियमिततालाई नियन्त्रण गर्ने हो भने धेरै समस्या हल भएर जाने उनीहरूको ठहर छ ।
बीपी प्रतिष्ठानबारे जानकार अर्थविज्ञ डा. राजेन्द्र शर्मा भन्छन्, ‘बीपीमा अनियन्त्रित तरिकाले खर्च हुने गरेको छ । प्रशासनिक खर्च पनि अत्यधिक छ । त्यहाँ नियन्त्रण गर्न नसकिने अन्य भ्रष्टाचारहरू पनि छन् । भ्रष्टाचार नियन्त्रण गर्ने हो भने आधा समस्या हल हुन्छ ।’ बीपी प्रतिष्ठानको भ्रष्टाचार र अनियमितताकै कारण पनि बीपी थिलथिलो बनेको छ ।
आर्थिक रूपमा टाट पल्टिन लागेको अवस्था छ । कोरोना महामारीभन्दा अगाडिसम्म धनात्मक रहेको बीपी कोरोनापश्चात् भने एकाएक ऋणात्मक अर्थात् घाटामा गइरहेको छ । श्वेतपत्रमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०७५/०७६ मा खर्च कटौती गरेर पनि ५८ करोड ६६ लाख रुपैयाँ बचत भएको छ । जब कि त्यस पछिका हरेक आर्थिक वर्षमा २९ करोड ४३ लाख, ८१ करोड ४३ लाख र ४१ करोड रुपैयाँ ऋणात्मक रहेको श्वेतपत्रमा जनाइएको छ ।
यो आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ र ०७८/०७९ को तथ्याङ्क हो । बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भन्छन्, ‘कुरा नबुझेर टाट पल्टियो भन्छन् । त्यही वास्तविकता बुझाउन श्वेतपत्र जारी गरिदिएको हो ।’ २०७९ साउन महिनामा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको नियमित तलब भत्ता, अन्य सञ्चालन खर्च एवम् विगतको दायित्व गरी कुल १ अर्ब ४१ करोड बराबर रकम घाटा रहेको छ ।
हरेक वर्ष घाटामा गइरहेको प्रतिष्ठान जनकपुर चुरोट काराखाना हुने सम्भावना रहेको भन्दै बेला बेलामा बीपी प्रतिष्ठानकै चिकित्सकहरूले चिन्ता र चासो व्यक्त गर्ने गरेका छन् । खर्चलाई नियन्त्रण गर्ने र शैक्षिक कोटा बढाएर जाने हो भने पक्कै पनि बीपी प्रतिष्ठान फेरि ब्यूँतिन सक्ने अनुमान अर्थविज्ञहरूको छ । अर्थविज्ञ डा. शर्मा भन्छन्, ‘आम्दानी बढाउन नसकिने भन्ने होइन । फजुल खर्चलाई नियन्त्रण गर्नुपर्छ । आफ्ना सम्पत्ति जो आम्दानी लिन नसकेर वर्थलेस भएका छन्, त्यसलाई प्रयोगमा ल्याउनुपर्छ । सरकारी कोटा बढाएर आम्दानी बढाउन सकिन्छ । त्यसका लागि सरकारसँग कोटा माग गर्नुपर्छ ।’
तर, श्वेतपत्रलाई नजिकबाट नियाल्ने हो भने सरकारले हरेक वर्ष कोटा कटौती गरिदिएको उल्लेख गरेको छ । श्वेतपत्रमा लेखिएको छ, ‘शैक्षिक शत्र २०१९ देखि चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी शैक्षिक कार्यक्रमको सिट सङ्ख्या तथा शुल्कसमेत न्यूनरूपमा तोकी निर्धारण गर्नाले र प्रतिष्ठानमा आउने विदेशी विद्यार्थीहरूको सिट विगतको तुलनामा अति न्यून तोकिदिनाले प्रतिष्ठानको आम्दानी एक्कासि घट्न गयो ।’
बीपी प्रतिष्ठानका उपकुलपति डा. गिरी बीपी प्रतिष्ठान यो अवस्थामा आउनुका पछाडि कोरोनासँगै चिकित्सा शिक्षा आयोगका कारण विदेशी विद्यार्थी तथा नेपाली विद्यार्थीको कटौती मुख्य कारण रहेको बताउँछन् । ‘युजीमा ४० प्रतिशत र पिजीमा ३३ प्रतिशत विदेशी विद्यार्थीहरूको कोटा हामीसँग थियो, आज ८–१० प्रतिशतमा सीमित गरिदियो’ उनले भने, ‘एमबीबीएसको कोटा पनि खोसियो । एउटा सेसनमा १ सय ५० विद्यार्थी पढाउन पाउनुपर्छ भन्ने हाम्रो माग हो । विद्यार्थीबाट मात्रै एक अर्ब कमाइ हुन्थ्यो ।’ आर्थिक दबाव पर्नुलाई कोरोना महामारीका कारण पनि भएको उनी बताउँछन् ।
सुधारको खाँचो
बीपी प्रतिष्ठान धरानको मात्रै गरिमा होइन, यो देशकै शान पनि हो । यसलाई अक्षुण राख्नका लागि सबै तह र तप्काले सहयोग गर्नुपर्ने हालै नियुक्त भएका रजिष्ट्रारले आशय व्यक्त गरेका छन् । उनले जारी श्वेतपत्रमा लेखेका छन्, ‘विगतमा जे भए पनि अब मिलेर प्रतिष्ठान जोगाउनुको विकल्प नरहेको र यो प्रतिष्ठान हामी सबै मिलेर मात्रै जोगाउन सक्छौं भन्ने हरेक व्यक्तिले सोच्नु आजको अपरिहार्य आवश्यकता रहेको व्यहोरासमेत सबैमा अपिल गर्न चाहन्छु ।’
बीपीप्रति चासो र चिन्ता व्यक्त गर्दै आएका डा. शर्मा भन्छन्, ‘प्रतिष्ठानका पदाधिकारीहरूमा इच्छाशक्ति भयो भने गर्न सक्छन् । थैली नबुझाई प्रतिष्ठानमा नियुक्त हुने भने धेरै सुधार गर्न सकिन्छ । तर, थैली बुझाउने गरेको आरोप व्याप्त छ । त्यो नै मुख्य जड हो । यसलाई निमिट्यान्न नपारिञ्जेलसम्म समस्या समाधान हुँदैन ।’ धरानका बुद्धिजीवी हरि दाहालले बीपी प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरूको सम्मान गर्दै उपकुलपति र रजिष्ट्रारहरू गैरराजनीतिक क्षेत्रबाट नियुक्त गरिनुपर्ने बताए । ‘अहस्तक्षेपको नीति अपनाएर अगाडि बढ्नुपर्छ । गैर राजनीतिक क्षेत्रबाट भिसी र रजिष्ट्रार नियुक्त हुनुपर्छ’ उनले भने, ‘अनि मात्रै बीपी प्रतिष्ठानमा सुधार हुनसक्छ ।’
बीपी प्रतिष्ठानका उपकुलपति डा. गिरीले प्रतिष्ठानको आर्थिक सुधारदेखि अन्य सुधारका लागि सरकारसँग पहल गर्ने बताए । बीपीलाई सरकारले दिँदै आएको कोटा र विदेशी विद्यार्थीको कोटाका लागि पहल भइरहेको उनको भनाइ छ । ‘सरकारलाई चाँडै नै ध्यानाकर्षण गराउँदै छौँ’–उनले भने ।