धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि आन्दोलनरत हामी नेपाल नेतृत्वको सेभ घोपा अभियानकाे सडक सडक आन्दोलन आज समापन गरिने भएको छ ।
हामी नेपालका अध्यक्ष सुधन गुरुङका अनुसार प्रतिष्ठानको सुधारकालागि ३२ वटा मागसहित ५ महिना देखिको आन्दोलन आज अपराह्न ५ बजे स्वास्थ्य मन्त्री भवानी खापुङले सम्बोधन गरेपछि समापन गरिने भएको हो ।
गुरुङका अनुसार सेभ घोपा अभियानले प्रतिष्ठान सुधारका लागि अघि सारेका अधिकांश मागहरू पुरा भएको र दीर्घकालीन रूपमा हुनुपर्ने सुधारका कामहरूमा नीतिगत समस्याका कार तत्काल सम्भव नभए पनि प्रक्रियाहरू अघि बढिसकेकोले दैनिक हुने आन्दोलनलाई समापन गरिएको हो ।
गुरुङले भने " प्रतिष्ठानले गर्नुपर्ने सुधारका कामहरू भएका छन् । हामीले माग गरेको सम्पत्ति छानबिनका कुरा अख्तियार अनुसन्धान आयोगले गर्ने हो । सामान खरिद, भवन निर्माण प्रक्रियाका कुराको छानबिनका लागि प्रक्रिया अघि बढेको छ । सरकारबाट तत्काल गर्ने कामहरू भएका छन् । दीर्घकालीन कामका लागि प्रक्रियाहरू अघि बढेका छन् । त्यस कारण दैनिक हुने आन्दोलनलाई रोकेका हौँ ।"
गुरुङले दैनिक हुने आन्दोलनलाई समापन गरिएको भए पनि प्रक्रियागत सुधारका निरीक्षण समिति गठन गरी हस्तक्षेप रहित निरीक्षण गरिने बताएका छन् ।
कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै सेभ घोपा अभियानले साउन २९ गतेदेखि राजधानीमा आमरण अनसन बस्ने घोषणासमेत गरेको थियो । स्वास्थमन्त्रीले मागहरूबारे गम्भीरतापूर्वक लिएको जानकारी गरेपछि स्थगित गरिएको थियो । सोही समझदारी अनुसार स्वास्थ्य मन्त्री खापुङ आएर आन्दोलनलाई सम्बोधन गर्ने गुरुङले जानकारी दिए ।