धनकुटा । श्रीकृष्ण जन्माष्टमीको अवसरमा त्रिवेणी नाट्य वराह डान्स सेन्टर धनकुटाको आयोजनामा शुक्रबार साँझ विविध कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा करिब रातको ९.३० बजे स्टेजमा उदाएकी राष्ट्रिय कलाकार मेचु धिमालले १ घण्टाभन्दा बढी धनकुटे दर्शकलाई दर्जनौं गीत सङगीत पस्किएर नचाइन् । सुरुमा मेचुले भ्वाइस अफ नेपालमा गाएका केही गीतहरू गाइन् भने पछि आफ्नै स्वरका गीतहरू दर्शकमाझ पस्किएर मनोरञ्जन दिलाइन् ।

मेचुले आकासैमा चिल हो कि बेसारा, दुई दिन माया लाइदिउँ न के छ र ?, कलको पानी कलल, मोती हो कि, मायालुको मुहार झलल, गाग्रीको पानी छल्कियो जवानी, को हो तिमी, को हो म ?, पूर्वकी रानी घुम्न जाउँ रानी जस्ता आधा दर्जनभन्दा बढी गीतसङ्गीत पस्किएकी थिइन् ।

करिब रातको ११ बजेसम्म मेचुले धनकुटेली दर्शकलाई धनकुटा–७ स्थित त्रिवेणी स्कुलको प्राङ्गणमा भेला भएका हजारौं दर्शकहरूलाई नचाइन् ।

त्यसैगरी अर्का राष्ट्रिय कलाकार जुनी खालिङले पनि आधा दर्जनभन्दा बढी पूर्वेली लोकभाका पस्केर हजारौं दर्शकलाई मनोरञ्जन दिलाइन् । उनले साकेला, झलमल खुल्छ, अँधेरी रात, सम्झना चिनु रुमालै दिएलगायत गीत गाएर मनोरञ्जन दिलाएकी थिइन् ।

पूर्वाञ्चल गट ट्यालेण्ट सिजन फोरका उदयीमान गायक चोत्लुङ लिम्बूले पनि आधा दर्जनभन्दा बढी चर्चित गीतहरू गाएर दर्शकलाई नचाएका थिए । त्यसैगरी त्रिवेणी नाट्य वराह डान्स सेन्टरका कलाकारहरू, टिन्स क्रिउ डान्स सेन्टरका स्थानीय कलाकारहरू, स्थानीय कलाकार जितेन राईलगायतले विभिन्न लोकभाकाहरूमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

त्रिवेणी सांस्कृतिक समूहका अध्यक्ष ज्ञानबहादुर आठपहरियाको अध्यक्षतामा सम्पन्न विविध सांस्कृतिक कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, त्रिवेणी स्कुलका प्रधानाध्यापक दीपक पोख्रेललगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

तीन वर्षयता कोभिडको कारण धनकुटामा श्रीकृष्ण अष्टमीको अवसरमा साङ्गीतिक कार्यक्रमहरू भएका थिएनन् । तीन वर्षपछि आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा हजारौं दर्शकहरूको उपस्थिति रहेको त्रिवेणी नाट्य वराह डान्स सेन्टरकी सञ्चालक युसिन यस्मालीले बताइन् ।