मोरङको बूढीगङ्गा गाउँपालिका–४ हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा अत्याधुनिक सुविधा सम्पन्न ल्यावमा विद्यार्थीहरूले व्यावहारिक ज्ञान सिक्दै आएका छन् ।
देशकै उत्कृष्ट प्राविधिक शिक्षालयका रूपमा कहलिएको मनमोहनमा आधुनिक सुविधा सम्पन्न ल्यावमा दक्ष प्राध्यापकहरूले पठन–पाठन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा विद्यार्थीले उतार्दै आएका हुन् । विद्यार्थीहरूले आफूले कक्षाकोठामा अध्ययन गरेका प्रविधिका विषयवस्तुहरूलाई व्यावहारिक रूपमा उतारेर परियोजनामार्फत् प्रस्तुत पनि गर्दै आएका छन् । उनीहरूले आफूले अध्ययन गरेका विषयवस्तुहरूलाई व्यवहारमा उतार्नको लागि विश्व विद्यालयको चारवटा भवनमा सुविधा सम्पन्न ल्याव रहेको छ । सेमेस्टरअनुसारका ल्यावहरू यहाँ रहेका छन् । पहिलो वर्षमा भर्ना भएका सिभिल इन्जिनियरिङका विद्यार्थीहरूले फिजिक्स, केमेष्ट्री, मेकानिलक वर्कसप र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्सको ल्यावमा विश्व विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने गरेका छन् । कम्प्युटर ल्याव पनि एकदमै अत्याधुनिक रहेको विश्व विद्यालयले जनाएको छ ।
दोस्रो वर्षमा पुगेका विद्यार्थीहरूले फ्रुड मेकानिक्स, हाइड्रोलिक्स, स्वायल मेकानिकल, इन्जिनियरिङ म्यारेटियलक्स रहेको छ । यस्तै तेस्रो वर्षमा पुगेका विद्यार्थीहरूले हाइवेय ल्याव, हाइड्रोपावर, हाइड्रोलोजी ल्यावमा प्राक्टिकल गर्ने मनमोहन विश्व विद्यालयका सिभिल इन्जिनियरिङ पढाउने सह–प्राध्यापक नरेन्द्रकुमार डाँगीले बताए । ‘हाइवेय, हाइड्रोपावर, हाइड्रोलोजी तेस्रो र चौथो दुवै वर्षमा अध्ययनरत विद्यार्थीले ल्यावमा गएर अभ्यास गर्ने गरेका छन्’–उनले भने । नयाँ भवन बनेपछि वाटर सप्लाइ ल्याव र सेनिटरी इन्जिनियरिङको ल्याव रहनेछ । सो ल्यावमा तेस्रो वर्षमा सिभिल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीले सिक्नेछन् । यहाँका आधुनिक ल्यावमा विद्यार्थीहरूले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै आएका छन् । मनमोहनले आधुनिक ल्याव बनाउन करोडौं रुपैयाँ खर्चेको छ ।
मनमोहन प्राविधिक विश्व विद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययन गर्दै आएका सुनसरीको दुहबीका अनिश कटुवाल मनमोहन प्राविधिक विश्व विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञान ल्यावमा आएर व्यवहारमा निर्धक्क भएर उतार्न पाएको बताए । ‘किताबी ज्ञान त लिएका छौं । आफ्नो सिर्जनात्मक क्षमता विकास गर्नसमेत यो आधुनिक ल्यावले थप मद्दत पुगेको छ’ उनले भने, ‘परियोजना तयार पार्न पनि सजिलो भएको छ । सरहरुले पनि निकै सुझाव दिनु हुन्छ । पढेको कुरा परियोजनामा उतार्दा प्राविधिक विषय गहनरूपमा बुझ्न सहज भएको छ ।’
देशभरिका प्राविधिक विश्वविद्यालयमा भन्दा मनमोहनमा अत्याधुनिक ल्याव रहेको मनमोहन प्राविधिक विश्व विद्यालयका डिन डा. प्रचण्डमान प्रधानले बताए । यहाँकोे ल्यावमा नयाँ–नयाँ उपकरणहरू रहेको उनले बताए । ‘पहिलो वर्षमा साइन्सको कोर्ष छ । त्यसपछि दोस्रो वर्ष र तेस्रो वर्षको अन्त्यसम्ममा प्राक्टिकल्ली इन्जिनियरिङलाई कसरी बुझ्छन् भनेर देखाउन सकिन्छ’ डिन प्रधानले भने, ‘कुनै पनि कुरा पढ्ने, लेख्ने, सुन्ने र गर्ने कुरामा फरक हुन्छ । यहाँचाहिँ गरेर देखाउने हुन्छ । शिक्षकहरुले पनि आफ्नो विद्यार्थीलाई काम सिकाउँदा इन्फर्मेसन पूरा दिन सकोस् भन्ने खालको छ । जसले गर्दा कुन सामान कहाँ प्रयोग गर्ने भन्ने कुराको पूरा ज्ञान विद्यार्थीहरूले पाउँनछन् ।’
प्राविधिक विश्वविद्यालय भनेर गर्व गर्नुको मूल कारण भनेको यहाँ प्राक्टिकल विषयमा बढी फोकस हुने गरेका उनले बताए । ‘अन्य युनिभर्सिटीमा चाहिँ प्राक्टिकल थोरै हुन्छ र सैद्धान्तिक बढी हुन्छ । उनीहरुले ७५ प्रतिशत सैद्धान्तिक र २५ प्रतिशत प्राक्टिकल गराउँछन् । हाम्रोमा चाहिँ ५०–५० प्रतिशत हुन्छ’–डिन प्रधानले भने । इन्जिनियरिङ जस्तो विषय पास गरेर जाने बित्तिकै काम गर्न सक्नुपर्ने हुनुपर्ने भएकोले सैद्धान्तिक र प्राक्टिल बराबरी हुने गरेको उनले बताए ।
‘उद्योगीहरूले अन्य युनिभर्सिटीबाट पढाइ सकेर काममा गएपछि तपाईंहरूको छात्र÷छात्रालाई फेरि ट्रेनिङ दिनुपर्ने रहेछ भन्ने खालको गुनासो गर्ने गरेका छन् । युनिभर्सिटीबाट पढेर गएपछि सबै जान्ने भन्ने त हुँदैन । तर, बेसिक जान्नुपर्ने हुन्छ’ उनले भने, ‘टेक्निकल युनिभर्सिटीले फरक के गर्छ भने त्यो प्राक्टिकल गर्ने कुरामा जुनसुकै काम गरेर देखाउन सक्ने क्षमता विकास गरेको हुन्छ । हामीले त्यही गरेका छौं । त्यो गर्दा युनिभर्सिटीमा मेसिनरिजहरू, ल्यावहरू स्ट्रङ चाहिन्छ ।’
यहाँको लाइब्रेरीमा पर्याप्त पुस्तक रहेका छन् । पाठ्यक्रममा जे राखेको छ, त्यही अनुसारका किताबहरू छन् । अर्को भनेको युनिभर्सिटीभित्रको वातावरण एकदमै राम्रो छ । युनिभर्सिटीमा हुनुपर्ने माहोल राम्रो छ । भवन तथा ब्लकहरू पनि सोही अनुसारको छ । कक्षा कोठाहरू राम्रा छन् । अन्य युनिभर्सिटीमा भन्दा यहाँको ल्याव राम्रो छ । पाठ्यक्रम नै नयाँ छ ।
एउटा कक्षालाई पु¥याउनु पर्ने न्यूनतम् पूर्वाधारमा कहीँ पनि सम्झौता नगरेको उनले बताए । मल्टिमिडिया, प्रोजेक्टर, स्क्रिन, टेबल, कुर्सी, ल्यावको साइज सबै इन्जिनियरिङ काउन्सिलले तोकेको मापदण्ड अनुसारका छन् ।
मनमोहनमा विद्यार्थीको आकर्षण
गत वैशाखदेखि इन्जिनियरिङ विषयमा स्नातक तहको पढाइ सुरु गरेपछि विद्यार्थीको आकर्षण बढेको छ । मनमोहनले स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेजका स्नातक तहको पढाइ वैशाखदेखि सुरु गरेको हो ।
स्कुल अफ इन्जिनियरिङ अन्तर्गत स्नातक तहको बी.ई. ईन सभिल इन्जिनियरिङमा कोटाअनुसारको विद्यार्थी रहेका छन् । ‘प्रवेश परीक्षा दिने विद्यार्थीको सङ्ख्या उल्लेखनीय रहेको थियो । तर, हाम्रो कोटा २४ जना मात्र भएकोले कोटाअनुसार मात्र लिएका छौं’–रजिष्ट्रार डा. दिलनाथ फुयालले भने । स्नातक तहको इन्जिनियरिङ सङ्कायमा रेल्वे र पानीजहाज, भौतिक पूर्वाधार निर्माणदेखी स्वदेशी उद्योगहरूलाई आवश्यक पर्ने सुहाउँदो जनशक्ति उत्पादन गराउने विभिन्न विषयमा पठन–पाठन गरिएको रजिष्ट्रार फुयालले जानकारी दिए । उनका अनुसार स्नातक तहको इन्जिनियरिङ विषय पठन–पाठनका लागि आधुनिक ल्यावसहित सबै भौतिक पूर्वाधार र आवश्यक जनशक्ति तयार भएको बताए ।
नेपाली विद्यार्थीलाई ६ लाख, विदेशीलाई साढे ८ लाख
रजिष्ट्रार फुयालका अनुसार स्नातक तहको चार वर्षे सिभिल इन्जिनियरिङ कोर्ष पढ्न साधारण नेपाली विद्यार्थीले ५ लाख ८० हजार, विदेशी विद्यार्थीले ८ लाख ५० हजार र प्रायोजित विद्यार्थीका लागि ७ लाख १५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । भर्ना भएका विद्यार्थीले पछि फिर्ता हुने गरी प्रयोगशाला र स्कुल बापत १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ ।
एमटियुले इन्जिनियरिङ विषयको पहिलो सत्रदेखि नै ४८ जना विद्यार्थीमध्ये जम्मा १० जना विद्यार्थीलाई विभिन्न छात्रवृत्ति दिनेछ । यसैगरी भर्नाका लागि दलित, आदिबासी जनजाति, स्थानीय, महिला, घाइते अपाङ्गसहित २७ जना विद्यार्थीका लागि कोटा छुट्याएको छ । २१ जना विद्यार्थीहरूले चाहिँ खुल्लाबाट भर्ना गरिनेछ । विश्वविद्यालयले भावी दशवर्षे कार्ययोजना बनाएको छ । पहिलो पाँच वर्षे योजना अन्तर्गत आर्थिक वर्ष २०७८ देखि २०८२ सम्ममा विभिन्न प्राविधिक विषयका ७ वटा स्नातक र पाँचवटा स्नातकोत्तर तहका कक्षाहरू सञ्चालन गर्ने लक्ष्य रहेको छ । यी कार्यक्रमबाट कुल १ हजार ४ सय ८० जना विद्यार्थी लाभान्वित हुने विश्वविद्यालयले जनाएको छ ।
देशकै १३ वटा विश्वविद्यालयमध्ये पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले सन् २०३० सम्ममा विभिन्न २८ वटा प्राविधिक विषयमा स्नातक तहदेखि पिएचडीसम्म पढाइ सञ्चालन गर्ने योजना बनाएको छ । आगामी पाँच वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालय दक्षिण एसियामा चिनिएको प्राविधिक विश्वविद्यालय हुनेछ ।
एमटियुले क्रमशः आईटी, पारामेडिकल, पब्लिक हेल्थ, फार्मेसी, इन्भाइरोन्मेन्ट हेल्थ, नेचुरल रिसोर्स एण्ड डेभलपमेन्ट, इनोभेसन एण्ड मेनेजमेन्टलगायतका विषयमा १५ सय बढी विद्यार्थीहरूलाई स्नातकदेखि स्नातकोत्तर तहसम्म पठन–पाठन गराउनेछ ।
यसैगरी सन् २०८३ देखि २०८७ सम्म बायोमेडिकल, अटोमोबाइल, एग्रिकल्चर, फरेष्ट्री, अप्टोमेट्री, होटल मेनेजमेन्ट, ट्रान्सपोर्टेसन, टनेललगायतका विषयमा स्नातकोत्तर तहसम्म र ५ वटा विषयमा पिएचडीसम्मको कक्षा सञ्चालन गर्नेछ । देशमा सञ्चालन भएका उद्योग व्यवसाय सुहाउँदो जनशक्ति उत्पादन गरेर विदेशी जनशक्तिको आयात घटाउने लक्ष्य विश्वविद्यालयको रहेको छ ।