नेपाली राजनीतिमा बौद्धिक, सालिन र अध्ययनशील नेताको छवि बनाएका प्रदीप गिरिको निधनपछि उनको व्यक्तित्वका बारेमा धेरैले चर्चा गरिरहेका छन् । नेपाली काङ्ग्रेसका नेता भए पनि उनलाई काङ्ग्रेस मात्र होइन, एमाले, माओवादी र अन्य राजनीतिक दलका नेताहरूले समेत देशका लागि चाहिने असल नेता गुमाएको भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । पछिल्लो समय इमान्दारिताको खडेरी पर्दै गएको नेपाली राजनीतिमा गिरिलाई फरक विचारका मान्छेले पनि प्रशंसा गर्नुको कारण उनको सन्त प्रवृत्ति नै हो । काङ्ग्रेस नेता गिरिलाई कम्युनिष्टहरूसमेत ‘कमरेड’ भनेर सम्बोधन गर्थे । आफ्नो पार्टीभित्र फरक विचार राख्ने, लोभलालच नगर्ने, गरिब, दुःखी र पीडितहरूका पक्षमा बोल्ने उनलाई काङ्ग्रेसभित्रका कम्युनिष्ट भन्ने गरिन्थ्यो । उनले आफ्नो पार्टीमा समावेशीकरण नीति लागू गर्न महŒवपूर्ण भूमिका खेलेका थिए । उनले पार्टीमा ‘कदमजम’ नीति ल्याएका थिए । ‘कदमजम’ शब्द कर्णाली, दलित, महिला, जनजाति र मधेसीको छोटकरी रूप हो । उनकै नीति पार्टीले लागू गरेको थियो । पटक–पटक सांसद् जिते पनि उनले मन्त्री बन्ने कहिल्यै चाहना गरेनन् । उनी पदलाई प्राथमिकतामा राख्दैनथे । पद र धन दौलतका लागि मरिहत्ते गर्ने अहिलेका राजनीतिक दलका नेताहरूले उनको जीवनशैली पछ्याउन त नसक्लान् तर, मनमा कतै उनले देखाएको बाटोले मात्र देशको विकास गर्न सकिन्छ भन्ने बुझ्न वा सोच्न सक्छन् ।

पछिल्लो समय देशमा असल राजनेताको अभाव देखिन्छ । आशा गरिएका नेताहरू कुर्सीमा पुगेपछि अरू जस्तै भ्रष्ट र व्यक्तिगत फाइदामा केन्द्रित बन्दा आम नागरिक निराश छन् । पदलोलुप र भ्रष्ट मानसिकताका नेताहरूकै कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा बढ्दो छ । देश विकास चाहने पुराना पुस्ताहरू पनि अहिलेका राजनीतिक दलका नेताहरूबाट विकास सम्भव नरहेको निष्कर्षमा पुग्न थालेका छन् । स्थानीय निर्वाचनमा वर्षौंंदेखि राजनीति गरिरहेका नेताहरूभन्दा नयाँ र स्वतन्त्र व्यक्तिमा आकर्षण देखिनुको कारण पनि राजनीतिप्रति बढ्दो वितृष्णाको सङ्केत हो । आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि यस्तो अवस्था देखिने सम्भावना बढ्दो छ । किनभने आम नागरिकले आशा गरेर मतदान गरी जिताएका नेताहरू कुर्सीमा पुगेपछि आफ्ना वाचा बिर्सिएर आफू, आफन्त, नातागोता, कार्यकर्तामा केन्द्रित हुँदा यो अवस्था आएको हो । नयाँ पुस्ताका नेताहरूलाई राजनीति भनेको पैसा कमाउने क्षेत्र होइन, समाजसेवा गर्ने ठाउँ हो भनेर चिनाउन प्रदीप गिरिजस्ता नेताहरूको जीवनी बुझाउनु आवश्यक छ ।

नेपाली राजनीतिमा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र प्रदीप गिरिजस्ता नेताहरू पनि थिए भनेर अहिलेको पुस्तालाई बुझाइदिने मान्छेको भने अभाव छ राजनीतिक दलहरूमा । दलहरू नातावाद, कृपावादको दलदलमा फसिरहेको अवस्थामा उनीहरूबाट धेरै आशा गर्न पनि मुस्किल छ । यद्यपि हरेक राजनीतिक दलहरूमा केही आशलाग्दा युवापुस्ताका नेताहरू अवश्य नै छन् । उनीहरूले कम्तिमा व्यक्तिगतभन्दा देशको हित सोचेर अघि बढ्ने हो भने प्रदीप गिरिजस्ता नेताहरूको सादगीपन बारे बुझ्नु आवश्यक छ । राजनीतिलाई व्यापारका रूपमा परिणत गर्न उद्यत नेताहरूका लागि भने प्रदीप गिरिहरूले रोजेको राजनीतिक बाटो सही नहुन सक्छ । उनीहरूका लागि सादगी जीवनशैली अराजनीतिक पनि लाग्न सक्छ । तर, देशको विकास सोच्ने नेताहरूका लागि यस्ता बौद्धिक, अध्ययनशील नेताहरूले नै हो, देश र जनताको भविष्य सोच्ने अनि त्यहीअनुसार नीति बनाउने र लागू गर्ने । अहिले संविधानले नै देशलाई समाजवाद उन्मुख भनेर घोषणा गरेको छ तर, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत कुरामा समेत चर्को व्यापारीकरणको मार आम नागरिकले भोग्नुपरिरहेको छ । यस्तो अवस्थामा नीति मात्र राम्रो बनेर मात्र त नहुँदो रहेछ, त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने इच्छा शक्ति भएका मान्छे पनि नेतृत्वमा हुनुपर्ने रहेछ । प्रकृतिको नियमअनुसार असल राजनीतिज्ञ प्रदीप गिरि संसारबाट बिदा भए पनि उनले देखाएको बाटोमा उनको दल मात्र होइन, सबै दलका नेताहरूले हिँड्नसके उनका लागि सच्चा श्रद्धाञ्जली हुनेछ र देशको विकासका लागि पनि हितकर हुनेछ ।