भोजपुर । भोजपुरमा दुई दिने अनलाइन पत्रकारिता तालिम सुरु भएको छ । प्रेस चौतारी नेपाल भोजपुर शाखाको आयोजनामा सोमबार देखि तालिम सुरु भएको हो ।
तालिम प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीको सहजीकरणमा नेपाल पत्रकार महासङ्घको भोजपुर शाखाको सभाहलमा भइरहेको प्रेस चौतारीका जिल्ला शाखा अध्यक्ष मोहन दुरालले बताए ।
तालिममा सहभागीलाई अनलाइन पत्रकारितासम्बन्धी प्रशिक्षण दिन थालिएको अध्यक्ष दुरालको भनाइ छ । तालिमको सहजीकरण प्रेस चौतारी नेपाल प्रदेश १ का अध्यक्ष अविजाल विष्ट, नेपाल पत्रकार महासङ्ंघ प्रदेश १ सचिव देवेन्द्र कार्की र प्रेस चौतारी नेपालका संस्थापक उपाध्यक्ष यज्ञ शर्माले गरिरहेका छन् ।
तालिममा जिल्लाभरिका ४३ जनाको सहभागिता रहेको छ । तालिम आज (मङ्गलबार) सम्पन्न हुने प्रेस चौतारी भोजपुर शाखाका सचिव प्रदीपचन्द्र राईले जानकारी दिए ।