विभिन्न बहानामा हुने गरेका बन्द, हड्तालबाट आम नागरिक दिक्क भइसकेका छन् । राज्यसँग आफ्ना माग पूरा गराउन बन्द, हड्ताल गरेर सर्वसाधारण नागरिकलाई दुःख दिने प्रवृत्तिदेखि आजित भएपछि पटक–पटक प्रतिकार हुने गरेका छन् । मङ्गलबार चार कम्युनिष्ट पार्टीले आयोजना गरेको संयुक्त नेपाल बन्दका बेला पनि आम नागरिकको असन्तुष्टि देखियो । काभ्रेमा त बजार, स्कुल बन्द गराउँदै र गाडीमा ढुङ्गा हान्दै हिँड्ने दुई जनालाई यातायात मजदुर र सर्वसाधारणले समातेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो । त्यसरी कुटाइ खानेमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता प्रमोद गिरी र पल राउत थिए । उनीहरूलाई लुगासमेत च्यातेर कुटपिट गरेको भिडियो सार्वजनिक गर्दै धेरैले बन्दकर्तालाई गाली गरे । यसबाट पनि आम सर्वसाधारण बन्द, हड्तालबाट आजित भएको प्रष्ट देखिन्छ । हुन पनि नेपालीहरूले बन्द, हड्तालको मार लामो समयदेखि भोग्दै आएका छन् । ठूला राजनीतिक दल, तिनका भातृ सङ्गठन, विभिन्न जातीय र क्षेत्रीय राजनीतिक दलहरूले पटक–पटक गरेका बन्द, हड्तालले अन्ततः सर्वसाधारण नागरिकलाई नै मार पर्दै आएको छ ।
विशेषगरी गरिब, शोषित, पीडित नागरिकको पक्षमा रहेको दाबी गर्ने दल र सङ्गठनहरू नै बन्द, हड्ताल गरेर ती पीडित, गरिबहरूको रोजीरोटी खोसिरहेका हुन्छन् । सत्तामा रहेकाहरूले भ्रष्टाचार गरेको, आफ्ना पार्टीका नेता कार्यकर्तालाई थुनेको, राष्ट्रघात गरेको जस्ता कारण देखाएर गरिने बन्द, हड्तालले वास्तविक रूपमा सत्तामा बस्नेहरूलाई खासै असर पर्दैन । असर त दैनिक मजदुरी गरेर जीवनयापन गर्नेहरू, यातायात मजदुरहरू, कुनै पसलमा मजदुरी गर्नेहरूलाई पर्छ । अनि कसरी गरिब, पीडितको पक्षमा भयो त बन्द, हड्ताल ? यो प्रश्नको जवाफ दिन बन्दकर्ताहरूले पनि सक्दैनन् । किनभने बन्द, हड्ताल, तोडफोड जस्ता अराजक काम गरिब, दुःखीका पक्षमा हुँदै होइनन् । यो त गरिब सर्वसाधारणलाई दुःख दिएर सत्तासँग ‘बार्गेनिङ’ गर्ने माध्यम मात्र हो । के आम नागरिकको गाँस खोसेर, उनीहरूलाई दुःख दिएर आफ्नो स्वार्थपूर्ति गरिनुलाई राजनीति भन्न सकिन्छ ? यो त अराजनीतिक गतिविधिबाहेक केही होइन । बन्दकर्ताका लागि फगत् एक दिन होला तर, आम नेपालीका लागि करोडौं दिन खेर जान्छ । आजका आम नागरिकले यो कुरा राम्रोसँग बुझेका छन्, त्यसकारण पनि बन्द, हड्तालजस्तो असान्दर्भिक कार्यक्रम अब सफल हुन मुस्किल छ ।
राजनीतिक दलहरूको पटक–पटकको बन्द भोगेर आएका आम नागरिकले कोरोना महामारीका कारण भएको लामो बन्द पनि भोगे । यसबाट देशको आर्थिक अवस्था धरासायी भएको छ । बजारमा व्यापार–व्यवसाय ठप्प छ । बैङ्कसँग समेत पैसा अभाव छ । यस्तो अवस्थामा गरिखाने वर्गको जीवन कसरी चलिरहेको छ ? भनेर कुनै राजनीतिक दलहरूले अध्ययन गरेका छन् ? कसैले आम नागरिकको राहतका लागि योजना ल्याएका छन् ? अझ आम नागरिकलाई दुःख दिने, भर्खर खुलेका पसल बन्द गराउने, तोडफोड गर्ने काम अपराध हो । त्यसैले यस्तो कार्यलाई निरुत्साहित गर्नैपर्छ । बरु राजनीतिक दलहरूले सिर्जनशील आन्दोलन गर्नुपर्छ, ठूला नेताहरू र मन्त्रीहरूलाई दबाव पुग्ने खाले कार्यक्रम गर्न सक्नुपर्छ । तर, सर्वसाधारणलाई गरिखाने बाटो रोक्ने, पीडामाथि पीडा दिने कामलाई आन्दोलन भन्न सकिँंदैन । यो सरासर अपराध हो । यस्तो कार्य गर्नेलाई अपराधकै कोटीमा राखेर कानूनी कारबाही गरिनुपर्छ । देशलाई बन्द, हड्तालमुक्त नबनाएसम्म अराजकता हट्दैन । त्यसैले बन्दलाई सधैँका लागि बन्द गर्नुको विकल्प छैन । राजनीतिक दलहरूले पनि के बुझ्न जरुरी छ भने अबका दिनमा बन्द, हड्ताल गरेर जनमत बढाउन सकिँंदैन । यसले जनमत अझै घटाउने निश्चित छ । बन्द, हड्तालजस्तो अराजनीतिक गतिविधि त्यागेर सिर्जनशील आन्दोलन गर्नसके मात्र राजनीतिक दलहरूप्रति जनविश्वास बढ्न सक्छ । जनतालाई दुःख दिने दलहरूलाई चुनावका बेला जनताले सजाय दिन सक्छन् भन्ने हेक्का राख्नु उचित हुन्छ । त्यसैले बन्दको विकल्प खोजौं ।