यतिखेर नेपालमा चुनावी चहल–पहल बढेको छ । सबैतिर चुनावी तालमेल, मोर्चाबन्दी र एकताको चर्चा चुलिएको छ । यही विषयले सबैको ध्यान खिचिरहेको छ । यो व्यक्ति र त्यो व्यक्ति, यो गुट र त्यो गुट, यो पार्टी र त्यो पार्टी अनि यो गठबन्धन र त्यो गठबन्धनको राजनीतिक सरगर्मी बढेको छ । सबैले आ–आफ्नै ढङ्गले सकेसम्म चुनावी सूर, ताल र लय मिलाउन न्वारानदेखिको बल लगाइरहेका छन् । नेताहरू जसरी पनि चुनाव जित्ने स्वार्थमा हदैसम्मको राष्ट्रवादी, हदैसम्मको पारदर्शी, हदैसम्मको त्यागी, हदैसम्मको प्रगतिशील, हदैसम्मको परिश्रमी, हदैसम्मको जनसेवक र हदैसम्मको इमान्दार बनेर प्रस्तुत भइरहेका छन् । यतिबेला सबैको मुखमा, सोचमा, चिन्तनमा अनि वक्तव्यहरूमा राष्ट्रवादी र एजेण्डावादी अनि जनमुखी, विकासमुखी र समृद्धिमुखी पदावलीहरू झुण्डिरहेको छ । यस्तो लाग्छ, कसैमा केही खोट छैन । अनि कसैमा केही दोष पनि छैन । सबै अब्बल मात्र छन् । अर्थात् सबै पार्टी र नेताहरू राष्ट्र, जनता, विकास र समृद्धिको पक्षमा छन् ।
यही राजनीतिक माहौलको बीच पार्टी एकता र तालमेलबारे तीव्र बहस र छलफलहरू भइरहेका छन् । यसै सन्दर्भमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच संयुक्त घोषणा–पत्र जारी गर्ने भन्ने सहमति भइसकेको छ । चुनावलगत्तै पार्टी एकता गर्नेसम्मको छलफल हुँदैछ । यद्यपि यो विषय नयाँ भने पटक्कै होइन । विगतमा माओवादी केन्द्र र एमालेबीच गठबन्धन गर्दा पनि यस्तै मीठो गुरुयोजना बनाइएको थियो । चुनावपछि पार्टी एकता पनि गरियो । जुन–तारा झारिसक्यौं, अब आकाशै खसाल्छौं भनियो । तर, हातलागि शून्य भयो । नपत्याए हामीजस्ता लाखौं भुक्तभोगीहरूलाई सोध्नुहोला । उल्टै हामीले झण्डै बीस वर्षपछाडि फर्किएर प्रतिगमन भन्दै अनावश्यक आन्दोलन छेड्नु पर्यो । यसले आजसम्म प्राप्त राजनैतिक उपलब्धिहरू माइनसमा गएको तपाईं हामी सबैले अनुभूत गरेकै कुरा हो ।
तब अब गरिने तालमेल र एकताले त्यस्तो के जादु र टुनामुना गर्ला कि विगतका सबै कमी कमजोरीहरू दोहो¥याउने छैन । राष्ट्रिय राजनीतिमा कायापलट ल्याउने त्यस्तो तिलस्मीपन के होला ? विद्यमान समस्याको समाधन भइहाल्ने पहाड सम्याइहाल्ने त्यस्तो जादुअष्त्र के होला ? विगतमा पनि पार्टी झण्डै दुईतिहाइ नजिक पुगेकै हो । आखिर हामीले भोट माग्दा भनेको स्थायित्व पनि दिन सकेनौं । त्यही वस्तुगत र आत्मगत धरातलीय मनोविज्ञानमा उभिएर पुनः अर्को नाटक रिहर्सल गर्दैमा अर्कै राजनीतिक कोर्ष आरम्भ हुँदैन । उही चुनावमा एक–दुई सिट तलमाथि पार्ला । केही नेताहरूले जागिर खालान् । वश यति होइन ? दुई–चार सिट बढी जित्दैमा आजको बेथिति र विसङ्गति विरुद्ध राजनैतिक आन्दोलनको उभार उठेर आमूल परिवर्तन नै हुने पनि होेइन होला । यसो–उसो उही आलोपालो जागिर खाने र खुवाउने न होला । त्यो त एकता विना नै औसत चलिराकै छ, खाइराकै छन् ।
वास्तवमा पार्टी एकता भनेको ख्यालठट्टा र इमोसनको सवाल हुँदा पनि होइन । यो भावनामा बहकिएर अनि पुलकित भएर रमाउने कुरा पनि होइन । एक–दुई हप्ता सँगै जलपान गर्दा मनको भावना साटासाट गरेकै भरमा विचारमा पनि एकरूपता देख्नु दृष्टिदोष मात्र हुन्छ । वस्तुतः पार्टी एकताको लागि सबैभन्दा महŒवपूर्ण मुद्दा भनेको सिद्धान्त र विचार नै हो । विचार र सिद्धान्तमा एक नभएसम्म एकल दृष्टिकोण बन्दैन । दृष्टिकोणमा एकरूपता नभई एजेण्डामा एकमत हुन सकिँदैन । एजेण्डामा सहमत नभई कार्यदिशा र कार्यक्रमहरूमा एकसाथ जान सकिँदैन । कार्यक्रममा एक नभएसम्म उद्देश्य तय हुँदैन साथै गुणात्मक परिणाम प्राप्तितर्फ कसैको ध्यान जाँदैन । उद्देश्य तय नगरी गन्तव्यमा पनि पुग्न सकिँदैन । गन्तव्यमा नपुग्नु भनेको राष्ट्रिय राजनीतिले यथास्थिति वरिपरि गोलचक्कर मारिरहनु हो । यथास्थितिमा गोलचक्कर मार्नु भनेको तमाम् समस्याहरू समाधान नहुनु हो । तसर्थ एकताको लागि मूलभूत पूर्वशर्त भनेको विचार, सिद्धान्त, एजेण्डा, कार्यदिशा, कार्यक्रम र उद्देश्यहरूमा सचेततापूर्वक नै एक हुनु हो । यसले विचार र कार्यदिशामा लामो छलफल र अन्तरक्रियाको माग गर्दछ । अन्यथा इमोसन, आग्रह र ईष्र्यामा गरिएको औसत एकता प्राविधिक एकता मात्र हुनेछ, जुन दीर्घकालीन र परिणाममुखी हुँदैन । यस्तो एकता जनताले पनि चाहेका छैनन् ।
तर, विडम्बना नै भन्नुपर्छ कि नेपालमा पछिल्लो घटनाक्रमहरू नियाल्ने हो भने राजनीति ठीक उल्टोबाटोमा हिँडिरहेको छ । प्राथमिकताको आधारहरू नै उल्टो राखिएको छ । हरेक तालमेल र मोर्चाबन्दीहरू पहिलो आप्mनो व्यक्तिगत स्वार्थ सिद्धिको लागि गरिन्छ । दोस्रोमा आप्mनो समूहको स्वार्थ हेरिन्छ । तेस्रोमा पार्टीको स्वार्थ राखिन्छ । चौथोमा गठबन्धनको स्वार्थ पर्दछ । पाँचौंमा कार्यक्रमिक स्वार्थ र छैठौंमा एजेण्डागत स्वार्थ राखिन्छ । सातौं वा सबैभन्दा अन्तिममा सिद्धान्त र विचारलाई मानिन्छ । यसमा पहिलो, दोस्रो र तेस्रो स्वार्थहरू कामकाजी भए पनि अरू स्वार्थहरू व्यावहारिक कार्यान्वयनमा देखिँदैन । त्यो केवल देखाउनकै लागि मात्र हुन्छ । यसो भएपछि कुनै पनि गतिविधिहरूले गुणात्मक उत्पादन दिन सक्दैन । उत्पादन विनाको काम कारबाहीहरू अनर्थ र औचित्यहीन हुन्छ । यसरी औचित्यहीन हुँदैजाँदा नागरिकहरूमा एकखालको वितृष्णा, निराशा र कुण्ठाले बास गर्दछ । यस्तै इमोसनल वितृष्णा र कुण्ठाहरू नितान्त गलत दिशातिर भड्किन वा बहकिन पुग्दछ । इमोसनल भड्काइहरू सही नै हुन्छन् भन्ने केही वस्तुगत आधार हुँदैन । तब यसले परिस्थिति झनै गन्जागोल र भद्रगोल पार्ने खतरा रहन्छ ।
खास गरेर यस आलेखमा के भन्न खोजिएको छ भने केही अपवादबाहेक नेपालमा आजसम्म भएगरेका तालमेल र एकताहरूले निर्दिष्ट लक्ष्य प्राप्त गर्न सकेको देखिँदैन । यो कसैको श्राप हो या हाम्रो एकता र तालमेलहरूमा अन्तरनिहीत उद्देश्य र प्रक्रियामा नै खोट छ । यो गम्भीर बहसको विषय बनेको छ । परम्परालाई नियाल्दा यो घटिया निहीत स्वार्थद्वारा निर्देशित हुनु नै परिणाम हातलागि शून्य हुनु हो । सिद्धान्त, विचार, एजेण्डा, कार्यदिशा र कार्यक्रमहरूमा एकता र गठबन्धन हुँदैन । एकता गर्दा पनि केवल टाउको गनेर दुवै समूहको भागशान्तिमा गरिन्छ । यो असाध्यै गलत संस्कृति हो । यसरी टाउको गनेर गरिएको एकता, चुनाव जित्नको लागि मात्र गरिएको गठबन्धन र कसैलाई बदला लिन मात्र गरिएको साँठगाँठ परिणाममुखी हुँदैन । परिणाम नआउनु भनेको जनअपेक्षा अधुरै रहनु हो । जनअपेक्षा पूरा नभएपछि त्यस्ता एकता र तालमेलको राष्ट्रिय राजनीतिमा ताŒिवक अर्थ रहँदैन । तब पार्टी, नेता र कार्यकर्ताहरूले गाली खाइरहनु र आलोचना खेपिरहनु पर्ने हुन्छ ।
यतिखेर नेपाली राजनैतिक परम्परालाई हेर्दा एकता र तालमेल केवल चुनावी रणनीतिमा आधारित देखिन्छ । निश्चित राजनैतिक लक्ष्य प्राप्तिको लागि चुनावी गठबन्धन गर्नु महान् कार्य हो । तर, हाम्रो चुनावी प्रक्रिया र पार्टीहरूको चुनावी स्वार्थ त्यस्तो सही राजनैतिक उद्देश्यको कक्ष वरिपरि देखिँदैन । त्यो केवल आफू र आप्mनो समूहले जसरी पनि एक–दुई सिट बढी जित्ने स्वार्थमा सीमित गरिएको हुन्छ । चुनाव जितेर एक, दुई तीन...के के गर्ने भनेर योजना निश्चित गरिँदैन । संविधानमै समाजवाद उन्मुख भनिएको छ । तर, आजसम्म कुनै पनि पार्टीहरूले ठोस समाजवादी कार्यक्रमिक योजनासहितको चुनावी घोषणा पत्रमा दस्तावेजीकरण गरेको देखिँदैन । उनीहरूले केवल समाजवाद उन्मुख समाज बनाइनेछ भनेर अमूक र अमूर्त कुरा मात्र समावेश गर्दै आएका छन् । धरातलीय यथार्थभन्दा कृत्रिम हल्लाखल्ला धेरै छ । यसले उनीहरूको समाजवादी यात्रा पनि केवल भोट ब्ल्याकमेलिङ गर्ने इमोसनल क्याप्सुल मात्र भइरहेको प्रष्ट हुन्छ ।
त्यसैले विगतमा जस्तै हतारमा एकता गरेर पुनः ऐतिहासिक भूल नगरौं । सिद्धान्त, विचार, राजनीति, एजेण्डा, कार्यदिशा, कार्यक्रम र उद्देश्यहरूको सवालमा सचेत एवम् विहङ्गम बहसपछि मात्र एकता गरौं । अर्थात् एकता सिद्धान्त, विचार, एजेण्डा, कार्यदिशा र कार्यक्रममा खोजौं । एकता राजनैतिक आन्दोलनको उद्देश्य र गन्तव्यमा गरौं । त्यतिमात्र नभएर एकता मुलुक र जनताको हितमा गरौं । एकता समाजवादी अन्तिम लक्ष्यमा गरौं । एकता विकास र समृद्धिमा गरौं । एकता उत्पीडित जनसमुदायको हितको खातिर गरौं । एकता न्याय र समानताको लागि गरौं । एकता योभन्दा अझ उन्नत र न्यायिक समाज निर्माणका लागि गरौं । एकता थिति, पद्दति, विधि, मूल्य र मान्यता बसाल्न गरौं । एकता इमान्दारिता, पारदर्शिता, सुसङ्गति र विवेकशीलताको लागि गरौं । अर्थात् पार्टी एकता उन्नत परिपाटी, उन्नत विचार, उन्नत समाज, उन्नत संस्कृति निर्माणको लागि गरौं । अन्यथा गरिएको एकताको कुनै तुक छैन ।
तर, विगतमा जस्तै टाउको गनेर एकता गरियो भने त्योभन्दा दुर्भाग्य अरू केही हुन सक्दैन । सिद्धान्त, विचार, एजेण्डा र कार्यक्रमहरूलाई थाती राखेर गरिएको एकताले गन्तव्यमा पु¥याउँदैन । टाउको गनेर गरिएको एकताले कसैलाई पद, प्रतिष्ठा र पावर प्राप्ति भयो होला तर, राजनैतिक लक्ष्य प्राप्ति हुँदैन । पद मिलानमा गरिएको एकता क्षणिक स्वार्थमा गरिएको हुन्छ, जुन स्वार्थसँगै विलिन हुन्छ । एकता के को लागि भनेर गम्भीर मर्मबोध गर्न जरुरी नै ठानिदैन । एकतालाई आन्दोलनको रूपमा ग्रहण गरिँदैन । यो केवल साङ्गठनिक, प्राविधिक वा पदीय एकता मात्र हुन्छ, जसलाई नरम–करम भागबण्डा व्यवस्थापन पनि भनिन्छ । तब यस्तो एकताले कुनै लक्ष्य, उद्देश्य र कार्यक्रम सम्पन्न गर्नै पर्दैन । वस्तुतः साझा लक्ष्य पूरा नगरी एकताको औचित्य पुष्टि हुँदैन । औचित्य पुष्टि नगरे एकताको पनि औचित्य रहँदैन । यो इमोसनल रोमान्समा गरिएको सनकपूर्ण गतिविधि मात्र हुनपुग्दछ । अलिकति कुरा नमिलेपछि, थोरै मनमुटाव भएपछि अनि टक्कर परेपछि निरपेक्ष फुट देख्ने गरिन्छ । बहस र छलफलपछिको रूपान्तरणसहितको निकास हेरिँदैन । जति हतारमा नबुझी र नमिलाई एकता गरिन्छ, त्यति नै छिटो फुट हुने गर्दछ । यो एकता र फुटको द्वन्द्वात्मक सार्वभौमिकता हो ।
तसर्थ, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच पार्टी एकता हतारमा गर्नु हुँदैन । चुनावी तालमेलसम्म ठीकै होला । तर, एकता नितान्त भिन्न कुरा हो । यो भावना र आवेशमा छचल्किएर गर्ने सवाल होइन । यसरी इमोसनल तरङ्गमा गरिएको एकता इमोसनको घट्दो पारोसँगै औचित्यहीन हुँदै जान्छ । प्राविधिक एकता गर्दा यो पुगेन र त्यो पुगेनको द्वन्द्व भइरहन्छ । साङ्गठनिक एकताको भर पर्दा त्यसलाई धेरै र मलाई थोरैको रस्सा-कस्सी चलिरहन्छ । तर विचार, सिद्धान्त र कार्यक्रमहरूमा एक हुनु भनेको कुनै इमोसनल, भागबण्डा र अवसरको मात्र कुरा होइन । यसले सचेत र स्पष्ट बुझाइद्वारा निर्देशित विचारमा एकरूपता ल्याउन लामो छलफल र बहसको माग गर्दछ । दुवै पार्टीले आधारभूतरूपमा राजनैतिक दृष्टिकोण किटान गर्नै पर्दछ । लामो समय सँगसँगै हिँड्न सकिने सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक प्रष्ट मार्गचित्रहरू तय गर्नै पर्दछ । अरू टिपन–टापन एकता फुटको लागि मात्र हुनेछ । विगतमा जस्तै हामीलाई एक–डेढ वर्षपछि फुट्नै पर्ने एकता चाहिँदैन । यसमा सबैले नेतृत्व वर्गलाई सचेत दबाव दिन जरुरी देखिन्छ ।