विजयपुर । धरान उपमहानगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण तथा नाप नक्साका कार्य सुरु भएको छ ।
धरान–१३ को राई टोलबाट मङ्गलबार निस्सा वितरण गर्न सुरु गरिएको हो । धरान–१३ को कार्यालयमा एक कार्यक्रम गरी भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोगका धरान उपमहानगरका सम्पर्क व्यक्ति वेदप्रसाद सापकोटाले पहिलो चरणमा ४० जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको बताए ।
उपमहानगर प्रमुख हर्कराज राईले भूमिहीनहरूलाई निस्सा वितरण गर्ने कार्यको सुरुवात गरे । कार्यक्रममा धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले २०५१ सालदेखि अव्यवस्थित बसोबासीलाई धनीपुर्जा दिन्छौं भन्दै आए पनि २०७४ को स्थानीय निर्वाचनपछि घरनम्बर दिन सफल भएको बताए । उनले निस्सा वितरण र नाप नक्साको कार्य धनीपुर्जा वितरणको दोस्रो चरण भएको बताए । उनले भने, ‘धरान अब सुकुम्बासीविहीन हुनुपर्छ ।’
धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले लगत सङ्कलन, निस्सा वितरण गर्दै धनीपुर्जाको अन्तिम चरण प्रवेश गरेको बताए । उनले भने, ‘सरकारले कानून बनाई धनीपुर्जा दिने कार्य अघि बढाएकाले पहिलेजस्तो हुँदैन ।’
धरान उपमहानगर प्रमुख हर्कराज राईले धनीपुर्जा वितरण गरेपछि बिक्री गरेर अन्यत्र जान नहुने बताए । उनले भने, ‘सबै नागरिकलाई टहरा बनाउने अधिकार छ ।’ उनले सुकुम्बासीका नाममा जानीबुझी खोला किनारामा बस्न जाने र संरक्षणका लागि जाली माग्न आउने बताए ।
सम्पर्क व्यक्ति सापकोटाले निस्सा वितरण गरे पनि दाबी विरोधका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई ७ दिने सूचना प्रकाशित गर्ने बताए । उनका अनुसार अब सबै वडादेखि निस्सा वितरण गरिनेछ । उनले असोजभित्र राई टोलका ४० जनालाई धनीपुर्जा उपलब्ध गराउने बताए ।
धरान उपमहानगरको तथ्याङ्कअनुसार भूमिहीन दलित १ हजार २ सय ५, भूमिहीन सुकुम्बासी ३ हजार ७ सय २५ छन् भने अव्यवस्थित बसोबासीहरू ८ हजार २५ रहेका छन् । नाप नक्साका लागि फित्तालगायतका आवश्यक सामग्री पनि प्राविधिकलाई हस्तान्तरण गरिएको छ ।