भद्रपुर । झापाको एक सरकारी विद्यालयका प्रधानाध्यापकले शिक्षकलाई थप रकम दिने गरेको विषय गलत भएको छ । भद्रपुर नगरपालिका वडा नं। ४ मा रहेको जनकल्याण आधारभूत निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक बालानाथ रेग्मीले विद्यालयका चार जना शिक्षकलाई थप तलब दिने गरेको विषय गलत भएको पाइएको हो । 

विद्यार्थीको शैक्षिक सुधार गर्ने भन्दै प्रधानाध्यापक रेग्मीले चार जना शिक्षकलाई  मासिक २१ हजार रुपैयाँ दिँदै आएको बताएका थिए । नक्कली विद्यार्थी देखाएर भद्रपुर नगरपालिकाबाट रकम बुझी आर्थिक हिनामिना गर्दै आएका रेग्मीले कम्प्युटर शिक्षक शुसन तामाङलाई ६ हजार, अङ्ग्रेजी शिक्षक निता किस्कु, नेपाली शिक्षक तमन्ना राजवंशी र गणित शिक्षक भुवन बस्नेतलाई थप जनही ५ हजारका दरले मासिक रकम दिने गरेको सञ्चारकर्मीलाई बताएका थिए ।

नक्कली विद्यार्थी  देखाएर लाखौँ हिनामिना शीर्षकमा ब्लाष्ट टाइम्स दैनिकमा समाचार सार्वजनिक भएपश्चात् ती शिक्षकले थप रकम नबुझेको दाबी गरे । मासिक तलब बाहेक अन्य कुनै पनि रकम नबुझेको उनीहरूको भनाइ छ । हेड सरले तलब बाहेक अन्य रकम नदिएको उनीहरूको भनाइ छ । गलत समाचार दिएर शिक्षकमाथि आँच आउने काम गरेको भन्दै प्रधानाध्यापकप्रति उनीहरूले गुनासो गरेका छन् । 

नक्कली विद्यार्थीको नामा दर्ता गरी भर्ना भएको भन्दा दोब्बर विद्यार्थी सङ्ख्या देखाएर प्रधानाध्यापक रेग्मीले लाखौँ रुपियाँ हिनामिना गर्दै आएका छन् । रेग्मीले अभिभावक सहयोग भन्दै प्रति विद्यार्थी १ सय ५० रुपैयाँ विद्यार्थी भर्ना शुल्क,स्थानान्तरण सर्टिफिकेट बापत ५ सय रुपैयाँ लगायत विभिन्न शीर्षकमा रकम लिएको जानकारी दिए पनि बिल भौचर भने देखाउन नसकेपछि उनको क्रियाकलाप शङ्कास्पद रहेको पुष्टि भएको छ । 

विद्यार्थी सङ्ख्या बढी देखाएका रेग्मीले प्रत्येक कक्षा कोठमा भौतिक सामग्री भने विद्यार्थीको अनुपातमा नमिल्ने प्रस्ट देखिएको थियो । समाचार सार्वजनिक भएपश्चात् नगर शिक्षा शाखा प्रमुख प्रेम बहादुर भुजेलको समूह विद्यालयमा पुगी प्रधानाध्यापकसँग जानकारी लिएको बुझिएको छ ।  

कक्षा १ देखि ७ सम्म सञ्चालन हुँदै आएको विद्यालयले सक्कली विद्यार्थी अनुमानित ७० जना मात्रै रहेकोमा नक्कली विद्यार्थी देखाएर जम्मा १७३ जनाको हाजिरी फेला परेको छ ।