धरान । नेपालका जनपक्षीय गायक जेवी टुहुरेको स्मृतिमा धरानमा शुक्रबार हुन लागेको ‘जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान’ कार्यक्रमको तयारी पूरा भएको छ ।
धरानमा जन्मिएका टुहुरेको गत वर्ष निधन भएको थियो । धरानबाटै ‘नयाँ लहर’ समूहबाट गीतसङ्गीतको क्षेत्रमा प्रवेश गरेका टुहुरेको प्रथम वार्षिक स्मृति कार्यक्रमको अवसरमा कार्यक्रम गर्न लागिएको जेवी टुहुरे स्मृति फाउन्डेसनका सदस्य सचिव राजेश थापाले बुधबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार गीतकार लब प्रभान मित्रलाई सम्मान गरिने भएको छ । साङ्गीतिक कार्यक्रममा धरान र काठमाडौँका ख्यातीप्राप्त गायकगायिकाले प्रस्तुति दिने कार्यक्रम छ । जसमा धरानमै जन्मिई काठमाडौँलाई कर्मथलो बनाउँदै आएका दीप श्रेष्ठ, प्राश्ना शाक्यलगायतले प्रस्तुति दिँदै छन् । कार्यक्रम भानुचोकमा गरिन लागिएको छ । धरान सङ्गीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका ध्वनि तथा प्रकाश संयोजक सुवर्ण श्रेष्ठले जनपक्षीय गायक टुहुरेको सम्मानमा धरानमा कार्यक्रम गर्न पाउनु खुसीको कुरा रहेको बताए ।
धरानका तर्फबाट कार्यक्रमलाई भव्य तथा सभ्य बनाउन भरमग्दुर प्रयास हुने उनले बताए । त्यस्तै स्टेज व्यवस्थापन संयोजक मनिष खड्गीले पनि टुहुरे धरानमै जन्मिएर विभिन्न स्थानमा कर्मथलो बनाउँदै काठमाडौँमा आफ्नो जीवनको इहलीला समाप्त गरे पनि धरानमा पहिलो वार्षिकी कार्यक्रम राख्नु पाउनु खुसीको कुरा रहेको बताए । धरानको खड्गी सेवा समितिले पनि संयोजन गरेको छ भने धरान सङ्गीत प्रतिष्ठानले सहसंयोजनको भूमिका निर्वाह गरेको छ ।
कार्यक्रमको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ । त्यस्तै कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, सभामुख प्रदीपकुमार भण्डारी, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी सदस्य रकम चेम्जोङलगायतको उपस्थिति रहने कार्यक्रम छ । कार्यक्रमका लागि काठमाडौँबाट कलाकारहरू आइसकेको र अहिले ‘रिहर्सल’मा व्यस्त रहेको जनाइएको छ ।