झापाको बिर्तामोड क्षेत्रमा सञ्चालित अधिकांश अस्पतालले बिरिङ खोलामा ‘अस्पतालजन्य फोहोर’ फाल्ने गरेको समाचार र तस्बिरहरू सार्वजनिक भए । अस्पतालका फोहोर खोलामा फालिनु कानूनी रूपमा मात्रै गलत नभई पर्यावरणीय र वातावरणीय हिसाबमा पनि गलत हो । किनकि खोला थुप्रै खालका जीवहरूको बासस्थान हो । उनीहरूको रक्षार्थ पनि मानवले भूमिका खेल्नुपर्छ । नेपालले थुप्रै खालका महासन्धिहरूमा हस्ताक्षर गरेको छ। मानवको अधिकारलाई मात्रै ख्याल गरिनु समग्र प्रकृतिका लागि हितकर होइन । यहाँका अस्पतालहरूले जुन कर्म गरेका छन् वा अस्पतालको फोहोर फाल्नका लागि ठेक्का लिएका अधिकारप्राप्त ठेकेदारहरूले जुन गतिविधि गरेका छन्, त्यो गतिविधि अक्षम्य छ । यसका लागि उनीहरूलाई तुरुन्त कारबाहीको दायरामा ल्याई क्षतिपूर्ति पनि भराउनुपर्छ । खोलाको पानी जीवजन्तु, घरपालुवा जनावर तथा वनका जनावरहरूले पनि पिउँछन् । त्यहाँ थुप्रै खालका सरिसृप प्राणी तथा जलजन्य प्राणीहरूको पनि बसोबास रहेको हुन्छ । यस्तो थाहा हुँदाहुँदै पनि गल्ती गर्ने अस्पताल तथा ठेकेदारलाई कारबाही गरिएन भने चाहिँ ठूलो भुल हुनेछ । आगामी दिनमा पनि यस्ता गल्तीहरू दोहोरिनेछन् ।
हालै समाचार तथा तस्बिरहहरू प्रकाशित भएपछि मात्रै यो कुरा बाहिर आएको छ । यो काम वर्षौंदेखि भइरहेको थियो कि ? यतातिर पनि सम्बन्धित निकायले ध्यान दिनुपर्छ । खोला चलायमान हुन्छ । त्यसकारण त्यहाँ फालिएका फोहोरहरू एउटा स्थानबाट अर्को स्थानमा पुगेर त्यसले वातावरणलाई थप प्रदूषित बनाउँछ । वातावरणीय हिसाबले पनि मानवका लागि पनि प्रतिकूल हुन्छ भने जीवजन्तुका लागि पनि प्रतिकूल हुन्छ । यस्तो प्रतिकूलता निम्त्याउने गतिविधि गर्ने ठेकेदार कम्पनी र अस्पताललाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ । अहिले विश्वको बहस वातावरण र पर्यावरणसँग छ । प्रदूषणका कारण बर्सेनि लाखौं मानिसले ज्यान गुमाउँदै आएका छन् । अन्य रोगका कारणले भन्दा प्रदूषणका कारणले मानिसलाई थुप्रै खालका रोगहरूले सताइरहेको छ । क्यान्सरलगायत यस्तै अन्य प्राणघातक रोगहरू कुनै न कुनै रूपमा प्लाष्टिकजन्य फोहोर, अस्पतालजन्य फोहोरहरूका कारणले लागिरहेका छन् । यस विषयलाई मनन् र चिन्तन नगरिने हो भने हामी हाम्रै कारणले समस्यामा पर्नेछौं । त्यतिबेला हामी धेरै ढिला भइसकेको हुनेछ ।
यहाँ झापाका प्रमुख जिल्ला अधिकारीले चासो व्यक्त गरेको कुरा आएको छ । प्रजिअले चासो मात्रै हैन, त्यस्ता अस्पतालमाथि क्षतिपूर्ति तिराउने र मुद्दातर्फ नै जानुपर्ने अवस्था देखिन्छ । देख्दा सामान्य देखिए पनि यो गम्भीर विषय हो भनेर बुझ्न आवश्यक छ । वातावरण रक्षार्थ स्थानीय तहहरूले लाखौं रकम खर्चिरहेका छन् । प्रदेश तथा सङ्घीय सरकारले पनि वातावरण तथा पर्यावरणको रक्षार्थ बजेट खन्याइरहेको अवस्था छ । तर, राज्यको कानून मान्छु भन्ने निकायबाटै गलत गतिविधि हुन्छ भने उनीहरूलाई कारबाहीको दायरामा ल्याउने कि नल्याउने ? प्रश्न यो हो । आज जति पनि अस्पतालहरू खुलेका छन् । उनीहरूको राज्यप्रति, नागरिकप्रति तथा वातावरणप्रति दायित्व छैन ? पक्कै पनि दायित्व छ । त्यसकारण बिरिङ खोलालाई फोहोर फाल्ने डम्पिङ साइट बनाइने हो भने त्यसले वातावरणमा नराम्रो प्रभाव पार्नेछ र भविष्यमा खोला हाम्रा लागि रोगका घर हुनेछन् । त्यसतर्फ चाहिँ गम्भीर हुन आवश्यक छ । किनकि खोलाबाट सिंचाइ गर्नेदेखि लिएर पौडी खेल्नेसम्मको गतिविधि हुन्छन् । यस्ता फोहोरका कारणले खोलाको स्वच्छता समाप्त हुन्छ अनि मान्छेलाई थुप्रै खालका रोगहरूले आक्रान्त बनाउनेछ । त्यसको दोषी अरू कोही नभएर अस्पतालहरू नै हुन् । त्यसतर्फ राज्य र राज्यका निकाय चनाखो होस् र तुरुन्त कारबाहीको दायरामा ल्याइयोस् ।