भद्रपुर । झापाको एक सरकारी विद्यालयका प्रधानाध्यापकले शिक्षकलाई थप रकम दिने गरेको बताए पनि शिक्षकहरूले भने कुनै थप रकम नपाएको बताएका छन् ।
भद्रपुर नगरपालिका वडा नं. ४ मा रहेको जनकल्याण आधारभूत निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक बालानाथ रेग्मीले विद्यालयका चार जना शिक्षकलाई थप तलब दिने गरेको बताएका थिए । विद्यार्थीको शैक्षिक सुधार गर्ने भन्दै प्रधानाध्यापक रेग्मीले चार जना शिक्षकलाई मासिक २१ हजार रुपैयाँ दिँदै आएको बताएका थिए ।
नक्कली विद्यार्थी देखाएर भद्रपुर नगरपालिकाबाट रकम बुझी आर्थिक हिनामिना गर्दै आएका रेग्मीले कम्प्युटर शिक्षक सुुसन तामाङलाई ६ हजार, अङ्ग्रेजी शिक्षक नीता किस्कु, नेपाली शिक्षक तमन्ना राजवंशी र गणित शिक्षक भूवन बस्नेतलाई जनही ५ हजारका दरले मासिक थप रकम दिने गरेको सञ्चारकर्मीलाई बताएका थिए ।
‘नक्कली विद्यार्थी देखाएर लाखौँ हिनामिना’ शीर्षकमा ब्लाष्ट टाइम्स दैनिकमा समाचार सार्वजनिक भएपश्चात् ती शिक्षकले थप रकम नबुझेको दाबी गरे । मासिक तलबबाहेक अन्य कुनै पनि रकम नबुझेको र प्रअले तलबबाहेक अन्य रकम नदिएको उनीहरूको भनाइ छ ।
नक्कली विद्यार्थीको नाम दर्ता गरी भर्ना भएको भन्दा दोब्बर विद्यार्थी सङ्ख्या देखाएर प्रधानाध्यापक रेग्मीले लाखौं रुपैयाँ हिनामिना गर्दै आएका छन् । रेग्मीले अभिभावक सहयोग भन्दै प्रतिविद्यार्थी १ सय ५० रुपैयाँ विद्यार्थी भर्ना शुल्क, स्थानान्तरण प्रमाण–पत्र बापत ५ सय रुपैयाँलगायत विभिन्न शीर्षकमा रकम लिएको जानकारी दिए पनि बिल भौचर भने देखाउन नसकेपछि उनको क्रियाकलाप शङ्कास्पद रहेको पुष्टि भएको छ ।
विद्यार्थी सङ्ख्या बढी देखाएका रेग्मीले प्रत्येक कक्षा कोठामा भौतिक सामग्री भने विद्यार्थीको अनुपातमा नमिल्ने प्रष्ट देखिएको थियो । समाचार सार्वजनिक भएपश्चात् नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेलको टोली विद्यालयमा पुगी प्रधानाध्यापकसँग जानकारी लिएको बुझिएको छ ।
कक्षा १ देखि ७ सम्म सञ्चालन हुँदै आएको विद्यालयले सक्कली विद्यार्र्थी अनुमानित ७० जना मात्रै रहेकोमा नक्कली विद्यार्थी देखाएर जम्मा १ सय ७३ जनाको नाम हाजिरी खातामा उल्लेख गरेको फेला परेको छ ।