धरानमा केही समययता एकपछि अर्को धारिलो हतियार प्रहारका घटना भएका छन् । यस्ता घटनाबाट केहीको ज्यानसमेत गएको छ भने केही घाइते भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार धरानमा बर्सेनि आपराधिक घटना बढिरहेका छन् । यसबाट आम नागरिकमा असुरक्षाको वातावरण सिर्जना भएको छ । इलाका प्रहरी कार्यालयको तथ्याङ्कअनुसार धरानमा आर्थिक वर्ष २०७६÷०७७ मा कर्तव्य ज्यानका २ वटा मात्र घटना भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा त्यसको दोब्बर ४ वटा र गत आर्थिक वर्षमा त्यसको पनि दोब्बर ८ वटा घटना भए । अन्य आपराधिक घटनाको सङ्ख्या पनि बढेको तथ्याङ्क देखिन्छ । तर, धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई भने आफूले शान्ति सुरक्षामा सुधार ल्याएको दाबी गर्दै सामाजिक सञ्जालमा गलत कुरा सम्प्रेषण गरिरहेका छन् । नगर प्रमुख बनेको तीन महिना बित्दा पनि उनले शान्ति सुरक्षाका लागि उल्लेखनीय काम गर्न सकेका छैनन् । नागरिकको सुरक्षाका लागि सरकारले प्रहरी कार्यालयहरू स्थापना गरेको छ । धरानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनादेखि राष्ट्रिय अनुसन्धान विभागसम्मका सुरक्षासम्बन्धी कार्यालयहरू स्थापना गरिएका छन् । नगर प्रमुख राईले यी सुरक्षा निकायहरूसँग समन्वय गरेर धरानको सुरक्षाका लागि भूमिका खेलेको देखिंँदैन ।
नगर प्रमुख राईले आफूले सय दिनमा गरेका उपलब्धि भन्दै शान्ति सुरक्षामा सुधार ल्याएको दाबी गरे पनि के केमा सुधार भयो ?, पहिला कस्तो थियो र अहिले कस्तो भयो ? भन्ने खुलाएका छैनन् । हचुवाका भरमा शान्ति सुरक्षामा सुधार भएको भन्ने उनको दाबी प्रहरीको तथ्याङ्कले नै खन्डन गर्छ । धरानको समग्र आपराधिक घटनाको तथ्याङ्क हेर्दा पनि हरेक वर्ष आपराधिक ग्राफ बढ्दो छ भने तीन महिना यता अर्थात् राई नगर प्रमुख भएर आएपछिका दिनमा पनि धारिलो हतियार प्रहार, झै–झगडादेखि विभिन्न प्रकारका घटना बढिरहेका देखिन्छन् । आपराधिक घटना बढ्नुमा प्रहरीको पनि कमी कमजोरी हुनसक्छ । धरानमा वडा प्रहरी, इलाका प्रहरी कार्यालयदेखि ठाउँ–ठाउँमा प्रहरी बिट स्थापना गरिएको छ । त्यसबाहेक सङ्घीय प्रहरी इकाई कार्यालयसमेत रहेको छ । तर, शान्ति सुरक्षाको अवस्था किन खस्किरहेको छ ? भन्ने बारे यहाँको नागरिक समाजले समेत आवाज उठाएको छैन । धरानको शान्ति सुरक्षा खस्किँदा यहाँको व्यापार–व्यवसायमा पनि प्रत्यक्ष असर पर्छ । यसले समग्र धरानको आर्थिक अवस्था खस्किने सम्भावना बढ्छ । सुरक्षाको जिम्मेवारी पाएका प्रहरी कार्यालयहरूले यहाँको समुदायसँग सहकार्य गरेर आपराधिक गतिविधि नियन्त्रण गर्न सक्छन् तर, समुदायसँग हातेमालो हुने किसिमका काम हुन सकेका छैनन् । अहिले स्थानीय सरकारसमेत भनिने स्थानीय तहले यहाँको शान्ति सुरक्षाका लागि सबैभन्दा महŒवपूर्ण भूमिका खेल्नु आवश्यक छ । यद्यपि धरान उपमहानगरपालिकाबाट पर्याप्त मात्रामा शान्ति सुरक्षाका लागि छलफल र बहस भएको पाइँंदैन । प्रहरी र नागरिकसँग समन्वयकारी भूमिका खेल्न स्थानीय तहले सक्ने भए पनि त्यतातिर ध्यान पुगेको देखिँंदैन ।
धरानमा शान्ति सुरक्षा कमजोर भएको विषयमा स्थानीय बुद्धिजीवी, नागरिक समाजले चासो लिनु आवश्यक छ । आपराधिक घटना बर्सेनि बढिरहनु धरानको विकासका लागि दुःखद् हो । यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर चासो लिनु र योजना बनाएर काम गर्नु उपमहानगरपालिकाको पनि जिम्मेवारी हो । आपराधिक घटना न्यूनीकरण गर्न कुनै एउटा निकायले मात्र सम्भव हुँदैन । त्यसैले प्रहरी प्रशासन, स्थानीय तह र नागरिक समाज तथा व्यापारी व्यवसायी सबैको साथ सहयोग आवश्यक हुन्छ । त्यसका लागि उपमहानगरपालिकाले समन्वय गर्न जरुरी छ । सामाजिक सञ्जालमा शान्ति सुरक्षामा सुधार आएको भनेर गलत कुरा लेख्नु अहिलेको अवस्थामा लज्जाको विषय हो । सामाजिक सञ्जालमा लेख्नुभन्दा पहिला सबै पक्षसँग समन्वय गरी सुधारको पहल गर्नसके मात्र धरानका लागि हितकर हुन सक्छ ।