धरान । मोरङको विराटनगरका छुट्टाछुट्टै स्थानमा भएको घटनामा महिला र पुरुष गरी दुईजनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–११ स्थित केशरी निपेट वर्कसप कपडा फ्याक्ट्रीमा कार्यरत एक पुरुषको करेन्ट लागेर ज्यान गएको हो । उनी मेसिन सञ्चालक हुन् ।
मृत्यु हुनेमा विराटनगर–१ पोखरियाका ५५ वर्षीय लालविहारी कामत रहेको प्रहरीले जनाएको छ । उनलाई मेसिनबाट अचानक करेन्ट लागेर गम्भीर घाइते बनेका थिए । घाइते बनेका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि मृत्यु भएको चिकित्सकले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
त्यस्तै कोसी लोकमार्गअन्तर्गत विराटनगर–३ खारजीमा टेम्पोको ठक्करबाट ७७ वर्षीया वृद्धाको ज्यान गएको छ । बाटो काट्दै गरेकी पैदयात्री विराटनगर–१२ की ७७ वर्षीया हिमा निरौलाको टेम्पोको ठक्करबाट ज्यान गएको हो ।
मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजकुमार कार्कीका अनुसार प्रदेश १–००२ ह ३९२ नम्बरको टेम्पोले वृद्धालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बनेकी उनको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा ज्यान गएको हो ।
दुर्घटनामा संलग्न टेम्पो चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१० का ३८ वर्षीय गौरव कुरुम्वाङलाई नियन्त्रणमा लिइएको छ । उनी पनि सामान्य घाइते बनेका थिए ।