पथरी । मोरङ कानेपोखरी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका बुहारीहरुलाई निःशुल्क स्नातक तह अध्यापन गराउने भएका छन् ।

‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम अन्तरगत गाउँपालिकाले स्नातकको यस शैक्षिक सत्रदेखि बुहारीहरुलाई अध्यापन गराउने भएको हो । बुहारीहरुले वडा नं. ५ मा रहेको रमाइलो बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्दा लाग्ने सम्पूर्ण शुल्क गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको छ ।

बिहीबार गाउँपालिका अध्यक्ष राजमती इङ्नामको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको छ । गाउँपालिका क्षेत्रभित्रका परिवारका बुहारीहरुलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गराउन यो कार्यक्रम ल्याइएको गाउँपालिका उपाध्यक्ष भोला अधिकारीले बताए ।

कानेपोखरी गाउँपालिकाको बाह्रौं गाउँसभाले ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम सम्बन्धी नीति तथा कार्यक्रम पास गरेको थियो । परिवारमा सासू भए सासूले नभएका सगोल परिवारका बुढी सासु, काकी सासु, बढीआमा सासु, आमाजु वा जेठानीले बुहारीलाई स्नातक तह अध्ययनको लागि क्याम्पस भर्ना गर्न स्वयं निवेदक भई जानु पर्ने हुन्छ ।

त्यसैगरी कानेपोखरी गाउँपालिका क्षेत्रभित्रका बुहारी कानेपोखरी बाहिरको क्याम्पसमा स्नातक तह अध्ययन गरिरहेको छ भने गाउँपालिकाले सासूलाई सम्मान गर्ने पनि कार्यक्रम रहेको प्रमुख प्रशासकी अधिकृत सन्तोष घिमिरेले बताए ।

यस अघि सूचना निकाल्दै कानेपोखरी क्षेत्र भित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रछात्राको भर्ना शुल्क १ हजार र मासिक शुल्क ४ सयको दरले गाउँपालिकाले व्यहोर्ने गरी निर्णय गरेको थियो ।