भोजपुर । बाँदर आतङ्क बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका शम्भु नेपाल ड्रागन फ्रुट खेतीतर्फ आकर्षित भएका छन् ।

तुलफूल लगाएमा बाँदरले अन्नबाली सबै खाने गरेका कारण उनी हैरान थिए । तर, अहिले बाँदरको हैरानीबाट मुक्त मात्रै भएका छैनन् । ड्रागन फ्रुटबाट राम्रो आम्दानी लिने कृषक पनि बनेका छन् । विगत तीन वर्षदेखि उनलाई एक प्रकारको शान्ति छ । उनले ४२ रोपनी जग्गामा ड्रागन फ्रुट खेती गरेका छन् । जहाँबाट वार्षिक १४ देखि १८ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘बाँदरदेखि हैरान थिएँ । विकल्पको खोजी गरिरहेको थिएँ । ठिक्क ड्रागन फ्रुटको खेतीबारे सुनियो, देखियो । त्यसपछि खेती सुरु गरेँ ।’

उनी अहिले शान्तिसँग बसेका छन् । उनले फलफूल तथा कृषि फर्म दर्ता गरी खेती गर्दै आएका छन् । बजारको माग र मूल्य पनि राम्रो भएका कारण अहिले खुसी छन् । ‘बाँदरले खाइदेला भन्ने चिन्ता पनि छैन, आम्दानी पनि राम्रै हुन थालेपछि खुसी छु’–उनले भने । ड्रागन फ्रुट छोटो समयमै उत्पादन दिने फल हो । अहिले धेरै कृषकहरूको रोजाइको खेती भएको छ । बाँदर लाग्ने क्षेत्रका कृषकहरूको रोजाइ नै ड्रागन फ्रुट हुने गरेको छ ।

सोही स्थानका अर्का कृषक नरबहादुर गुरागाईं पनि अहिले ड्रागन फ्रुट खेतीबाट सन्तुष्ट छन् । बाँदरको विकल्प ड्रागन फ्रुट भएको उनको भनाइ छ । ‘जमिनमा केही लगाउनै हुन्नथ्यो, बाँदरले सखाप पारिहाल्ने’ उनले भने, ‘कति धपाउने, कति खेदाउने, हामी त हैरान भएका थियौँ । अब भने ढुक्क छ ।’ रोपेको दुई वर्षमै फल दिने भएकाले पनि ड्रागन फ्रुट उत्तम विकल्प बनेको उनको भनाइ छ । ‘आम्दानीका लागि लामो समय कुर्नु पर्दैन । दुई वर्ष पर्खिने बित्तिकै उत्पादन दिइहाल्ने रहेछ’–उनले भने ।

गुरागाईं कृषिमा दुईवटा समस्याबाट जुधिरहेका थिए । एउटा त सिंचाइ अभाव, अर्कातिर बाँदरको आतङ्क । अहिले ती दुवै समस्याको हल निस्किएको छ । ग्रामीण क्षेत्रको साझा समस्याका रूपमा सिंचाइ र बाँदर आतङ्क हो । धेरै कृषकहरू बसाइँ सर्न थालेका थिए । ‘तर, विकल्पहरू खोज्दा त हुने रहेछ’ गुरागाईं भन्छन्, ‘अहिले यो होला भन्ने चिन्ता पनि छैन, त्यो होला भन्ने चिन्ता पनि छैन ।’ ग्रामीण क्षेत्रमा ड्रागन फ्रुट, कागती, टिमुर र मेकाडिया नट जस्ता फलफूल र नगदेबालीतर्फ अहिले गाउँका कृषक आकर्षित छन् ।

गाउँघरमा अहिले ड्रागन फ्रुटमा आकर्षण छ । तर, बजारको माग धान्न सकेका छैनन् । उत्पादनभन्दा बजार माग बढेका कारण पनि माग धान्न नसकेको शम्भु नेपालको भनाइ छ । स्थानीय बजारमा प्रतिकिलो पाँच सय रुपैयाँदेखि सात सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । भोजपुुरको टेम्केमैयुुङ गाउँपालिका, हतुवागढी गाउँपालिका र भोजपुुर नगरपालिकामा गरी ८८ रोपनी जग्गामा ड्रागन फ्रुट खेती गरिएको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ ।