विराटनगर । मोरङको पूर्वी नाकाबाट गहुँ तस्करी हुने गरेको पाइएको छ । भारतबाट अवैध रूपमा मोरङको सुनवर्षी नगरपालिकाको दक्षिणी सीमावर्ती क्षेत्रबाट गहुँको तस्करी हुने गरेको पाइएको हो ।

सशस्त्र प्रहरीले भारतबाट तस्करी भएर आएको ठूलो परिमाणमा गहुँ बुधबार राती बरामद गरेको छ । रतुवामाई नगरपालिका – १ हटियाडाँडामा नेपाल भारत सीमा क्षेत्र सोनापुरबाट हटियाडाँडातर्फ आउदै गरेको को १ ख ४२२१ नम्बरको ट्रकमा लोड भएको १२० बोरा १० हजार ५० केजी गहुँ सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) बरंगाबाट खटिएको प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरीले बरामद गरेको गहुँ ४ लाख ७२ हजार ५ सय बराबरको रहेको छ । तस्करीको गहुँ लोड गरी ल्याउने ट्रकको सवारी चालक सुनवर्षि नगरपालिका ४ का ४८ वर्षीय इन्द्रदेव राजवंशीलाई पनि पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।

भारतबाट निर्यातमा प्रतिबन्ध लगाएको गहुँ अवैध रूपमा नेपाल ल्याएको पाइएपछि नियन्त्रणमा लिएको एसपी लामिछानेले बताए । ‘क्यारिङमार्फत भरिया प्रयोगि गरी भारतको विभिन्न स्थानबाट नेपाल–भारतको सीमावर्ती क्षेत्रको घरहरूमा भण्डारन गरी गहुँ राख्ने गरेको पाइयो ।

नेपालतर्फ छिराएपछि सीमावर्ती क्षेत्र दशगजामा च्याउसरी खुलेको काटाले नक्कली बिज बिजक जारी गरी स्वदेशमा उत्पादन भएको गहुँ भन्दै विराटनगरसहितको पूर्वी सहरमा पढाउने गरेको पाइएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने ।

सशस्त्र प्रहरीले बरामद गरेको गहुँ कसको हो त्यो खुलीनसकेको प्रहरीले जनाएको छ । बरामद गरेका गुहँ ४ लाख ७२ हजार ५ सय  र ट्रकको १५ लाख गरी १९ लाख ७२ हजार ५ सय रूपैयाँ मुल्याकन गरी  आवश्यक कारबाहिको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।