विजयपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)लाई संविधानसभा सदस्य बनाएकोमा गर्व महसुस भएको बताएका छन् ।
शुक्रबार धरानमा जनगायक जेबी टुहुरे फाउन्डेसनले आयोजना गरेको ‘जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान’ कार्यक्रमको उद्घाटन गर्दै संविधान सदस्य बनाएकोमा गर्व महसुस भएको बताएका हुन् । उनले भने, ‘जनताका गीत गाउन जेबी टुहुरेलाई हाम्रै पार्टीबाट प्रस्तुत गरी संविधान सभा सदस्य बनाएर ठीक गरेँछु । आज गर्व महसुस भएको छ ।’
उनले आफू २०३५÷०३६ मा कम्युनिष्ट आन्दोलनमा पूर्णकालीन भएको बेला गुनगुनाउँदै हिँड्ने ‘बसाइँ हिँड्नेको ताँतीले’ गीतका रचनाकार लब प्रधान ‘मित्र’लाई सम्मान गर्न पाउँदा हर्षित भएको बताए । उनले धरान–१३ स्थित सर्दु खोलामा जनगायक टुहुरेको स्मृतिमा वृक्षरोपण गर्दै भने, ‘आज जेबी टुहुरेको वार्षिकी पनि हो, उहाँलाई सम्झेको छु र यो बिरुवा उहाँकै लागि समर्पित गरेँ ।’ उनले अगाडि भने, ‘म पार्टीका साथीहरू र देशका श्रमजीवीहरूलाई हर्कको व्यवहार र आचरणबाट प्रेरणा लिन अनुरोध गर्छु ।’ प्रमुख साम्पाङले आफ्नो निम्तोअनुसार धरान आएर माओवादी अध्यक्ष प्रचण्डले बिरुवा रोपेको भन्दै खुसी व्यक्त गरे ।
उपप्रमुख बेघाले अध्यक्ष प्रचण्डकै इच्छाअनुसार बिरुवा रोप्न आएको जानकारी दिए । जनगायक टुहुरेले गाएको ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ, लाखौँका लागि उजाड छ, यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ गीतका रचनाकार लब प्रधान ‘मित्र’ सम्मानित भएका छन् । उनी १ लाख नगदसहित ‘जेबी टुहुरे स्रष्टा सम्मान’ बाट सम्मानित भएका हुन् ।
धरानको भानुचौकमा साङ्गीतिक कार्यक्रममा काठमाडौँ तथा धरानका स्रष्टा तथा कलाकारहरूले प्रस्तुति दिएका थिए । वरिष्ठ गायक दीप श्रेष्ठदेखि धरानका गायक प्रशान्त शर्मासम्मले गीत प्रस्तुत गरेका थिए । जसमा ख्यातीप्राप्त वाद्यवादकहरूले आफ्ना कौशल प्रस्तुत गरेका थिए । वि.सं. २००१ मा धरानमा जन्मिएका टुहुरेले कर्मथलो भने काठमाडौँ बनाएका थिए । उनको गत वर्ष भदौ १० गते काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो । जनपक्षीय गायक टुहुरेको प्रथम स्मृतिमा धरानमा कार्यक्रम गरिएको हो । जसमा धरानको खड्गी सेवा समिति र धरान सङ्गीत प्रतिष्ठानले पनि सहकार्य गरेको छ ।