सङ्खुवासभा । सङ्खुवासभा जिल्लाको अति दुर्गम गाउँपालिका भोटखोलामा उपाध्यक्षसँग सुत्केरी आमा पोषण कार्यक्रम सुरु गरिएको छ ।
चालु आर्थिक वर्षदेखि लागू गर्ने गरी गाउँपालिकाले नीति तथा कार्यक्रममा सुत्केरी हुने आमाहरूको ध्यानमा राखी यो कार्यक्रम तय गरेको थियो ।
शुक्रबार जिल्ला अस्पतालमा सुत्केरी भएका एक जनालाई उक्त कार्यक्रम अन्तर्गत सहायता प्रदान गरिएको छ । भोटखोला–३ हुङ्गुङका सुन्दर भोटे र पिम्मछेजिक भोटेलाई सहयोग गरिएको हो । करिब ५ हजार बराबरको पोषणका खाद्य सामग्री हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष वाङ्छेदर लामाले जानकारी दिए ।
सुत्केरी भएका आमा तथा परिवारलाई गाउँपालिकाले कुखुरको भाले, कोदोको पिठो, सिस्नुको पाउडर, लोकल अण्डा, गाईको घिउ र गेडागुडी हस्तान्तरण गर्ने गरी कार्यक्रम तय गरिएको छ ।
भौगोलिक विकटताका कारण यस क्षेत्रका आमाहरू सुत्केरी हुँदा स्याहार समेत नपुग्ने भएका कारण आमा र बच्चाको स्वास्थ्यमा समस्या आउने भन्दै कार्यक्रम लागू गरिएको हो । गर्भवती महिला र सुत्केरी आमाहरूको स्वास्थ्यमा ध्यान राखी स्वास्थ्य संस्थामा पहुँच पराउनेसमेत लक्ष्य लिइएको छ । भोटखोला गाउँपालिकाभित्रका जो सुकै सुत्केरी हुँदा पनि यो सुविधा पाउने गरी पालिका अघि बढेको छ ।
आर्थिक रूपमा समेत कमजोर भएका यो क्षेत्रका नागरिकहरूले यो कार्यक्रमबाट लाभ लिएका छन् । स्वास्थ्य संस्थासम्म पु¥याउनसमेत आर्थिक अभाव हुने परिवारलाई पोषणका खाद्यवस्तु पुर्याउन समस्या हुने गरेको छ । यो कार्यक्रमले आमा र बच्चाको स्वास्थ्यमा सहयोग पुग्नुका साथै पोषणसम्बन्धी सचेतना वृद्धि गर्ने विश्वास लिइएको छ ।
पालिकामा पहिलो पटक लागू भएको यो कार्यक्रमले धेरै सहयोग मिलेको स्थानीय बताउँछन् । स्वास्थ्य संस्थासम्म सुत्केरी गराउन जाँदाको आर्थिक भार नै थेग्न गाह्रो हुने परिवारको लागि राहत भएको उनीहरूको भनाइ छ ।