धरान । शुक्रबार साँझ धरानको पुतलीलाइनस्थित फ्रेन्ड्स गार्डेन रेष्टुरेन्टमा रूपक डोटेल, सुमन श्रेष्ठ, प्रदेश लिम्बू र सविन लिम्बूले आ–आफ्ना चर्चित गीतहरू गाएर दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदा गरेका छन् ।
टुबोर्ग फ्रेन्ड्स गार्डेन नाइट कार्यक्रममा प्रदेश लिम्बूले आफ्नो चर्चित गीत ‘आगे आगे तोपैको गोला’ सँगै ‘रिङ रिङ रिङ जाडो लाग्यो’ लगायतका गीतहरू गाएर दर्शकहरूलाई नचाएका थिए भने रूपक डोटेलले ‘सानु माया’, ‘वनकी चरी के भन्छे’ बोलका आफ्ना चर्चित गीतहरूले मनोरञ्जन दिएका थिए ।
गायक सुमन श्रेष्ठ र सविन लिम्बूले पनि आफ्ना केही नयाँ तथा पुराना लोकप्रिय गीतहरू गाएर फ्रेन्ड्स गार्डेन नाइटको साँझमा थप रौनक ल्याएका थिए ।
फ्रेन्ड्स गार्डेनका सञ्चालकसमेत रहेका गायक सुमन श्रेष्ठले कोरोना कहरले बन्द भएको फ्रेन्ड्स गार्डेनले अब पूर्णरूपमा बिहानदेखि साँझसम्म सहुलियत दरमा गुणस्तरीय खानेकुराहरू पस्किने र हरेक महिना १ दिन साङ्गीतिक कार्यक्रम आयोजना गरिने बताए । कार्यक्रमको सञ्चालन इक्सा मादेनले गरेकी थिइन् ।