विराटनगर । विराटनगर भन्सारबाट जाँचपास भएर निस्किएको ठूलो परिमाणको चाइनिज स्याउ प्रहरीले नियन्त्रणमा लिएको छ । चीनबाट भारत हुँदै नेपाल आएको आठ गाडी स्याउ मोरङ प्रहरीले शुक्रबार राति विराटनगर–१३ मलायारोडबाट नियन्त्रणमा लिएको हो ।
भारतीय नम्बर प्लेटका पाँचवटा कन्टेनमार्फत् नेपाल भित्र्याइएको स्याउसहित नेपाली ट्रकमा लोड गर्दै गरेको थप तीन वटा ट्रकसहित जम्मा आठ वटा गाडीमा रहेको चाइनिज स्याउ नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
नियन्त्रणमा लिइएका आठवटै गाडीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको श्रेष्ठले बताए । शनिबार सार्वजनिक बिदा भएकोले राजस्व अनुसन्धान कार्यालयले आइतबार मात्र बुझ्ने भएको छ ।
भारतीय कन्टेनरलाई सडकमै रोकेर नेपाली नम्बर प्लेटका ट्रकमा स्याउ ‘अनलोड’ गर्दैगर्दा मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
‘भारतीय नम्बर प्लेटका ढुवानीका साधनलाई बाटोमा रोकेर नेपाली ट्रकमा सामान ‘अनलोड’ गर्न पाइँदैन । भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामान सम्बन्धित ठाउँमा पु¥याएर मात्रै ‘पल्टी’ गर्नुपर्छ’ डीएसपी श्रेष्ठले भने, ‘भीसीटीएस प्रणालीमा विवरण प्रविष्ट नगरी स्याउ ढुवानी गरिएजस्तो देखिन्छ । मालवस्तुको ढुवानीमा भीसीटीएस प्रणाली अनिवार्य छ ।’
आयात भएको स्याउ कोल्डस्टोर वा सम्बन्धित ठाउँमा नपुर्याई अनलोड गर्न नपाइने व्यवस्था रहेको छ । विराटनगरका विजय फ्रुटका सञ्चालक विजयकुमार चौधरी जैसवालले आयात गरेको स्याउ शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि राजस्व कार्यालयमा पठाएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।
सम्बन्धित ठाउँमा नपु¥याइकन ‘अनलोड’ गरिएको र आवश्यक कागजात उपलब्ध गराउन नसकेपछि शङ्कास्पद लागेर चाइनिज स्याउसहित कन्टेनर र ट्रक नियन्त्रणमा लिइएको उनको भनाइ छ । तेस्रो मुलुकबाट जैसवालले चाइनिज ‘फुजी’ स्याउ आयात गर्दै आएका छन् । उनले आयात गरेको स्याउको भन्सारमा सहजीकरण श्याम क्लियरिङ एजेन्सीका भन्सार एजेन्ट राजेश गुप्ताले गरिदिएका हुन् ।
प्रहरीले गाडीसहित स्याउ नियन्त्रण गर्दा चालकसँग भिसिटिएस थिएन । भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस)मा प्रविष्ट नगरी स्याउ ढुवानी गरेको, कोल्डस्टोरमा पु¥याएर मात्र अनलोड गरिनुपर्नेमा बाटैमा गरेको पाइएपछि भन्सार छली गरेको हुनसक्ने भएको कारणले प्रहरीले स्याउ बोकेको सवारीसाधन नियन्त्रणमा लिएको हो ।
भिसिटिएस राजश्व प्रशासन सुधारका लागि विभागले पछिल्लो समय विकास गरेको सूचना प्रणाली हो । यस प्रणाली अन्तर्गत इन्टरनेटबाटै व्यावसायिक फर्महरूले मालसामान ढुवानी कसरी गर्छन् भन्ने जाँच गरिन्छ । यो प्रणालीमा सामान ढुवानी हुनुभन्दा अघि के, कहाँ, कति, ढुवानीलगायत सबै विवरण प्रविष्ट गर्नुपर्ने नियम छ ।
ढुवानीको सुरुको विन्दु र अन्तिम विन्दुसम्मै विभागले ट्रयाकिङ गरिरहेको हुन्छ । तर, आयात गरेको स्याउको भिसिटिएसको विवरण चालकले उपलब्ध गराउन नसकेको र भन्सार जाँचपास भएका कागजात चालकको साथमा नरहेको एसपी कोइरालाले बताए ।
भारतीय नम्बर प्लेटको एनएल ०१ एई ४७०५, एनएल ०१ एई ३७२२, एनएल ०१ एन २६६३, एनएल ०१ एबी २४१० एनएल ०१ क्यू २२२२, एनएल ०१ एई ३४२२, ना. ५ ख ५६००, को.१ ख ६९३९ र प्रदेश १–०२–००१ ख ८५५६ नम्बरको कन्टेनरमा ल्याएको चाइनिज स्याउ प्रहरीले नियन्त्रणमा लिएको हो ।
चाइनिज स्याउ नेपाल आएपछि भारततिरै तस्करी हुने गरेको छ । ठूलो परिमाणमा आयात भएको चाइनिज स्याउ पनि तेस्रो मुलुकहुँदै नेपाल आउने र तस्करी भएर भारत जाने गरेको स्रोतको दाबी छ । तेस्रो मुलुकबाट आयात भएको चाइनिज स्याउ नेपालमा भन्दा भारतमा ५० देखि ८० रूपैयाँप्रति केजी फाइदा हुने भएपछि तस्करीमा लागेका गिरोहले यसको तस्करी भारततिर गर्दछन् ।