धरान । महिलाहरूको महान् चाड तीजका अवसरमा धरानमा विभिन्न कार्यक्रमसहित  ‘पिपुल सप लायन्स तीज उत्सव’ सम्पन्न भएको छ ।

लायन्स क्लब इन्टरनेशनलका क्षेत्र–५ अन्तर्गत धरानका लायन्स क्लबहरूको आयोजना र पिपुल सप धरान–९ को प्रायोजनमा भएको उत्सवमा महिलाहरूका लागि विभिन्न प्रतियोगितासमेत भएको थियो ।

प्रतियोगितामा मिसेज तीज सोनु राई सुवेदी घोषित भइन् । त्यस्तै मिसेज बेस्ट हेयर स्टाइल टङ्ककुमारी गुरुङ, बेस्ट मेकअप रिना राई र बेस्ट क्याटवाक उषा ढकाल भइन् । कार्यक्रममा क्लबस्तरीय नृत्य प्रतियोगितासमेत भएको थियो । सो प्रतियोगीताको समूहतर्फ लायन्स क्लब अफ धरान बूढासुब्बा र एकलतर्फ लायन्स क्लब अफ धरान पञ्चकन्या घोषित भएका छन् ।

स्थानीय व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न विभिन्न स्टलहरू राखिएको थियो । सोही कार्यक्रममा क्यान्सर पीडित कलाकार युमा रानी लिम्बूलाई १० हजार सहयोग प्रदान गरिएको थियो ।

त्यस्तै लायन्स क्लब अफ धरान पञ्चकन्याले सुरु गरेको शिक्षाका लागि एक रुपैयाँ अभियानको घोषणा गरिएको थियो । धरानका विभिन्न लायन्स क्लबहरूले सुरु गरेको यो अभियानमा ३० जनाले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेर आजीवन सदस्य बनेका थिए । तीज उत्सवमा पनि थप १० जना आजीवन सदस्य बनेका थिए । उत्सवको प्रत्येक टिकटबाट एक रुपैयाँ सङ्कलन गरेर सोही अभियानलाई प्रदान गरिएको थियो । यो अभियान अन्तर्गत अक्षयकोष खडा गरेर पढ्न नपाएकाहरूका लागि सहयोग गरिने बताइएको छ ।

लायन्स क्लब अफ इन्टरनेशनका डिस्ट्रिक गभर्नर धीरज गुरुङ (टिएमजेएफ)को प्रमुख आतिथ्य र लायन्सको क्षेत्र ५ की क्षेत्रीय प्रमुख कविता लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेटशनल, मल्टिपल डिस्ट्रिक ग्लोबल सर्भिस टिमबाट इन्द्र राजन खत्री (टिएमजेएफ), मल्टिपल डिस्ट्रिक इन्टरनेटशनल टेक्नोलोजी टिमबाट लीला ढुङ्गेल (एमजेएफ) लगायतको उपस्थिति रहेको थियो ।