एउटा उखान छ–बोल्दा प्याच्च नबोलौँ । सुन्दा सामान्य लाग्ने यो वाक्यांशको अर्थ गहिरो छ । बोल्दा होस् पु¥याएर बोल्नुपर्छ भन्ने अर्थमा प्रयोग भएको यो वाक्यांश अहिले धरानका नगर पिताको हकमा बढी नै अर्थपूर्ण हुँदै गएको छ । पदभार सम्हालेयता उनले बोलेका शब्दहरूको अर्थ खोज्ने हो भने पक्कै समाजका लागि पाच्य छैनन् । हरेक शब्दको कुनै न कुनै निश्चित अर्थ हुन्छ । ती शब्द समाजका लागि पाच्य हुन्छन् कि हुँदैनन् भन्ने हेक्का चाहिँ नगर पिताजस्तो गरिमामय पदमा बसेकालाई हुनुपर्छ । एउटा सामान्य व्यक्तिले बोल्ने भाषा र पदीय मर्यादामा रहँदा बोल्ने भाषामा केही न केही अन्तर हुन्छ नै र हुनु पनि पर्छ । नगर पितालाई सहज लाग्ने शब्द समाजका लागि पाच्य नहुन सक्छ । उनी जुन ‘स्कुलिङ’ बाट दीक्षित भएका छन् । त्यही स्कुलिङबाट नेपाली समाज दीक्षित भएको हुँदैन र हुनुपर्छ भन्ने छैन । किनकि व्यक्ति र समाज भिन्न वस्तु हुन् । व्यक्ति कुनै परिवारबाट प्रतिनिधित्व गर्छ भने समाज एउटा निश्चित भूगोलमा रहेको हुन्छ र परिवारहरूको समष्टि नै समाज हो । त्यो भूगोलमा फरक धर्म, सम्प्रदाय, जाति, संस्कार र संस्कृतिबाट हुर्किएर आएका हुन्छन् । त्यही कारण नेपालमा तँदेखि मौसुफसम्मका आदरार्थी शब्दहरू छन् । यदि तँ जस्ता निम्न आदरार्थी प्रयोग गर्ने घरबाट हुर्किएको एउटा व्यक्ति पदीय मर्यादामा पुग्दा पनि उस्तै व्यवहार र शब्दको प्रयोग गर्नु कत्तिको न्यायोचित होला ? पदमा पुगिसकेपछि समाजलाई हेरेर व्यवहार गर्नुपर्छ । तर, नगर पितालाई भाषिक ज्ञान थिएन, छैन भन्ने त होइन होला ।

समाज यसरी संरचित भएको हुन्छ कि त्यहाँ विभिन्न समुदाय, सम्प्रदाय, जाति, संस्कार र संस्कृतिको मेल भएर बनेको हुन्छ । त्यो समाजमा सबै खालका भाषा तथा भाषिकाहरूको प्रयोग भएको हुन्छ । राज्यको एउटा सगोल भाषा हुन्छ । त्यो सगोल भाषा अर्थात् सरकारी भाषाकै माध्यमबाट व्यक्ति निर्देशित भएको हुन्छ । हामीकहाँ थुप्रै भाषाभाषी, धर्म, सम्प्रदायका मानिसहरू छन् । हरेक भाषामा शिष्टाचारपूर्वक भाषाको प्रयोग गरिएको हुन्छ । भाषाले एउटा परिवार र समाजलाई जोड्दछ । त्यो समाज कुन स्तरमा छ भन्ने मापन पनि भाषाले गर्दछ । व्यक्तिको मापन मात्रै होइन, समाजको मापन नै भाषा र त्यो भाषामा प्रयोग गरिने शब्दले गरिरहेको हुन्छ । समाज गतिशील हुन्छ । गतिशील समाज जहिल्यै अगाडि बढिरहेको हुन्छ । कहिल्यै पछाडि फर्कंदैन । समाज जसरी अगाडि बढिरहन्छ, त्यसरी भाषा र शब्दहरू पनि थप मानक र सभ्य बन्दै जान्छन् । हिजो कुनै कालखण्डमा बोलिने भाषा हाम्रा लागि अहिले सहज नलाग्न सक्छन् । त्यसकारण भाषाले बढीभन्दा बढी मानिसलाई जोड्ने काम गर्दछ । तर, यहाँ नगर पिताको भाषाले जोड्नेभन्दा पनि भत्काउने काम गरेको प्रतीत हुन्छ । कुनै कालखण्डमा उनी शिक्षक पनि हुन् । शिक्षकलाई पक्कै पनि भाषाको ज्ञान हुन्छ । भलै ऊ जुनसुकै भाषामा पढाओस् । एउटा शिक्षकले समाजमा कस्तो भाषा प्रयोग गर्छ भन्ने हेक्का त पक्कै नगर पितालाई छ होला ।

यहाँ हामीले नगर पितालाई भाषा तथा शब्दको अर्थ बताइरहेका छैनौं त्यसको प्रयोग गर्दा हेक्का राख्नुपर्छ भन्ने मात्रै बताउन खोजेका हौं । किनकि नगर पिता आफै अब्बल छन् । ज्ञाता छन् । खालि एउटा पदीय जिम्मेवारीमा रहँदा र जिम्मेवारी बाहिर रहँदा प्रयोग गर्ने वा बोल्ने भाषामा केही अन्तर हुन्छ भन्ने ज्ञात गराउन खोजिरहेका हौँ । ती अन्तरलाई छुट्याउन सक्ने हो भने मात्रै अनुशासित भइएला । पहिलो कुरा त नगर पिता भएका हैसियतमा सामाजिक सञ्जालमा लेखेर आफ्नो समय खेर फाल्ने होइन । लेख्नै परे पनि आधिकारिक धरान उपमहानगरपालिको ‘लेटर प्याड’ प्रयोग गरेर आफ्ना धारणाहरू सार्वजनिक गर्नुपर्छ । त्यो धारणा नगरको धारणा हो भन्ने बुझ्न पर्छ । अहिले नगर पिताले प्रयोग गरिरहेको शब्द व्यक्तिको होइन, एउटा संस्थाको धारणा हो । संस्थाले बोल्दा के बोल्ने, के नबोल्ने भन्ने हेक्का राख्नैपर्छ । व्यक्तिले बोले जसरी सामाजिक सञ्जालहरूमा बोलेकै कारण उनी सर्वत्र निन्दित र आलोचित बनिरहेका छन् । फेरि अर्कातिर आलोचनालाई स्वीकार गर्न सक्ने क्षमता पनि उनमा देखिँदैन । एउटा सरकारी संस्थाको ओहोदामा बसेका व्यक्तिले पदीय मर्यादालाई नाघ्ने गरी बोल्नु कानूनतः गलत हो । कानूनमा अर्कालाई होच्याउने तथा गालीगलौज गर्ने कार्यलाई अपराध मानिन्छ । नगर पिताले प्रयोग गरेका शब्दको अर्थगत भेद खुट्याउँदा कानूनतः दण्डनीय छन् । यसको हेक्का चाहिँ नगर पिताले राखून् ।