मङ्सिर ४ गते निर्वाचनको घोषणा भएको छ । गठबन्धनमा सिट बाँडफाँड अरू पेचिलो बन्दै गइरहेको छ । गठबन्धनभित्र रहेका दलहरूमा के विश्वास छ भने गठबन्धनबाटै टिकट पाए निर्वाचित हुने ठानेका छन् । यसैकारण सिट बाँडफाँड पेचिलो बनेको हो । यसको अर्थ गठबन्धनले निर्वाचन प्रभावित पार्ने कुरा बुझ्न सकिन्छ । लोकतन्त्रमा निर्वाचन र निर्वाचनको परिणामले देशको लोकतन्त्रमा जनविश्वास र सुशासनको पनि मापदण्ड हुन्छ र मापन गरिन्छ । तर, अहिलेको गठबन्धनभित्र वामपन्थी विचार बोकेका समेतको दह्रो उपस्थिति मात्रै हैन, उनीहरूको गठबन्धनभित्र अर्को गठबन्धनले मङ्सिर ४ को निर्वाचनसमेतमा आफ्नो अनुकूलको सिट बाँडफाँड हुने गरी नेपाली काङ्ग्रेसलाई निर्वाचनमा निर्वाचित भएर आउनेहरूको सङ्ख्यामा सकेसम्म कम गराउने रणनीति अख्तियार गरेको देखिन्छ ।
देशमा प्रजातान्त्रिक लोकतन्त्रात्मक व्यवस्थामा जनविश्वास र जनआधारको साथै न्याय एवम् सुशासन पनि हेर्ने आधार नेपाली काङ्ग्रेस नै हो । वाम शक्तिहरूबाट पटक–पटक लोकतन्त्र र संविधानको मर्ममा भएको प्रहारको आधारबाट अहिलेको पाँच दलीय गठबन्धनबाट देशमा सुशासन र लोकतन्त्रको संरक्षण हुन सक्छ भन्न सकिँदैन ।
गठबन्धनले निर्वाचनमा प्रजातन्त्र र लोकतन्त्रमा आस्था रहेको मतलाई देखाउँछ वा देखाउँदैन, त्यो त गठबन्धनभित्र रहेका अन्य दलको समेत मत देखिन्छ र त्यसमा नेपाली काङ्ग्रेसको समेत मत देखिन्छ । त्यसले देशमा प्रजातन्त्र लोकतन्त्रप्रति कति आस्थावान छन्, कति काङ्ग्रेसप्रति जनआधार छ, त्यो गठबन्धनले प्रभावित पार्नेछ । यसले निर्वाचन प्रभावित गर्नेछ । प्रजातन्त्रमा गठबन्धनको नाममा कुनै पनि कारणबाट निर्वाचन प्रभावित, प्रचारित या प्रसारित गरिन्छ भने त्यसले निर्वाचन स्वस्थ्य र निष्पक्ष हुन दिँदैन र त्यस्तो प्रकारको निर्वाचनले देशमा दिगो राजनीतिक शासन प्रणाली दिन सक्दैन र गणतन्त्रात्मक सविधानमा नै प्रश्नचिन्ह लाग्न सक्छ ।
योभन्दा पूर्व एमाले र माओवादीको गठबन्धनले निर्वाचन मात्रै प्रभावित पारेन दुईतिहाइको सरकारसमेत गिर्न पुग्यो अनि जनमानसमा गणतन्त्र र संविधानमा प्रश्न नै उठायो । यसको मूल कारण हो, लोकतन्त्र र प्रजातन्त्रमा सदैव क्रियाशील रहेको नेपाली काङ्ग्रेस अत्यन्त कमजोर अवस्थामा प्रतिपक्षी रहनु पनि हो । अहिले पुनः पाँच दलीय गठबन्धनले यस्तै अवस्था भित्रिने खतरा देखिँदै छ । यो गठबन्धन निर्माण र उद्देश्य नै नकारात्मक भाव र विचारबाट अभिप्रेरित छ । मात्रै नेकपा (एमाले)लाई कमजोर तुल्याउनु हो र यसमा विशेष गरेर प्रचण्ड र माधव नेपालको द्वेषपूर्ण राजनीतिक प्रतिशोधमात्रै हो, यही अभिष्ट पूरा गर्न नेपाली काङ्ग्रेसलाई प्रयोग गरियो ।
भोलि निर्वाचनको परिणामपछि नेपाली काङ्ग्रेसको अवस्था कस्तो हुन्छ ? त्यसको लेखाजोखा त्यसको राजनीतिक अध्ययन काङ्ग्रेसले गरेको छ कि छैन ? गठबन्धनको नाममा नेपाली काङ्ग्रेसले सिट बाँडफाँडमा आफ्ना कार्यकर्ता को कहाँ र कसरी व्यवस्थापन गर्छ र गर्न नसक्दाको परिस्थितिको कसरी आँकलन गरेको छ, त्यो पनि अहिले नै विचार पुर्याउनु पर्नेछ ।
पाँचदलीय गठबन्धनले भोलि काङ्ग्रेसमा अन्तरघात, विचलन र पार्टी विग्रह पनि गर्न सक्ने अवस्था आउन सक्छ । त्यसको मूल कारण प्रचण्ड र माधव नेपालको रणनीति हुन सक्छ । वाम शक्तिहरू सधैँ प्रजातन्त्र र लोकतन्त्रमा घात गर्ने शक्ति हुन् र त्यसको लागि पहिले काङ्ग्रेसलाई कमजोर बनाउँदै लैजानु र त्यहाँभित्र द्वन्द्व पैदा गर्नु मुख्य उद्देश्य वामशक्ति को रहन्छ । अहिले काङ्ग्रेसभित्र यस्तै दृश्य देखिँदैछ ।
देउवा कस्तो बन्न चाहन्छन् ?
पार्टी सभापति एवम् प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले यो विषयलाई कति गम्भीरतापूर्वक लिएका छन् ? त्यो निर्वाचनपछिको नतिजाले परिणाम देखाउला । पहिलो कुरा त नेपाली काङ्ग्रेसले आस्था राखेको विश्वास गरेको सभापति देउवामा त्यो आस्था र विश्वासले आफूमा अपमानित हुन नपरोस् । त्यो आस्था र विश्वास बोकेका काङ्ग्रेसजनमा देउवाका कारण शिर नझुकोस् । काङ्ग्रेसप्रतिको आस्था देउवाको कारणले दयनीय बन्नु नपरोस् । देउवाको लागि यो अन्तिम अवसर हो, काङ्ग्रेसलाई उठाउने । देउवा आफ्नो कस्तो इतिहास बनाउन चाहन्छन् । योभन्दा पूर्व बनेको इतिहास अझ बिगार्ने हुन् कि अझ सबल र सक्षम हुँदै गर्व गर्नलायक हुने हुन् ।
देउवाको नेतृत्वमा बनेको सरकार उनकै डिजाइनमा भइरहेको गठबन्धन उनैलाई घातक नहोस् अर्थात् काङ्ग्रेसलाई घातक नहोस् । अहिले गठबन्धनमा देउवाको पकडभन्दा पनि प्रचण्डको पकड देखिनुले काङ्ग्रेसमा निराशाजनक स्थिति देखिँदै छ । अहिले काङ्ग्रेसको भर देउवामा मात्रै हैन, देउवाले आफ्नो भर काङ्ग्रेसमा देख्नु पर्छ । त्यो धारणा देउवाले आफूमा धारण गरे काङ्ग्रेस सुध्रने र आपसी द्वेष र मतान्तर पनि हराउँदै जाने हो । यो कुरा सबैले बुझ्नु पर्छ । त्योभन्दा पनि सभापति रहेका देउवाले अझ बढी बुझ्नु पर्छ ।
अहिले काङ्ग्रेस सभापतिसमेत रहेका देउवाप्रति काङ्ग्रेसको विश्वास र आस्थाले काङ्ग्रेसको भोलि चरित्र अझ खराब हुने हो कि सफा हुने हो, त्यो आस्था र विश्वासले काङ्ग्रेसको मार्ग सुगम र सरल हुने हो कि अझ विकट ? काङ्ग्रेसलाई देउवाले चौरास्ता छोडेर जान्छन् कि मार्ग पहिचान गराउँछन् ? अब देउवामा यस्तै प्रश्न आउँछ र त्यसको उत्तर स्वयम् देउवाले दिनुपर्छ । यही देउवाको उत्तरले उनको भविष्य निर्धारण गर्छ कि देउवा कस्तो बन्ने ?
देउवामा अर्को सङ्कट पनि नजिकै देखिँदै छ, यो सङ्कटको सूत्राधार देउवा नभएर प्रचण्ड हुन् । राष्ट्रपतिबाट परिमार्जनको लागि पठाइएको नागरिकता विधेयक पुनः जस्ताको त्यस्तै पठाएपछि सिर्जित अवस्थाले आएको हो र यसरी पठाउनेमा प्रचण्डको विचार अभिव्यक्तिले काम गरेको छ । अहिले राष्ट्रपतिबाट राजीनामा दिनेसम्मको समाचार सामाजिक सञ्जालमा आएपछि देउवामा सङ्कट देखिन सक्छ ।
त्यसको प्रभाव अर्थात् नकारात्मक प्रभाव काङ्ग्रेसमा आउन सक्ने हो र यहाँनिर वामशक्ति अर्थात् गठबन्धनभित्रका वामशक्तिले आफ्नो राजनैतिक स्वार्थ पूरा गर्नेछन् र यो प्रकरणमा प्रचण्ड र माधव नेपाल अनि नेकपा (एमाले)को निहित स्वार्थ पूरा हुनेछ । यसमा उनीहरूको अप्रत्यक्ष मोर्चाजस्तो हुनसक्छ ।
अहिले देउवामा गठबन्धनभित्रका सहयात्री र प्रतिपक्षमा रहेको नेकपा (एमाले) दुवैको बन्धनभित्र पर्ने अवस्था आउन सक्ने भएकोले देउवाले सुझबुझ र चातुर्य देखाउनु पर्नेछ । यसको लागि उनले आफ्ना राजनीतिक गुरु बीपीलाई अन्तकरणबाटै सम्झेर मार्ग खोज्दै ‘देउवाले आफ्नो भर काङ्ग्रेसमा काङ्ग्रेसको भर देउवा’ मा देख्नुपर्छ । यो सोचले अगाडि बढ्ने हो भने उनले आफ्नो विगत र आगत दुवै सुधार्न सक्नेछन् ।