भोजपुर । भोजपुरका सामुदायिक विद्यालयहरू एक हप्ताका लागि बन्द भएका छन् । नेपाल सामुदायिक विद्यालय कर्मचारी परिषद्को आन्दोलनलाई समर्थन गर्दै आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द भएका हुुन् ।
परिषद्को भोजपुर जिल्ला समितिले पनि विद्यालय बन्द गर्न आग्रह गरेको छ । समितिले एक विज्ञप्ति जारी गर्दै भदौ १२ देखि १८ गतेसम्म जिल्लाका ३ सय ८४ सामुदायिक विद्यालय बन्द गरेको हो ।
समितिकी जिल्ला अध्यक्ष उषादेवी राई र सचिव विशान्त हलवाईले परिषद्को माग तत्काल सम्बोधन गर्न माग गरेका छन् । कर्मचारीहरूको जायज मागलाई अविलम्ब वार्ताका माध्यमबाट समाधान गरी विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्नुुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आन्दोलनलाई नेपाल शिक्षक महासङ्घ भोजपुुरले पनि समर्थन गरेको छ । महासङ्घका जिल्ला अध्यक्ष तीर्थकुमार राई र सचिव हरि प्रसाद गौतमले विज्ञप्ति जारी गरी आन्दोलनको समर्थन गरेका हुुन् । यता जिल्लाका सबै सामुुदायिक विद्यालयमा पठन–पाठन बन्द हुँदा विद्यार्थी भने मारमा परेका छन् । आन्दोलनका नाममा विद्यालय नै बन्द गराउनु दुःखद् भएको अभिभावकले प्रतिक्रिया दिएका छन् ।