संखुवासभा । जिल्ला सदरमुकाम खाँदबारीमा नेपाल र भारतका आदिवासी समुदायबीचको साँस्कृतिक विनिमय कार्यक्रम सम्पन्न भएको छ । ‘कार्वि कुर्फो आमाई’को पहल र मकालु साहित्यिक समाजको आयोजनामा भारत आसामका नागरिकहरु एकै ठाउँमा भएर साँस्कृतिक विनिमय गरेका छन् । एकआपसमा आफ्ना संस्कृतिक बस्तुहरु साटासाट गरेका हुन् । 

नेपाली भाषामा लेखिएको कथा र कविताको पुस्तक बिमोचन गर्न र साहित्य चर्चा तथा साँस्कृतिक बिनिमय कार्यक्रमका लागि आसामबाट ४३ जना साहित्यकार तथा संस्कृतिविद्हरु आएका थिए । जुन कार्यक्रमलाई नेपाल–भारत सद्भाव भ्रमण–२०२२ को नारा दिएका थिए ।

 आसामका बिष्णु निरौलाको कविता संकलन ‘हिमाल बोक्ने रहर’ र रण काफ्लेको नेपाली लघुकथा संग्रह ‘लीला’ बिमोचनसँगै कार्यक्रममा मायाको चिनोस्वरुप अल्लो कपडा, चैनपुरे करुवा, कठुवा जस्ता हातले बनाईएका बुनिएका स्थानीय सामाग्री तथा भेषभुषा समेत आदान–प्रदान गरिएको थियो । मकालु साहित्य समाजका अध्यक्ष तारा बहादुर बुढाथोकी, जिसस प्रमुख सुमन शाक्य, नगर प्रमुख महेश थपलिया लगायतलाई उनीहरुले विशेष सम्मान गरका थिए । 

कार्यक्रममा समन्वय समिति प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा, प्रहरी प्रमुख डिएसपी विरेन्द्र गोदार लगायत संस्कार संस्कृति बिद्हरु, जातिगत संगठनका प्रमुख्प्रतिनिधिहरु उपस्थित भएका थिए ।

कार्यक्रममा विभिन्न संस्कार संस्कृतिका नमुना पोषाक, झाँकीहरु र सोही अनुसारको उपहार समेत प्रदर्शन गर्ने, लिने दिने कार्य सम्पन्न भएको साहित्य समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीले बताए ।