निर्वाचन आयोगले मङ्सिर ४ गतेका लागि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति तोकेसँगै अहिले चुनावी चहलपहल सुरु भएको छ । चुनावमा लागि आयोगलाई अर्थ मन्त्रालयले पनि १९ अर्ब बजेट विनियोजन गर्ने भएको छ । चुनावका लागि पाँच दलीय गठबन्धन कायमै छ । एमालेलाई एक्ल्याउने रणनीतिमा लागेको पाँच दलीय गठबन्धन आ–आफ्नो सिटको दाबी गरिरहेका छन् । चुनावपूर्व नै गठबन्धन हुने संस्कारको विकास सायदै नेपालमै पहिलो होला । विश्व राजनीतिमा गठबन्धन हुने संस्कार चुनावपश्चात् मात्रै हुन्छ । गठबन्धन स्वस्थ छैन । सत्तामा पुग्ने भ¥याङ मात्रै बनाएका छन् । हिजो एमाले र माओवादीबीचको एकता पनि सत्तामा पुग्ने भ¥याङ नै थियो । आज काङ्ग्रेससहित पाँच दलीय गठबन्धन सत्तासँगै एमालेलाई खुम्च्याउने रणनीति अख्तियार गरेको छ । यसले पनि नेपाली राजनीति कति धुमिल छ भन्ने प्रष्ट पार्छ । एकले अर्को पार्टीलाई सत्तोसराप गर्ने प्रवृत्ति अहिले पनि अन्त्य भएको छैन । नेपाली राजनीतिमा स्थापना कालदेखि नै एक–अर्काप्रति दोषारोपण गर्ने प्रवृत्ति कायम छ । यो कहिलेसम्म रहने हो त्यो हेर्न बाँकी छ ।
विश्वको राजनीति नयाँ मोडमा पुगिसकेको छ । त्यहाँ आर्थिक समृद्धि र कसरी शक्तिशाली बन्ने भन्ने होडमा लागिसकेका छन् । तर, अहिले पनि नेपालको राजनीति चाहिँ एकले अर्कोलाई कसरी पछार्ने र आफू ठूलो दल बन्ने भन्ने होड नै छ । एउटा तहका नेताहरू अहिले पनि चुनावी मैदानमा उत्रिँदै छन् । नेपालीहरू परिवर्तन त चाहन्छन् तर, चुनावी मैदानमा उत्रिएका पुराना नेतालाई नै विश्वास गरेर मत हालिरहेका छन् । परिवर्तनका लागि नारा त अलाप्छन् तर, जब मत हाल्ने अवस्था सिर्जना हुन्छ, त्योबेलामा आफूलाई परिवर्तन गर्न सक्दैनन् । यो चुनावमा पक्कै पनि मतदाताहरू सचेत रहून् । किनकि अब पुरातन शक्तिले देश निर्माण गर्न सक्दैन भन्ने मान्यता स्थापित भइसकेको छ । अब नयाँ जोस र जाँगर भएका युवाहरू नेपाली राजनीतिमा आउन आवश्यक छ । राजनीतिलाई व्यवसाय ठान्ने प्रवृत्तिले देश कङ्गाल बनिसकेको छ । आज देशमा सबैभन्दा बढी भ्रष्टाचार राजनीति कारणले नै भइरहेको छ । देशमा पुल, सडक तथा पूर्वाधार समयमा निर्माण हुँदैन । त्यसको कारक तŒवको खोजी गर्दै जाने हो भने राजनीति नै जोडिएको हुन्छ । अब परिवर्तन आफैबाट सुरुवात गर्नुपर्छ । हिजो पुरातन शक्तिहरूले गरेका वाचा तथा प्रतिबद्धतालाई हामीले प्रश्न गर्न सक्यौँ । पक्कै पनि सकेनौँ । त्यसकारण अब प्रश्न गर्ने बेला आएको छ । किनकि नेतालाई ठेगान लगाउने भनेको आवधिक निर्वाचन नै हो ।
राजनीति देशको मूल नीति हो । राजनीतिले नै देशलाई हाँकिरहेको हुन्छ । राजनीतिबाटै सबैकुराहरू प्रभावित भएका हुन्छन् । त्यसकारण राजनीतिमा आएका नेताहरूको प्रवृत्तिलाई नसुधार्ने हो भने फेरि पनि हामी १० वर्षपछि पर्नेछौँ । चुनावी चहलपहल जसरी भइरहेको छ, यसबारेमा जनता पनि सजग र सचेत हुनै पर्छ । यदि जनता सचेत नहुने हो भने फेरि पनि हामीलाई यही नेताहरूले दास बनाउनेछन् । हामी दासत्व स्वीकार गर्ने कि नगर्ने त्यसको लेखाजोखा पनि आफैले गर्ने हो । हरेक परिवर्तनको सुरुवात आफैबाट गर्न सिक्नुपर्छ । राम्रा नेता, विकासवादी नेताहरू तथा युवा नेता जसले देशका लागि केही गर्छौं भन्ने अठोट गरिरहेका छन् । उनीहरूलाई पक्कै पनि विश्वास गर्ने बेला आएको छ । चुनावमा आश्वासन होइन । हामीलाई प्रतिबद्धता चाहिएको छ । यस्तो प्रतिबद्धता कि जुन उधारोमा होइन । हामीले धेरैपटक पुरातन शक्तिलाई विश्वास ग¥यौं तर, यिनीहरूबाट कहिल्यै नेपाल बन्न सकेन । त्यसलाई मनन् गर्दै अबको चुनावमा मतदाताले विचार पु¥याएर मतदान गर्नुपर्छ । ताकि भविष्यमा फेरि एकपटक पछुताउनु नपरोस् ।