विजयपुर । सव–डिभिजन वन कार्यालय पाँचकन्याले बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुने क्षेत्रमा फोहोर नफाल्न धरान उपमहानगपालिकालाई पत्राचार गरेको छ ।

उपमहानगरले भने गैरजिम्मेवार जवाफ दिएको छ । सोमबार वन कार्यालयले उपमहानगरबाट निस्केका प्लाष्टिकजन्य तथा अन्य नकुहिने फोहोरमैला बाँझगरा सामुदायिक वनक्षेत्रभित्र सेउती खोला किनारमा फाल्ने गरेको भन्दै नफाल्न पत्राचार गरेको हो । सव–डिभिजन कार्यालय पाँचकन्याका प्रमुख रेञ्जर ईश्वरीप्रसाद बास्तोलाले डिभिजन वन कार्यालय सुनसरीले उपमहानगरबाट निस्केका नकुहिने फोहोर फाल्ने गरेकाले फोहोर नफाल्ने व्यवस्था मिलाउन पत्राचार गरेपछि आफूले नगरलाई पत्राचार गरेको बताए ।

डिभिजन वन कार्यालय सुनसरीका डिभिजन अधिकृत भीमबहादुर कालिकोटेद्वारा हस्ताक्षरित पत्रमा धरान उपमहानगरपालिकाबाट निस्किएका प्लाष्टिकजन्य वस्तु तथा नकुहिने फोहोर बाँझगरा सामुदायिक वन क्षेत्रभित्र सेउती खोला किनारमा फाल्ने गरेको बुझिएकाले उपमहानगरसँग समन्वय गरी सहरी क्षेत्रबाट निस्केका फोहोरमैला वन क्षेत्रमा नफाल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।

आइतबार बाँझगरा सामुदायिक वन उपभोक्ता समिति धरान–१५ लाई बोधार्थ दिइएको पत्रमा ‘उक्त उपभोक्ता समूहको वनक्षेत्रभित्र उल्लेखित फोहोरमैला फाल्ने कार्य गरेको भए तुरुन्त रोकी सो को जानकारी गराउन’ डिभिजन कार्यालय सुनसरीले निर्देशन गरेको छ । सव–डिभिजन वन कार्यालय पाँचकन्याले धरान उपमहानगरलाई बाँझगरा सामुदायिक वन क्षेत्रमा फोहोरमैला नफाल्न पत्राचार गरेको हो ।

‘पालिकाबाट सहरमा उत्पादित फोहोरमैला कहिलेदेखि कुन वनक्षेत्रमा, कुन आधार प्रमाणबाट फाल्ने कार्य गरेको हो ? फाल्ने गरेको भए त्यस्ता फोहोरमैला नफाली वन जङ्गलको वातावरण स्वच्छ राख्न अनुरोध छ’–पत्रमा भनिएको छ । सव–डिभिजन कार्यालय पाँचकन्याका रेञ्जर ईश्वरीप्रसाद बास्तोलाले अब पनि उपमहानगरले व्यवस्थापन नगरी फोहोर पठाएमा अवरोध गर्ने बताए । उनले भने, ‘उपभोक्ता समितिलाई पनि भनेको छु । अब जताबाट ल्याएको उत्तै पठाउँछौँ, वन क्षेत्रमा फाल्न दिँदैनौँ । वनको संरक्षण गर्नु सबैको कर्तव्य हो ।’ उनले विगतमा पनि धेरै पटक व्यवस्थापन गर्न पहल गरे पनि फालिरहेको बताए । उनले भने, ‘फोहोर फाल्दा धेरै वनस्पतिहरू मरिरहेका छन् । सिकारीलाई पनि सहज भएको छ ।’

वन क्षेत्रमा फोहोरमैला फाल्नका लागि उपमहानगरले भोगाधिकार ल्याएर आउनुपर्ने उनले बताए । उनले भने, ‘उपभोक्ता समूहलाई पनि सबै अधिकार छ । बाँझगरा सावउ र हामी पनि मिलेर रोक्छौँ ।’ यता बाँझगरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजन मोक्तानले विगतदेखि नै उपमहानगरपालिकालाई व्यवस्थापन गर्न पहल गरे पनि हालसम्म नगरेको बताए ।

उनले १ हप्तासम्म व्यवस्थापन नगरे फोहोर फाल्न नदिने उनले बताए । यता धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई सामुदायिक वन क्षेत्रमा फोहोर फालेर ल्याण्डफिल्ड साइड दाबी गर्दै सामाजिक सञ्जालमा लेख्ने गरेका छन् । उनलाई फोहोर व्यवस्थापनका विषयमा पटक–पटक फोन गरे पनि उठाएनन् ।

उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले भने गैरजिम्मेवार जवाफ दिएका छन् । उनले भने, ‘धरान भिरालो छ, फोहोर आफै बगेर जान्छ ।’ उनले विगतमा जुन ढङ्गले व्यवस्थापन हुँदै थियो, त्यसरी नै व्यवस्थापन हुने बताए । उनले निजी क्षेत्रलाई व्यवस्थापन गर्न दिएको पनि बताए ।