धरानमा फोहोर व्यवस्थापनको समस्या पुरानै हो । धरान उपमहानगरपालिकाले नगरका घर–घरबाट सङ्कलन गरेको फोहोर कोसी राजमार्गछेउको वन क्षेत्रमा फाल्ने गरेको छ । उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँ सेउती खोलाको किनारमा पर्छ । त्यहाँ फालिएको फोहोर खोलाले बगाएर सुनसरीका दक्षिणी भेगका बस्तीसम्म पु¥याउँछ । त्यसरी बग्दै गएको फोहोर किसानका खेतबारीमा पुग्छ र त्यसबाट उब्जनीमा मात्र असर परेको छैन, फोहोरसँग बगेर गएका सिसा, धारिला वस्तुदेखि घातक सिरिञ्जसम्मले स्थानीयलाई चोट पटक लाग्ने गरेको छ । यो त बगेर जाने फोहोरको कुरा भयो । वन क्षेत्रमा थुपारिएको फोहोरबाट तामाका तार र अन्य बिक्री हुने सामान निकाल्न आगो लगाइने गरिन्छ । धरान उपमहानगरपालिकाबाट फोहोर खटिएका कर्मचारीहरूले नै फोहोरमा आगो लगाउने गरेको भेटिन्छ । कर्मचारीले नै आगो लगाएपछि फोहोरबाट निस्किएको धुवाँ वन हुँदै राजमार्गसम्म फैलिन्छ । त्यस्तो धुवाँका कारण दैनिक रूपमा कोसी राजमार्ग हुँदै आवत–जावत गर्ने हजारौं मान्छेको स्वास्थ्यमा जोखिम उत्पन्न भएको छ । फोहोर फालिएको स्थानबाट दक्षिणी भेगका गाउँहरूमा घरघरै दमका बिरामीहरू भेटिन्छन् । उनीहरूले फोहोरकै कारण आफूहरू रोगी भएको बताउँदै आएका छन् । तर, धरान उपमहानगरपालिकाले यसलाई गम्भीरतापूर्वक लिएको पाइँंदैन ।
फोहोर व्यवस्थापनका विषयमा पटक–पटक कुरा उठ्दै आएको छ । निजी कम्पनीले उपमहानगरपालिकासँग सम्झौता गरेर धरानको पानमारामा फोहोर व्यवस्थापन केन्द्र खोलेको छ । तर, अहिले पनि समस्या समाधान हुन सकेको छैन । उपमहानगरपालिकाले फोहोर फाल्दै आएको स्थल सामुदायिक वनको क्षेत्र हो । सामुदायिक वन उपभोक्ता समूहले वनस्पतिसँगै त्यहाँको जैविक विविधता, कीटपतङ्ग, जीव जनावारको संरक्षण गर्दै आएको छ तर, उपमहानगरपालिकाले त्यही ठाउँमा फोहोर फालेर आगो लगाउँदा मौरी, पुतलीदेखि विभिन्न जनावर मासिएका छन् । यसरी मानवदेखि जीव जनावर र वनस्पतिलाई समेत नकारात्मक असर गर्नेगरी जथाभावी फोहोर फाल्ने कार्य उपमहानगरपालिकाले गर्नु दुःखद् हो । नागरिकको स्वास्थ्यदेखि वातावरण संरक्षणसम्मको जिम्मेवारी पाएको स्थानीय तह गैरजिम्मेवार बन्दा यो समस्याको समाधान कहिले हुन्छ भन्ने टुङ्गो छैन ।
ऐन कानूनले यसरी फोहोर फाल्नुलाई गैरकानूनी मान्छ । धरान उपमहानगरपालिकाले फालेको फोहोरका विषयमा स्थानीय सरकार सञ्चालन ऐन, वन ऐन, वातावरण संरक्षण ऐन, फोहोर मैला व्यवस्थापन ऐनलगायतका दर्जनौं ऐन कानून आकर्षित हुन्छन् । ती ऐनहरूले यसरी फोहोर फाल्नुलाई गैरकानूनी मान्नुका साथै त्यसो गर्नेलाई कानूनी कारबाहीको समेत व्यवस्था गरेका छन् तर, उपमहानगरपालिकाले यस्ता ऐन, कानूनको समेत धज्जी उडाएको छ । धरानका नगर प्रमुख हर्कराज राईले काठमाडौं पुगेर त्यहाँको फोहोर व्यवस्थापन हुन नसकेको भन्दै सामाजिक सञ्जालमा लेखेपछि धरानको फोहोरको विषय फेरि चर्चामा आयो । उनले काठमाडौंलाई फोहोर सहर भनेर गाली गरिरहँदा आफ्नै नेतृत्वमा रहेको धरानको फोहोर व्यवस्थापन बारे ध्यान दिएनन् । उपमहानगरपालिकाको नेतृत्व फोहोर व्यवस्थापनका विषयमा गम्भीर देखिँंदैन । उपप्रमुख अइन्द्रविक्रम बेघाले पनि धरानमा फोहोर व्यवस्थापनको समस्या नरहेको अभिव्यक्ति दिएका छन् । यसबाट उनीहरू नागरिकको स्वास्थ्यप्रति कतिको चिन्तित र जानकार छन् भन्ने प्रष्ट हुन्छ । वन क्षेत्रमा फोहोर नफाल्न वन कार्यालयले पटक–पटक पत्राचार गरे पनि उपमहानगरपालिकाले अटेर गरेर वनमै फोहोर फालिरहेको छ । पछिल्लो समय पुनः वन कार्यालयले फोहोरको उचित व्यवस्थापन गर्न र वन क्षेत्रमा नफाल्न आग्रह गर्दै पत्राचार गरेको छ । यो विषयमा उपमहानगरपालिका नेतृत्व गम्भीर, जिम्मेवार बन्नु आवश्यक छ । अन्यथा नगर प्रमुख राईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै लेखेका थिए, ‘एउटा फोहोरको व्यवस्थापनसमेत गर्न नसक्नेले के ठूलो गफ गर्नु’ । यो शब्द अन्ततः उनैतिर प्रश्न बनेर फर्किने निश्चित छ । अतः धरानको फोहोर व्यवस्थापनका विषयमा उपमहानगरपालिका नेतृत्वले बेवास्ता नगरोस् ।