विराटनगर । विराटनगर भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा भन्सारबाट न्यून मूल्याङ्कन कायम गरी सामान भित्रिने गरेको छ ।
एजेन्टले सामान ढुवानीकर्तासँग ‘सेटिङ’ मिलाएर भन्सारका कर्मचारीले सामानको मूल्याङ्कन कम गरिदिने तथा कम परिणाम देखाएर बढी सामान ढुवानीको व्यवस्था मिलाइदिने गरेको पाइएको हो । भन्सारबाट जाँचपास भएर निस्किएका सामान लोड गरिएका ढुवानीका साधनलाई नियन्त्रणमा लिएर प्रहरीले बुझाएपछि राजस्वले अनुसन्धान अघि बढाउँदा कर्मचारीको मिलेमतोमा भन्सार छली भएको पुष्टि हुने गरेको छ । मङ्गलबार राति प्रहरीले कम मूल्याङ्कन गरी भन्सार छली गरेको आशङ्कामा मोटर पाटर््स बोकेको ट्याक्टर नियन्त्रणमा लिएको छ । विराटनगर–१२ रोडशेष चोकबाट मोटर पार्ट्स बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
भन्सार कार्यालयबाट जाँच पास भएर निस्किएको भारतीय नम्बर प्लेट बिआर ७ के १७२४ नं. को ट्याक्टर विभिन्न किसिमका मोटर पाटर्स र ट्याक्टर नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर र सामानको मूल्य ३७ लाख बराबर रहेको छ । ३३ लाखको सामान र ४ लाखको ट्याक्टर मूल्याङ्कन गरी प्रहरीले राजस्व कार्यालय पठाएको छ । प्रहरीले ट्याक्टर चालक भारतको अरअरिया बस्ने २४ वर्षीय तलुवा मुर्मीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद गरेको ट्याक्टर, सामान र चालकलाई थप अनुसन्धानको लागि राजस्व कार्यालय इटहरी पठाएको छ । नियन्त्रणमा लिएको सामान ९ वटा फर्मले आयात गरेको देखिएको छ ।
यसअघि भन्सारबाटै जाँचपास भएर निस्किएको आठ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको थियो । सुपारीको जाँचपासलाई लिएर उच्च अदालत विराटनगरले प्रश्न उठाएको छ । यद्यपि राजस्व अनुसन्धान कार्यालयले अहिलेसम्म सुपारीको अनुसन्धान अघि बढाएको छैन । यसअघि भन्सार कार्यालयदेखि निस्किएको सामानमा न्यून मूल्याङ्कन र भेइकल एन्ड कन्साइन्मेट ट्रयाकिङ सिस्टम (भीसीटीएस) पनि नगरेको भेटिएपछि विराटनगरको शिवम् मोटर्स पाटर्स र मारुती हार्डवेयरलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले कारबाही गरेको थियो ।
भिसिटिएस नगरी सामान आयात गर्ने फर्मलाई ३ लाख र न्यून मूल्याङ्कन गरी भन्सार छली गरेको कसुरमा ३ लाख १८ हजार रुपैयाँ जरिबाना गरेको थियो । जसमध्ये न्यून मूल्याङ्कन कायम गरी सामान आयात गर्ने मारुती हार्डवेयरलाई १ लाख ८० हजार र शिवम् मोटर्स पार्ट्सलाई १ लाख ३८ हजार रुपैयाँ जरिबाना गरिएको उनले बताए ।
गत असोज १३ गते साँझ भीसीटीएसमा गाडी नम्बर उल्लेख नगरी भन्सार जाँचपास गरेर यार्डबाट निस्किएको ३४ लाख मूल्यको कपडा, मोटर्सको पार्टपुर्जा र हार्डवेयरको सामान लोड गरिएको बीआर ३८ डी ३२४३ नम्बरको ट्याक्टरलाई सशस्त्र प्रहरीको रानी सीमा आउट पोष्ट (बिओपी) ले नियन्त्रणमा लिएको थियो । त्यसबेला ट्याक्टर चालक पङ्कज यादव पनि पक्राउ परेका थिए ।
एक साताभन्दा बढी लगाएर राजस्वले गरेको अनुसन्धानपछि भन्सार एजेन्ट गुलाफ साह र उनका प्रतिनिधि मन्टु साहले भीसीटीएस र आयात गरेको सामानको न्यून मूल्याङ्कन गरेर ल्याएको खुलेको थियो । केही भन्सार एजेन्ट भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर न्यून मूल्याङ्कन कायम गरी राजस्व छली गर्न माहिर छन् ।
भन्सारमा आएको मालवस्तुको जाँचपास र मूल्याङ्कन भन्सार अधिकृतले गर्दछन् । विराटनगर भन्सारमा आठ जना भन्सार अधिकृत रहेका छन् । भीसीटीएस नम्बर उल्लेख नगरी लाखौं मूल्यको सामान आयात गर्दा कम मूल्याङ्कन गरिने र भन्सार कर्मचारीसँग मिलेर राजस्व छली हुने गरेको राजस्व अनुसन्धानका अधिकारीहरूको भनाइ छ । भीसीटीएस प्रणालीअन्तर्गत इन्टरनेटबाटै व्यावसायिक फर्मले सामान ढुवानी कसरी गर्छन् भन्ने जाँच गरिन्छ । यो प्रणालीमा सामान ढुवानी हुनुभन्दा अघि के, कहाँ, कति, ढुवानीलगायत सबै विवरण प्रविष्ट गर्नुपर्ने नियम छ । ढुवानीको सुरुको बिन्दु र अन्तिम बिन्दुसम्म विभागले ट्रयाकिङ गरिरहेको हुन्छ ।
यसअघि गत साउन पहिलो साता पनि विराटनगर भन्सार कार्यालयका कर्मचारी र एजेन्टको मिलेमतोमा १८ लाख रुपैयाँ राजस्व छली गरेको पुष्टि भएको थियो । राजस्व अनुसन्धान कार्यालय इटहरीले कपडा र विभिन्न सामान बोकेका दुई ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान गर्दा १८ लाख राजस्व ठगी गरेको पुष्टि भएको थियो ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी राजेन्द्र ढुङ्गानाले नियमअनुसार जाँचपास भएर गएको सामानमा कुनै पनि प्रकारको भन्सार छली नभएको दाबी गरे । ‘प्रहरीको दुःख दिने नियत मात्र हो’ उनले भने, ‘नियमसङ्गत रूपमा भन्सार दाखिला गरी सामानहरूको जाँचपास हुने गरेको छ ।’ जाँचपासमा कुनै कमजोरी नभएको उनको भनाइ छ ।